• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

सवारी दुर्घटनाको कालो तथ्यांक, ५ वर्षमा १२ हजारको मृत्यु



काठमाडौं । सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको हो । आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको र सो संख्या ५ वर्षमा करिब १२ हजार पुगेको पाइएको हो ।

जसअनुसार आर्थिक वर्ष २०७१/७२ मा २ हजार ४ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । यस्तै २०७२/७३ मा २ हजार ६ जनाले ज्यान गुमाएका छन् भने २०७३/७४ मा २ हजार ३८४ जनाको सवारी दुर्घटनाका कारण ज्यान गएको छ । यसैगरी, आर्थिक वर्ष २०७४/७५ मा २ हजार ५४१ जनाले सवारी दुर्घटनाकै कारण ज्यान गुमाएका छन् भने गत आर्थिक वर्षमा मात्रै २ हजार ७८९ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाउनुपरेको छ ।

५ वर्षको यस अवधिमा २१ हजार ५ जना गम्भीर घाइते भएका छन् भने ४३ हजार २३७ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरीले तयार गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भएका १३ हजार ३६६ सवारी दुर्घटनामध्ये चालकको लापर्बाहीबाट मात्रै ९ हजार ९१९ दुर्घटना भएको छ । यस्तै, तीव्र गतिका कारण गत वर्ष मात्रै २ हजार १७१ दुर्घटना भएका छन् भने मादक पदार्थ सेवनबाट ४१६ दुर्घटना भएका छन् । गत आइतबार सिन्धुपाल्चोकको सुकुटेमा १९ जनाको ज्यान जानेगरी भएको दुर्घटनामा समेत चालकको लापर्बाही नै पहिलो कारण देखिएको छ ।

सो दुर्घटनामा क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाएका कारण भएको प्रहरीले भनेको छ । यस्तै, १४ कात्तिकमा सिन्धुपाल्चोकबाट साँखु हुँदै काठमाडौं आउँदै गरेको बस लम्सेफेदीमा दुर्घटना हुँदा भएको दुर्घटनामा समेत चालकको नै लापर्बाही रहेको प्रहरी दाबी छ । सो दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै, २४ असोजमा सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनासमेत क्षमताभन्दा बढी यात्रु भएका कारण भएको प्रहरीले बताउँदै आएको छ । सो दुर्घटनामा १४ यात्रुको ज्यान गएको थियो ।

प्रहरी तथ्यांकले पुराना सवारीका कारणसमेत धेरै जसो दुर्घटना हुने गरेको देखाउँछ । गत आर्थिक वर्षमा सवारीको यान्त्रिक गडबडीका कारण २०६ वटा दुर्घटना भएको देखिन्छ । यसैगरी, गत आर्थिक वर्षमा नै ओभरटेकका कारण २६३ दुर्घटना भएको छ भने यात्रुको गल्तीले १९८ दुर्घटना भएको छ । यस्तै, कठिन भौगोलिक अवस्था, सवारी चालक अनुमतीपत्र वितरणमा अनियमितता, सडकको जीर्ण अवस्था, सडक र सवारीको क्षमता भन्दा बढी यात्रुलगायतका कारणसमेत सवारी दुर्घटना हुने गरेको पाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले अधिकांश सवारी दुर्घटनामा पहिलो कारण नै चालकको लापर्बाही देखिने गरेको बताए । ‘विगत केही वर्षका सवारी दुर्घटनाले बर्सेनि दुर्घटनाको रेट बढेको देखाउँछ । ती अधिकांश दुर्घटनामा पहिलो कारण चालकको लापर्बाही देखिएका छन्,’ ट्राफिक महाशाखा प्रमुख ढकालले भने ।

उनले चालकले नै पहिले दुर्घटना हुन नदिन जिम्मेवार हुनुपर्ने र यात्रुसमेत हतारिएर ओभरलोड भएका सवारीमा चढ्न नहुने बताए । ढकालले सडक र सवारीको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दीसमेत थप गरेर दुर्घटना न्यूनीकरण गर्न सकिनेमा जोड दिए । स्थानीय तहले समेत सडक र सवारीलाई निगरानी गर्दै दुर्घटना न्यूनीकरणका लागि सहयोगी भूमिका निर्वाह गर्नुपर्ने तथा सबै सडकमा टाइम कार्डको व्यवस्था गरिनुपर्नेमा समेत जोड दिए । राजधानी दैनिकबाट