६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो



अ+ अ-

काठमाडौं । आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या घट्दै र सहरी क्षेत्रको जनसङ्ख्या बढ्दै जाँदा पहाड तथा हिमाली क्षेत्रमा पूर्वाधार निर्माण र सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो अवस्थामा पुगेको छ ।

उच्च जनघनत्व रहेको तराई-मधेस क्षेत्रमा ठूला पूर्वाधार आयोजनामा थप लगानी गर्नुपर्ने आवश्यकता सर्वेक्षणले औँल्याएको हो । तीव्र सहरीकरण, सहर केन्द्रित आर्थिक गतिविधिको विस्तार तथा जीवनस्तरमा आएको सुधारसँगै योजनाबद्ध सहरी पूर्वाधार, व्यवस्थित बस्ती विकास, गुणस्तरीय आवास तथा भरपर्दो ऊर्जा आपूर्तिको आवश्यकता बढिरहेको सर्वेक्षणमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्षमा सडक, ढल, खानेपानी, फोहरमैला व्यवस्थापन, हरित सार्वजनिकस्थल तथा एकीकृत बस्ती विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै सहरी पूर्वाधार विस्तारमा जोड दिएको छ । साथै विपद् जोखिम न्यूनीकरण, भूकम्प प्रतिरोधी संरचना निर्माण तथा जलवायु अनुकूल सहरी योजना कार्यान्वयनमार्फत दिगो र समावेशी सहर निर्माणतर्फ सरकार केन्द्रित रहेको छ ।

गाउँबाट सहरतर्फ बसाइँसराइ बढ्दै जाँदा जनसङ्ख्याको भौगोलिक संरचनामा परिवर्तन देखिएको छ । सर्वेक्षण अनुसार मुलुकको करिब १७ प्रतिशत भू-भाग ओगटेको तराई-मधेस क्षेत्रमा ५३ दशमलव सात प्रतिशत जनसङ्ख्या बसोबास गर्दै आएका छन् भने पहाडी तथा हिमाली क्षेत्रमा ४६ दशमलव तीन प्रतिशत जनसङ्ख्या रहेको छ ।

ऊर्जा क्षेत्रतर्फ नेपाल विद्युत्मा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएको छ । विद्युत् उत्पादनमा निरन्तर वृद्धि भई २०८२ फागुनसम्म कूल जडित क्षमता चार हजार १०५ मेगावाट पुगेको छ । राष्ट्रिय प्रसारण लाइन (६६ केभी र सोभन्दा माथि) को लम्बाइ सात हजार २८० सर्किट किलोमिटर पुगेको छ । यसै अवधिसम्म मुलुकको ९९ दशमलव एक प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच विस्तार भएको उल्लेख सर्वेक्षणमा उल्लेख गरिएको छ ।