११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्ध महोत्सव २०८३ जेठ २३ मा आयोजना हुने, संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड



अ+ अ-

काठमाडौं । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित “बौद्ध महोत्सव २०८३ – हाम्रो संस्कृति, हाम्रो उत्सव” आयोजना हुने भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको आयोजनामा हुन लागेको महोत्सवले बौद्ध क्षेत्रको मौलिक पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता र सामुदायिक एकतालाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।

आयोजकका अनुसार महोत्सव आगामी जेठ २३ गते महेन्द्र बौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्रमा आयोजना गरिनेछ। कार्यक्रममा स्थानीयवासी, युवा, व्यवसायी, परिवार, कलाकार, पर्यटक तथा संस्कृति प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

महोत्सवमा सांस्कृतिक नृत्य, लाखे बाजा, मौलिक झाँक्री प्रस्तुति, स्थानीय कला तथा हस्तकला प्रदर्शनी, खाद्य स्टल, स्थानीय उत्पादन तथा विविध सांगीतिक कार्यक्रम समावेश गरिने भएको छ। साथै स्थानीय कलाकार तथा सांस्कृतिक समूहहरूको विशेष प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।

वडा अध्यक्ष भुवन लामा ले बौद्ध महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई बौद्ध क्षेत्रको संस्कृति, पर्यटन, स्थानीय व्यवसाय र समुदायलाई जोड्ने साझा अभियान भएको बताउनुभयो। उहाँले बौद्ध धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यसको पहिचान संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको उल्लेख गर्नुभयो।

महोत्सवलाई सम्पूर्ण बौद्ध क्षेत्रको साझा उत्सवका रूपमा विकास गर्न घर, पसल, टोल तथा समुदायस्तरसम्म सूचना, ब्यानर तथा प्रचार सामग्रीमार्फत सहभागिताको आह्वान गरिने जनाइएको छ। आयोजकले सहभागीहरूलाई मौलिक संस्कृति झल्किने पोशाकमा उपस्थित भई र्याली, बाजागाजा तथा सांस्कृतिक वातावरणसहित कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

कार्यक्रममा सहभागीहरूको सहज आवागमनलाई ध्यानमा राख्दै पार्किङ व्यवस्थापन तथा सुरक्षा समन्वयका लागि सम्बन्धित निकाय, स्वयंसेवक र स्थानीय टोली परिचालन गरिने तयारी गरिएको छ।

महोत्सवमा देश–विदेशबाट आउने पर्यटकलाई समेत विशेष स्वागत गरिने जनाइएको छ। आयोजकका अनुसार विदेशी पर्यटकहरूले यस अवसरमा नेपाली संस्कृति, मौलिक बाजा, नृत्य, स्थानीय स्वाद र सामुदायिक उत्सव प्रत्यक्ष अनुभव गर्न सक्नेछन्, जसले बौद्ध क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

आयोजकले स्थानीयवासी, युवा, बालबालिका, व्यवसायी, कलाकार, पर्यटक तथा सम्पूर्ण संस्कृति प्रेमीहरूलाई “हाम्रो बौद्ध, हाम्रो संस्कृति, हाम्रो उत्सव” सफल बनाउन सहभागिताका लागि आग्रह गरेको छ।