६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

साल्ट ट्रेडिङसँग ३९ हजार मेट्रिक टन मल मौज्दात, आपूर्ति सहज बनाउन थप खरिद प्रक्रिया अघि बढाइँदै

साल्ट ट्रेडिङसँग ३९ हजार मेट्रिक टन मल मौज्दात, आपूर्ति सहज बनाउन थप खरिद प्रक्रिया अघि बढाइँदै
अ+ अ-

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले हाल कम्पनीसँग करिब ३९ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिनुभएको छ ।

बुधवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले चालु आर्थिक वर्षमा अन्तर्राष्ट्रिय बजारमा देखिएको संकट, बजेट अभाव र बन्दरगाह क्षमताको सीमितताका कारण अपेक्षाअनुसार मल आयात गर्न कठिनाइ भएको बताउनुभयो ।

उहाँका अनुसार साल्ट ट्रेडिङले चालु आर्थिक वर्षमा हालसम्म करिब १ लाख २६ हजार मेट्रिक टन मल बिक्री गरिसकेको छ। मौज्दातमा रहेको ३९ हजार मेट्रिक टन मलले तत्कालीन माग केही हदसम्म पूरा गर्न सहयोग गर्ने र आगामी दिनमा आपूर्ति निरन्तर राख्ने तयारी भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

राजभण्डारीले मल खरिद प्रक्रिया बजेट विनियोजन प्रणालीका कारण चुनौतीपूर्ण बनेको उल्लेख गर्दै सरकारले रकम मात्र तोक्ने तर आवश्यक परिमाण (क्वान्टिटी) स्पष्ट नतोकिने समस्या रहेको बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार एउटै बजेटले आउने मलको परिमाण फरक पर्ने भएकाले व्यवस्थापनमा जटिलता देखिने गरेको छ ।

उहाँले सरकारले वार्षिक ५ देखि ६ लाख मेट्रिक टन मल आपूर्तिको लक्ष्यअनुसार परिमाण नै निर्धारण गरी बजेट व्यवस्था गरे आपूर्ति प्रणाली अझ सहज हुने सुझाव दिनुभयो ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि मन्त्रालयको निर्देशनअनुसार करिब ९५ हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । जसअन्तर्गत ३० हजार टन डीएपीको टेन्डर सम्पन्न भई सम्झौता भइसकेको छ भने ३० हजार टन युरियाको टेन्डर प्रक्रिया अघि बढाइएको छ ।

त्यस्तै थप ३० हजार टन मलका लागि प्राविधिक प्रस्ताव खोलिसकिएको र केही दिनभित्र मूल्य प्रस्ताव खोलिने तयारी रहेको उहाँले बताउनुभयो । पोटास (एमओपी) तर्फ ५ हजार टनको टेन्डर प्रक्रिया पूरा भइसकेको छ, जसअन्तर्गत २ हजार ५ सय टन नेपाल आइसकेको र बाँकी २ हजार ५ सय टन ढुवानी प्रक्रियामा रहेको जानकारी दिइएको छ ।

उहाँका अनुसार आगामी असार मसान्तभित्र थप ३० हजार टन युरिया नेपाल आइपुग्ने आपूर्तिकर्ताबाट मौखिक आश्वासन प्राप्त भएको छ । सो मल समयमै आइपुगे हालको मौज्दातसँगै करिब ७० हजार मेट्रिक टन मल बजारमा आपूर्ति गर्न सकिने अवस्था रहने उहाँको भनाइ छ ।

बन्दरगाह क्षमता पनि मल आपूर्तिको प्रमुख चुनौती रहेको उहाँले उल्लेख गर्नुभयो । कोलकाता बन्दरगाहले नेपालले चाहेको ६ देखि ८ लाख टन मल आपूर्ति धान्न नसक्ने अवस्था रहेको उहाँको भनाइ छ ।

वैकल्पिक बन्दरगाह प्रयोगका लागि भारत सरकारसँग ठोस सहमति हुन नसकेको र विशाखापट्टनम (भाइजाग) बन्दरगाह प्रयोग गर्न समेत भारतीय कम्पनीमार्फत मात्र सम्भव हुने तथा पुनः निर्यात अनुमति आवश्यक पर्ने जटिलता रहेको उहाँले बताउनुभयो ।

उहाँले समग्रमा मल आपूर्ति प्रणाली पूर्ण रूपमा सहज नभए पनि क्रमशः सुधार भइरहेको र किसानले मागअनुसार पूर्ण मात्रामा नभए पनि नियमित आपूर्ति भइरहेको दाबी गर्नुभयो ।