पोखरा । पर्यटकीय राजधानी पोखराको सराङकोटबाट देखिने मनमोहक सूर्योदयले पर्यटकहरूको आकर्षण थप बढाएको छ।
बिहानको समयमा हिमालको काखबाट उदाउँदै गरेको सूर्यको सुनौलो किरणले पोखरा उपत्यकालाई झनै रमणीय बनाएको दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लेखनीय भीड लाग्न थालेको छ। विशेषगरी सूर्योदय अवलोकनका लागि प्रसिद्ध सराङकोटमा बिहानैदेखि पर्यटकहरूको उपस्थिति बाक्लिएको देखिन्छ।
यसैबीच भारतका विभिन्न राज्यहरूमा अत्यधिक गर्मी बढ्दै गएपछि नेपालका चिसो र प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रहरू भारतीय पर्यटकहरूको रोजाइमा पर्न थालेका छन्। त्यसको प्रत्यक्ष प्रभाव पोखरामा देखिन थालेको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनहरूमा होटल, रेस्टुरेन्ट, पर्यटन व्यवसाय तथा यातायात क्षेत्रमा भारतीय पर्यटकहरूको संख्या बढ्दै गएको छ।

होटल अन्नपूर्ण भ्यू, सराङकोटका अप्रेशन म्यानेजर मनमोहन रिमालले यति बेला सराङकोटका पर्यटकहरुको राम्रो उपस्थिती रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो “सूर्योदयसंगै अन्य साहसिक पर्यटनका क्षेत्रहरु प्याराग्लाईडिङ ,जिपलाईन लगायत खेलको लागि पनि सराङकोट पहिलो रोजाईमा पर्ने गरेको छ ।” पोखरा सहरको गर्मी छल्न पनि धेरै आन्तरिक तथा बाह्य पर्यटक सराङकोट आउने गरेको उहाँले जानकारी दिनुभयो ।
रिमालले भन्नुभयो ‘होटलहरूको बुकिङ दर बढ्न थालेको छ र पर्यटन बजारमा उत्साह थपिएको छ। आगामी दिनमा मौसम अनुकूल रहे पर्यटन गतिविधि अझै बढ्ने छ।”

पोखराका सराङकोट, फेवाताल, डेविस फल, गुप्तेश्वर गुफा, बेगनास ताल, विश्व शान्ति स्तूप, बिन्द्यवासिनी मन्दिरलगायतका प्रमुख पर्यटकीय स्थलहरूमा आन्तरिक तथा भारतीय पर्यटकहरूको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। धेरै पर्यटकहरू परिवारसहित घुम्न आउने गरेका छन् भने केही साहसिक पर्यटन गतिविधिमा समेत सहभागी हुने गरेका छन्।

पर्यटन व्यवसायीहरूका अनुसार गर्मीयाम सुरु भएसँगै भारतीय पर्यटकको आगमनले होटल तथा पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको छ। होटलहरूको बुकिङ दर बढ्न थालेको र पर्यटन बजारमा उत्साह थपिएको उनीहरूको भनाइ छ। आगामी दिनमा मौसम अनुकूल रहे पर्यटन गतिविधि अझै बढ्ने अपेक्षा गरिएको छ।
प्राकृतिक सौन्दर्य, हिमालको मनोरम दृश्य, तालहरूको शान्त वातावरण र सुहाउँदो मौसमका कारण पोखरा नेपालीसँगै विदेशी तथा भारतीय पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा अझै आकर्षक बन्दै गएको देखिएको छ।
तस्बिरः प्रदिपराज वन्त, रासस



















