५ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री डा वाग्लेले गरे पूर्व अर्थमन्त्रीसँग बजेटसम्बन्धी परामर्श



अ+ अ-

काठमाडौं: अर्थ मन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पूर्व अर्थमन्त्रीहरुसँग छलफल गर्नु भएको छ ।

सरकारले यही जेठ १५ गते संघीय बजेट प्रस्तुत गर्दैछ ।

उक्त छलफलमा पूर्व अर्थमन्त्रीहरु विष्णु पौडेल, शंकरप्रसाद कोइराला, वर्षमान पुन, रामेश्वर खनाल, युवराज खतिवडा, जनार्दन शर्मा, प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे सहभागी रहनु भएको अर्थ मन्त्रालयले जनाएको छ ।

बजेट निर्माणका सन्दर्भमा सरकारका तर्फबाट संसदमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत भएर छलफल भइसकेको छ । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र र एक सय बुँदे कार्यक्रमलाई आधार बनाएर बजेट तर्जुमा गर्न लागेको अर्थमन्त्री डा वाग्लेले बताउनु भएको छ ।

छलफलमा पूर्व अर्थमन्त्रीहरुले बजेटलाई कार्यान्वयन गर्न सकिने गरी प्रस्तुत गर्न सुझाव दिएको बुझिएको छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राख्नुभएको धारणा 

बजेटको अन्तिम समयमा छु । तपाईंहरूको राम्रो अनुभवसहितको कार्यक्रम अनुशरण गर्दै जाने हो । अब मलाई नयाँ परिस्थितिमा आउन लागेको नयाँ बजेटमा सुझाव पाउँ । हामी सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी गरिरहेका छौँ ।

हामी सबैले जीवनको कुनै न कुनै कालखण्डमा अर्थ मन्त्रालयको बागडोर सम्हालेका छौँ । भलै त्यो बेलको राजनीतिक परिस्थिति कति अनुकुल थिए कति प्रतिकुल । तर, उदेश्य सबैको पवित्र र एउटै थियो देश र जनताका लागि राम्रो गर्ने । तर,परिस्थितिले त्यो कति सफल भयो कति सफल भएन समीक्षाको विषय छ । नयाँ परिस्थितिमा अब हामी आएका छौँ ।

हामी तपाईंहरूले गर्नुभएको राम्रो कामको अनुशरण गर्दै अघि बढ्ने हो । मैले पटक पटक भन्ने गरेको छु हाम्रा अग्रजले देखाएको बाटो नै हिँड्ने हो । यही व्यवस्था र यही राजनीतिक प्राप्तिबाटै  समृद्धि हासिल गर्ने हो।

पूर्व अर्थमन्त्री रामेश्वर खनालका सुझावहरू 

१ उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यन्वयन गर्न आग्रह ।

२ तयारी नभएको खुद्रा र टुक्रे आयोजनामा बजेट नछरौँ ।

३ विद्युतमा मुअ कर न लगाउनुस् ।

 पूर्व अर्थमन्त्री शंकर कोइरालाको सुझावहरु 

१ रामेश्वर खनाल लगायतका पुराना आर्थिक प्रतिवेदनहरू अनुशरण गरौँ ।

२ सहि मान्छे सही ठाउँमा सही समयमा आउनुभएको छ । सफल हुनुस् ।

३ विद्युत् व्यापारका लागि निजि क्षेत्रलाई खुला गरौँ ।

४ आयोजना निर्माणका लागि वनको अप्ठ्यारो फुकुवा गरौँ  ।

५ नयाँ उद्योग र औद्योगिक क्षेत्र स्थापना गर्ने प्रयास गरौँ ।

६ हेजिङ पोलेसी अगाडि बढाऔँ । जनार्दन शर्माको पालामा अघि बढीको कार्य अघि बढाऔँ ।

७ पुराना उद्योग जगाउने कुरा कति व्यवहारिक छ । सोचौँ । सरकारले नयाँ कपडा उद्योग चलाउनु पर्छ ।

पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा
१ अर्थमन्त्रीहरू बजेटको बाउन्ड्रीमा बस्न खोज्नुहुन्छ । तर, राजनीतिले छक्का हान्न खोज्छ । तपाईं बाउन्ड्रीमा बस्नुस् ।

२ राजश्व वृद्धिको सीमा १० देखि १२ प्रतिशत हो । १५ प्रतिशत नराख्नुस् ।

३ यो वर्ष १२ माथि पुगे पनी १३ अर्ब राजश्व पुग्दैन ।

४ बजेट साँढे २० खर्बको बनाउनु होला । १६ र १७ खर्ब खर्च होला । तर, ठूलो महत्त्वाकाङ्क्षी राजश्व लक्ष्य नबनाउनुस् ।

५ आयकरको सीमा तल्लो स्ल्याब नचलाउनुस् ।

६ अन्तशुल्क जबर्जस्ती लगाइरहेका छौँ । कम गर्दै जाउँ।

७ मुअक दुई दरमा नजानुहोला ।

८ संघको सरकारले गर्ने विकासमा उपभोक्ता समिति मार्फत गरिने कार्य रोकौँ ।

१० लक्ष्यका केही कुरा पुरा गर्न सकिन्छ भने प्रयास गरौँ ।

११ स्वास्थ्य विमामा थैली नबढाई जाऔँ ।

१२ कृषिमा अनुदान दिन जरुरी छ । अर्थतन्त्रमा कृषिमा मधेसको योगदान घटेको छ । यसमा ध्यान दिन जरुरी छ ।

१३ राष्ट्रिय गौरवका आयोजनामा हामीले नै मनपरि गरेउँ। तपाईंले यो कुरा भंग गर्नुहोस् । नयाँ सिराबाट अघि बढ्नुहोस् ।

१४ संस्थानहरुलाई एकीकृत तरिकाले विकासको मोडलमा लैजाऔँ ।

१५ एलडीसी ग्याजुएशनमा खुट्टा नकमाउनुस् ।

१६ मुलुकलाई ग्रेलिष्टबाट निकाल्न कुटनैतिक पहल गर्नुस् ।  दुई चार जना मान्छे थुनेर मात्रै हुँदैन ।

१७ वित्तीय क्षेत्र सुधार गर्नुस् । राष्ट्र बैंकसँग समन्वय होस् ।

१८ निजी क्षेत्रको मनोबल बढाउनुस् ।

१९.तबमात्रै ७ प्रतिशत आर्थिक वृद्धि सम्भाव छ ।

पूर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनी

१ सरकार र निजि क्षेत्र मिलेर जाने वातावरण बनाऔँ ।

२ साना,मझौला र ठूलो औद्योगिक र निजी क्षेत्रलाई कसरी बजेटले सम्बोधन गर्ला । मेरो सल्लाह छ सबैलाई प्रोत्साहनको नीति लिउँ।

३ काम गर्नेलाई प्रोत्साहन गर्ने नीति लिउँ ।

४ कृषिलाई अनुदानबाट प्रोत्साहन जरुरी छ ।

५ स्थिर सरकार चलाउने, कर्मचारीलाई प्रोत्साहन र दण्डको घोषणा पत्र कार्यन्वयन गर्नुस् ।

६ निजी क्षेत्रमा गएको लगानीको पारदर्शिता बुझ्नुपर्छ । लगानी अनुसारको प्रतिफल मिलिरहेको छैन् ।

७ कृषि उपजलाई भारतीय बजार खोज्नुस् । आर्थिक सम्वाद गर्नुस् ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे 

१ LMBISमन्त्रीको जस्तो भएको छ । विषयगत मन्त्रालयको मन्त्रीको जस्तो भयो ।

२ ठूलो आयोजना धेरै भयो । घटाउनुस् ।

३ मध्य पहाडी पहाडी राजमार्ग सांसदले घरजाने बाटो बनाए । अब पहाड छेडेर सुरुङ बनाउँ।

४ राष्ट्रिय गौरवको आयोजनालाई ४र५ वटा मात्रै बनाऔँ ।

५ जमिन प्रयोग सम्बन्धि कानुन सुधार नगर्ने हो भने केही गरि पनि गर्न सकिन्न ।  जग्गालाई कृषि जमिन,उद्योग जमिन, आवास जमिन र व्यवसाय जमिन बनाऔँ ।

६ पर्यटनको क्षेत्रमा गहन काम गरौँ। भारतीय पर्टकलाई आकर्षित गर्ने योजना ल्याउँ।

७ जिर्ण सरकारी उद्योगहरु चलाउन स्पष्ट होउँ। कि सरकारी कि निजी तर सरकारले चलाउन सक्ने अवस्था अहिले देख्दिन । यो मामिलामा मैले सबै पक्षलाई असल देखिरहेको छैन् ।

८ सरकारी कार्यालय र कर्मचारीलाई वस्तु गरिद गर्ने कार्यमा रोक लगाउन पर्छ ।

९ कर्मचारीको संख्यालाई २० प्रतिशतले कटौती गर्न सकिन्छ कि सकिन्न ?

पूर्व अर्थमन्त्री डा.प्रकाश शरण महत

१ सामाजिक सुरक्षा भत्ता हुने खानेलाई नदिउँ। यो निर्णय तपाईंले गर्नसक्नुहुन्छ । तपाईंलाई अवसर छ आँट गर्नुस् ।

२ नचाहिने संरचना हटाउन आँट गर्नुस् ।

३ नेपाल एयरलाइन्सलाई मैले निजीकरण मोडलमा चलाउन सकिन । गर्छु भनेको गर्न सकिन तर तपाईं गरिहाल्नुस् । नत्र यो निकै कठिन हुन्छ । सरकारले धान्न सक्दैन ।

४ सरकारी उद्योग र जमिनलाई लिजमा दिनुस् । निजी क्षेत्रले चलाउन नसकेको अवस्थामा उसले थपेको बाहेक सबै सरकारको हुने गरि लिजमा दिउँ।

५ वैदेशिक ऋण अति आवश्यकबाहेकमा घटाऔँ ।

६ पहाडमा ठूलो राजमार्ग बनाउने कुरालाई प्रोत्साहन नगर्नुहोस् । यो सरकारको र जनताको भन्दा पनि ठेकदारको स्वार्थ देखियो ।

७ पाँच अर्ब भन्दा माथिको ठेक्कामा केही सिमितको मिलोमतो देखिन्छ । यसलाई रोक्नुस् । ठूला ठेक्का टुक्रयाएर मात्रै दिनुस् ।

८ उत्पादन देखाएर मात्रै अनुदान ग्यारेन्टी गर्ने नीति लिउँ।

९ आयतित कृषि उपजमा भ्याट लगाउँ।

१० पर्यटन क्षेत्रमा १२ महिना नै चल्ने सडक बनाऔँ।

पूर्व अर्थमन्त्री वर्षमान पुन

१ डा.वाग्ले बजेट बनाउन अप्ठ्यारो अवस्थामा हुनुहुन्छ ।

२ विगतमा हामीले राम्रो पुर्वाधार बनाएछौँ । तर,औद्योगिक करिडोर बाहेक अन्यमा गरिएको लगानीको प्रतिफल कमजोर देखिन्छ ।

३ पूर्व पश्चिममा हुलाकी देखि मध्य पहाडी र मदन भण्डारी राजमार्ग बने तर बजार विकास हुन सकेन । प्रतिफल कमजोर भयो ।

४ पर्यटन पुर्वाधारमा लगानी गरौँ।

५ भारतमा बढीको मध्यम वर्गलाई नेपाल आउने र रमाउने गरि हिलस्टेसन बनाऔँ। त्यसलाई विवाह गन्तव्यको रुपमा विकास गरौँ। ५०/६० वटा पूर्वाधार बनाऔँ।

६ संघियतामा आर्थिक गतिविधि बढेको देखिन थालेको छ । अहिले प्रदेश राजधानीमा खुलेको पाँच तारे होटलले यही संकेत गर्छ ।

७ ग्रामीण कृषि उपजलाई बजारमा ल्याउने वातावरण बनाउन पर्यो ।

८ सार्वजनिक संस्थान चलाउन हामीले जनक शिक्षाको राम्रो अभ्यास गर्यौँ। डुबेको संस्था चल्यो अहिले नाफामा छ । तीन वटा सरकारी बैंकलाई पनि हामीले नाफामा चलायौँ। नेपाल वायुसेवा निगम बलियो हुनपर्छ । तर, कसरी चलाउने  विचार गरौँ।

९ जनताको अपेक्षा अत्यन्तै धेरै छ । कसरी सम्बोधन गर्नुहुन्छ यो मैले निकै जटिल देखेको छु ।

१० पालिका केन्द्रसम्म पुग्नेगरि १२ महिना नै चलाउन सकिने बाटो बनाउँ ।

पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल

१ बलियो जनमत र सरकार अनि बुझेको अर्थमन्त्री हुनुहुन्छ यो सकारात्मक कुरा छ ।

२ वाचा पत्रलाई  पूर्ण परिपालन गर्न सकिने अवस्था अहिले छ । त्यसैअनुसार बजेट बनाउनुस् ।

३ रिफर्मका लागि यहाँको कमिटमेन्ट हामीले सुनेका छौँ। केही सहयोग हामीबाट चाहिए म सधैं तयार छु ।

४ स्रोतको अनुमानमा भन्दा पनि खर्चको अनुमान गरेर बजेट बनाउने हाम्रो परम्परा छ । यस्तो कमजोरीलाई सच्याउन पर्छ ।

५) गेम चेन्जर परियोजना गीत गाएर मात्रै नबसौँ। काम थालौँ । जस्तै बुढीगण्डकी लगायत ।

पूर्व अर्थमन्त्री जनार्दन शर्मा

१ सल्लाह दिन रमाइलो तर कार्यन्वयन गह्रो ।

२ बजेट राजनीतिक संकल्प पूरा गर्ने डकुमेन्ट हो ।

३ हर्मुज घाँटीमा विश्व अर्थतन्त्र अड्किएको छ ।

४ कार्याकालको चिन्ता तपाईंलाई छैन् ।

५ आफ्नै मन्त्री र नेताबाट धाकधम्की खेप्नुपर्ने अवस्था तपाईंलाई छैन् ।

६ योजना छनोट र राजश्वमा लोकप्रियता युक्त निर्णय गर्ने तपाईंले जोखिम लिने हो ।

७ संघीयता कार्यन्वयन गर्न तपाईंले बजेट ल्याउनु पर्छ ।

८ निर्मम भएर सरकारी खर्च कटौती गरौँ।

९ हाइ अल्टिट्युट खेल पूर्वाधारमा लगानी गरौँ।

१० फलाम,तामा जस्तो खानिज उत्खननमा लगानी गरौँ ।

११ ताजा तरकारी नेपाल कै खाउँ भन्दा मलाई अप्ठ्यारो पर्यो । तर, यो जरुरी छ ।

१२ अरु जेजे भए पनि औषधी उद्योग चाहिँ सरकारले नै चलाउन पर्छ ।

१३ रासायनिक मल कारखाना खोल्न स्वदेशी कच्चा पदार्थबाट पनि सम्भावना छ । मेरो पालाको अध्यायन पल्टाउँदा हुन्छ ।

१४ निजी क्षेत्रको आत्माविश्वास र लगानी सुरक्षामा जोड दिनुपर्नेछ ।

१५ पढ्दै कमाउँदै, वा १२ कक्षा पास गर्दा सीप सहितको जनशक्ति देशले पाउने गरि बजेट आओस् ।

१६ सीमा क्षेत्रको बजार हराभरा बनाउनुपर्छ ।

१७ जुम्ला पुग्न टनेल खन्न सके यसले कर्णालीको समृद्धि ल्याउँछ ।