३१ श्रावण २०८३, आईतवार
,
Latest
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काम गरे घरखेत जान्छ, नगरे कालोसूचीमा परिन्छः अध्यक्ष पाण्डे



अ+ अ-

काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउनुभएको छ । सरकारले कानुनअनुसारको मूल्य समायोजन सुविधा नदिएको, निर्माण सम्पन्न भइसकेका आयोजनाको भुक्तानी रोकिएको तथा व्यवसायीमाथि मानसिक दबाब सिर्जना गरिएको भन्दै उहाँले निर्माण क्षेत्र स्वतः ठप्प हुने अवस्थामा पुगेको बताउनुभयो ।

अध्यक्ष पाण्डेका अनुसार करिब ९० प्रतिशत ठेक्कामा सरकारी कर्मचारीहरूले कानुनमा रहेको प्रावधान हटाएर ठेक्का सम्झौता गर्ने गरेका छन् । अहिले आएर कानुनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था समेत कार्यान्वयन नभएको उहाँको भनाइ छ ।

उहाँले वर्तमान अवस्थामा निर्माण व्यवसायीहरू काम गर्न सक्ने स्थितिमा नरहेको बताउँदै काम गर्दा घाटा मात्रै नभई घरखेत नै गुम्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । धेरै व्यवसायीहरूले काम सम्पन्न गरिसक्दा पनि भुक्तानी नपाएको उहाँले बताउनुभयो ।

अध्यक्ष पाण्डेका अनुसार निर्माण व्यवसायीमाथि आयोजना प्रमुखदेखि इन्जिनियरसम्मले धम्की दिने क्रम बढेको छ । काम नगरे कालोसूचीमा राख्ने, कारबाही गर्ने तथा बैंक ग्यारेन्टी जफत गरिदिने चेतावनी दिएर व्यवसायीहरूलाई मानसिक दबाबमा राखिएको उहाँको आरोप छ ।

“अहिले जिल्ला–जिल्लाबाट व्यवसायीहरू अत्यन्त मानसिक तनावमा छन् । कतिपयले त ‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’ भन्ने अवस्था व्यक्त गरिरहेका छन्,” अध्यक्ष पाण्डेले भन्नुभयो ।

उहाँले निर्माण व्यवसायीहरूले ‘कन्स्ट्रक्सन हलिडे’ मागेको नभई काम गर्नै नसक्ने अवस्था सिर्जना भएकाले निर्माण क्षेत्र स्वतः ठप्प हुने स्थिति आएको स्पष्ट पार्नुभयो । व्यवसायीहरूले काम गर्न नचाहेर होइन, गर्न नसक्ने अवस्थाका कारण काम रोकिने स्थिति आएको उहाँको भनाइ छ ।

महासंघले यसअघि आयोजना प्रमुख, महाप्रबन्धक, सचिव, विभागीय प्रमुख तथा भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयका मन्त्रीहरूसँग पटक–पटक छलफल गरे पनि समस्या समाधान नभएपछि आन्दोलन चर्काउनुपरेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार निर्माण क्षेत्र देशको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक हो । यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढी श्रमिकलाई रोजगारी दिइरहेको छ भने राष्ट्रिय अर्थतन्त्रमा १३ देखि १४ प्रतिशतसम्म योगदान पुर्‍याउँदै आएको छ ।

अध्यक्ष पाण्डेले निर्माण व्यवसायीहरू पनि यही राज्यका नागरिक भएको र विकास निर्माणको जिम्मेवारी उनीहरूले नै निर्वाह गरिरहेको उल्लेख गर्दै यदि निर्माण व्यवसायीहरू नै संकटमा परे विकास निर्माणका काम अघि बढाउने जनशक्ति अभाव हुने चेतावनी दिनुभयो ।