२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत



अ+ अ-

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले लेबनान र इजरायलबीच जारी युद्धविरामको अवधि ४५ दिनका लागि थप गरिएको निर्णयप्रति स्वागत व्यक्त गर्नुभएको छ । उहाँले यस कदमले सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्न तथा प्रभावित नागरिकहरूको दुःख कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको प्रेस कार्यालयद्वारा जारी वक्तव्यअनुसार महासचिव गुटेरेसले द्वन्द्व अन्त्यका लागि भइरहेका सम्पूर्ण प्रयासप्रति समर्थन जनाउँदै लेबनान र इजरायलबीचको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षा र मानवीय सहायतामा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । उक्त सीमारेखा संयुक्त राष्ट्रसङ्घले सन् २००० मा निर्धारण गरेको हो ।

उहाँले सम्बन्धित सबै पक्षलाई युद्धविरामको पूर्ण सम्मान गर्न, थप आक्रमण नगर्न तथा अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्तहरूको पालना गर्न आग्रह गर्नुभएको छ । साथै, क्षेत्रीय शान्ति, स्थायित्व र आपसी समझदारी कायम राख्न संयमता तथा संवादको आवश्यकता औंल्याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घले सुरक्षा परिषद्को प्रस्ताव नम्बर १७०१ पूर्ण रूपमा कार्यान्वयन गर्न भइरहेका कूटनीतिक प्रयासलाई निरन्तर समर्थन गर्ने जनाएको छ ।

उक्त प्रस्ताव सन् २००६ मा लेबनानी समूह हिज्बुल्लाह र इजरायलबीच भएको युद्ध अन्त्य गर्नका लागि ल्याइएको थियो । युद्धविराम अवधि थप गरिनुले सीमावर्ती क्षेत्रमा केही राहत र स्थिरता आउने अपेक्षा गरिएको भए पनि अवस्था अझै संवेदनशील रहेकाले निरन्तर संवाद, सहकार्य र शान्तिपूर्ण पहल आवश्यक रहेको अन्तर्राष्ट्रिय समुदायले जनाएको छ ।