१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई आधुनिक कृषि उपकरणको प्रयोगले सहजता



अ+ अ-

दाङ । पछिल्लो समयमा खेतीका लागि कृषि उपकरणको प्रयोग हुन थालेको छ । गाउँघरमा गोरु तथा राँगाले खेत जोत्ने, धान दाइँ लगाउने चलन विस्तारै हराउँदै गएको छ । जिल्लामा पछिल्लो समय आधुनिक कृषि उपकरण भित्रिएसँगै खेतीपाती गर्न किसानलाई सहज भएको छ । खेती लगाउनेदेखि स्याहार्नसमेत विभिन्न कृषि उपकरणको प्रयोग बढ्दै गएको छ ।

किसानले धान, गहुँ चुट्ने र जोत्नसमेत ट्र्याक्टर प्रयोग गर्न थालेका छन् । गाउँघरमा गोरु तथा राँगा पाल्ने क्रम घटेको किसान युवराज वलीले बताउनुभयो । प्रविधि भित्रिएसँगै यसको प्रयोगले गर्दा किसानको श्रम कम लाग्ने र छिटोछरितो हुने उहाँको भनाइ छ । कृषि उपकरणले गर्दा समयमै खेतीपाती ढल्याउन सहज भएको अर्का किसान मनसरी केसीले बताउनुभयो ।

“पहिले–पहिले सात/आठ दिनसम्म पनि खेतबारीमै काम गर्नुपथ्र्यो तर आजभोलि दुई/तीन दिनमै खेती ढल्याउने भएको छ,” उहाँले भन्नुभयो । तुलसीपुर–१० की कमला केसीले विगतमा खेत जोत्नेदेखि धान स्याहार्न खेताला लगाउने गरे पनि यस वर्ष भने ट्र्याक्टर र थ्रेसर प्रयोग गरी बाली स्याहारेको बताउनुभयो । गाउँघरमा धान चुट्ने दाउने मानिसको अभाव भएका समयमा कृषि उपकरण आएपछि धेरै सजिलो भएको उहाँको भनाइ छ ।

उपकरण र यन्त्रको प्रयोगले कृषि कार्यमा श्रम, समय र पैसा बचत हुने किसान बताउँछन् । “एक दिनको गोरु र मानिसले रु ८०० देखि एक हजार लिने गर्छन् तर ट्र्याक्टरले भने कम लिन्छ”, अर्का किसान निर्मल वलीले भन्नुभयो । थ्रेसर मेसिनले धान दाउँदा प्रतिघण्टा रु दुई हजार र जोत्दा प्रतिघण्टा रु ८०० लिने गरेका उहाँको भनाइ छ ।

कृषि प्राविधिक यमप्रसाद पाण्डेले जिल्लामा पछिल्लो समयमा धेरैजसो किसानले विभिन्न उपकरण र यन्त्र प्रयोग गर्ने क्रम बढेको बताउनुभयो । “पहिलेजस्तो गोरु र राँगाले खेत जोत्ने, दाइँ हाल्ने चलन हराउँदै गएको छ, सबैले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन्”, उहाँले भन्नुभयो । जिल्लामा धान काटने, दाउने थ्रेसर, खेत जोत्ने साना तथा ठूला ट्र्याक्टर र मकै रोप्ने तथा गोड्ने मेसिनसमेत आएका छन् । किसानले कृषि औजार प्रयोग गर्न थाले पनि आफूहरुलाई पनि भ्याइनसक्नु भएको थ्रेसर चालक विमल चौधरीले बताउनुभयो ।