२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेश भट्टराईको प्रश्न: प्रधानमन्त्री किन संसदप्रति उत्तरदायी बन्न चाहँदैनन्?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक दायित्वबाट सरकार पछि हट्न खोजेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले संसदीय लोकतन्त्र अभ्यास गर्ने मुलुकहरूमा संसदको गरिमा र महत्व उच्च रहने उल्लेख गरेका छन् । संसदले नै प्रधानमन्त्री चयन गर्ने व्यवस्थाका कारण प्रधानमन्त्री संविधानअनुसार संसद र जनताप्रति समान रूपमा उत्तरदायी हुनुपर्ने उनले बताएका छन् ।

भट्टराईले नेपालले प्रधानमन्त्रीय शासन प्रणाली अपनाएको उल्लेख गर्दै राष्ट्रपतिद्वारा वाचन गरिने नीति तथा कार्यक्रम सरकारको औपचारिक दस्तावेज भए पनि त्यसको वास्तविक अवधारणाकार प्रधानमन्त्री नै हुने बताएका छन् । त्यससम्बन्धी प्रश्नको चित्तबुझ्दो जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने उनको भनाइ छ ।

उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनु भनेको संसदमा उपस्थित हुने, छलफलमा उठेका विषय स्पष्ट पार्ने तथा संसदका निर्णय र निर्देशन कार्यान्वयन गर्ने दायित्व भएको बताएका छन् । तर वर्तमान प्रधानमन्त्री संवैधानिक तथा पदीय दायित्वबाट किन टाढिन खोजिरहेका छन् भन्ने प्रश्न उनले उठाएका छन् ।

भट्टराईले संसदीय अभ्यास भएका मुलुकहरूमा प्रधानमन्त्रीले विशेष सम्बोधन, महत्वपूर्ण घोषणा, घटनाप्रतिको धारणा तथा औपचारिक विदेश भ्रमणबारे संसदमार्फत जानकारी दिने परम्परा रहेको उल्लेख गरेका छन् ।

संसदको रोस्ट्रममा उभिएर बोल्नुलाई प्रधानमन्त्रीहरूले गौरवका रूपमा लिने भए पनि नेपालमा त्यसको अभ्यास कमजोर देखिएको उनको टिप्पणी छ ।उनले प्रक्रिया मिचेर वा छल गरेर अघि बढ्ने प्रवृत्ति लोकतान्त्रिक अभ्याससँग मेल नखाने पनि बताएका छन् ।