२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसमाथि बेलायतको नयाँ प्रहार



फाइल फोटो
अ+ अ-

लन्डन। बेलायतले युक्रेन युद्धसँग सम्बन्धित रुसी ‘सूचना युद्ध अभियान’ विरुद्ध नयाँ प्रतिबन्ध घोषणा गर्दै मस्कोमाथि दबाब थप कडा बनाएको छ ।

बेलायती सरकारले सोमबार सार्वजनिक गरेको प्रतिबन्ध प्याकेजले रुसी प्रचार संयन्त्र, विदेशी चुनावमा कथित हस्तक्षेप तथा युक्रेनी बालबालिकाको जबरजस्ती स्थानान्तरणमा संलग्न व्यक्ति र संस्थाहरूलाई लक्षित गरेको छ ।

नयाँ प्रतिबन्धअन्तर्गत ८५ व्यक्ति तथा संस्थामाथि कारबाही गरिएको बेलायतले जनाएको छ । तीमध्ये करिब दुई तिहाइ व्यक्ति र संस्था रुसको कथित प्रचार तथा प्रभाव विस्तार अभियानसँग जोडिएका बताइएको छ ।

बेलायतका अनुसार ती गतिविधिमा विदेशी लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्ने प्रयाससमेत समावेश छन् । लन्डनले हालै आर्मेनियाको आगामी चुनावलाई प्रभाव पार्ने उद्देश्यले रुस समर्थित अभियान सञ्चालन गरिएको आरोप लगाएको छ ।

प्रतिबन्ध सूचीमा ‘सोसल डिजाइन एजेन्सी’ (एसडीए) सँग सम्बन्धित ४९ जना व्यक्तिलाई पनि समावेश गरिएको छ । बेलायत सरकारका अनुसार उनीहरू लेखक, अनुवादक तथा भिडियो निर्माता हुन्, जसले ‘भ्रामक क्रेमलिन प्रचार सामग्री’ तयार पार्ने कार्य गरेका थिए ।

बेलायतले यसअघि पनि सन् २०२४ को अक्टोबरमा राज्य–समर्थित एसडीए र त्यसका वरिष्ठ कर्मचारीहरूमाथि प्रतिबन्ध लगाएको थियो । त्यसबेला अन्य दुई समान संस्थालाई समेत लक्षित गरिएको थियो ।

बेलायतको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा एसडीएलाई क्रेमलिनले लोकतान्त्रिक संरचना कमजोर बनाउने तथा युक्रेनप्रतिको अन्तर्राष्ट्रिय समर्थन कमजोर पार्ने उद्देश्यले हस्तक्षेपकारी अभियान सञ्चालन गर्न निर्देशन र आर्थिक सहयोग दिएको दाबी गरिएको छ ।

वक्तव्यमा ती गतिविधि ‘रुसी राष्ट्रपति प्रशासनसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको लगभग निश्चित’ भएको उल्लेख गरिएको छ । साथै आर्मेनियामा रुस समर्थक सङ्गठन स्थापना गर्ने र राजनीतिक शक्ति सन्तुलनलाई मस्को समर्थक धारतर्फ मोड्ने प्रयास भएको आरोपसमेत लगाइएको छ ।

सोमबार घोषणा गरिएको प्रतिबन्ध प्याकेजको करिब एक तिहाइ हिस्सा युक्रेनी बालबालिकासँग सम्बन्धित मुद्दामा केन्द्रित रहेको छ । बेलायतले यसलाई ‘युक्रेनी बालबालिकाको जबरजस्ती निर्वासन र सैन्यीकरण गर्ने रुसको व्यवस्थित अभियान’ भनेको छ ।

प्रतिबन्ध सूचीमा ‘वारियर सेन्टर’ नामले चिनिने ‘सेन्टर फर मिलिटरी स्पोट्र्स ट्रेनिङ एन्ड प्याट्रियोटिक एजुकेशन अफ युथ’ पनि परेको छ । बेलायतका अनुसार उक्त संस्थामा लगिएका युक्रेनी बालबालिकालाई सैन्य प्रशिक्षण दिइनुका साथै क्रेमलिन समर्थित विचारधाराअनुसार प्रशिक्षण गराइन्छ ।

यसैगरी मस्को समर्थित स्वघोषित ‘लुहान्स्क पिपुल्स रिपब्लिक’ की युवा नीतिमन्त्री युलिया सर्गेभना भेलिच्कोलाई पनि प्रतिबन्ध लगाइएको छ । बेलायतले युक्रेनी बालबालिकासम्बन्धी राज्य–समर्थित कार्यक्रम कार्यान्वयनमा उहाँको ‘गम्भीर भूमिका’ रहेको आरोप लगाएको छ ।

बेलायतले युक्रेनबाट जबरजस्ती लगिएका बालबालिकाको पहिचान र खोजी कार्यमा सहयोग गर्न थप १२ लाख पाउन्ड अर्थात् करिब १६ लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने घोषणा पनि गरेको छ । यो रकम प्रमाणीकरण केन्द्र र ट्रेसिङ संयन्त्रमार्फत परिचालन गरिने जनाइएको छ ।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेपछि मस्कोमाथि हजारौँ युक्रेनी बालबालिकालाई जबरजस्ती रुसतर्फ सारिएको आरोप लाग्दै आएको छ । पश्चिमी मुलुकहरू र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले यस विषयलाई गम्भीर मानवअधिकार उल्लङ्घनका रूपमा उठाउँदै आएका छन् ।

हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले सन् २०२३ मा युक्रेनी बालबालिकाको कथित अपहरण र जबरजस्ती स्थानान्तरणसम्बन्धी आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो ।

बेलायतकी गृहमन्त्री यभेट कुपरले सोमबारको वक्तव्यमा जबरजस्ती लगिएका बालबालिकाको पहिचान र खोजीका लागि बेलायतले आफ्ना सहयोगी मुलुकहरूसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले ‘बलपूर्वक लगिएका बालबालिकालाई फेला पार्ने र सुरक्षित रूपमा पुनःस्थापित गर्ने हरेक प्रयासमा बेलायत साथमा रहने’ बताउनुभयो । (रासस/एएफपी)