२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

 मदन–आश्रित स्मृति दिवस प्रभावकारी बनाउन एमालेको देशव्यापी सर्कुलर



अ+ अ-

काठमाडाैँ । नेकपा एमालेले नेपाली कम्युनिस्ट आन्दोलनका वैचारिक अगुवा मदन भण्डारी र कुशल संगठनकर्ता जीवराज आश्रित को स्मृतिमा जेठ ३ गते मनाइने स्मृति दिवसलाई प्रभावकारी बनाउन देशभरका पार्टी संरचनालाई सर्कुलर जारी गरेको छ।

पार्टीका महासचिव शंकर पोखरेल ले जारी गरेको सर्कुलरमार्फत प्रदेश, जिल्ला तथा जनसंगठनहरूलाई आफ्ना अनुकूलता अनुसार कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ। सर्कुलरमा पार्टीको विचार, योगदान र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित विविध कार्यक्रम आयोजना गर्न भनिएको छ।

केन्द्रीय कार्यालयका अनुसार काठमाडौंस्थित मदननगर बल्खुमा जेठ ३ गते बिहान ७:४५ बजे विशेष कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा पार्टी केन्द्र, उपत्यका मातहतका कमिटी तथा काठमाडौंमा उपलब्ध सम्पूर्ण कार्यकर्ताको अनिवार्य उपस्थिति गराउन निर्देशन गरिएको छ।

सर्कुलरअनुसार प्रदेश तथा जिल्लामा मदन भण्डारी र जीवराज आश्रितका योगदानबारे चर्चा, विचार गोष्ठी, तथा जनताको बहुदलीय जनवादसम्बन्धी परिसंवाद आयोजना गर्न भनिएको छ। साथै वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर सञ्चालन, कैदीबन्दी भेटघाट, अस्पतालमा बिरामीलाई भेट्ने तथा फलफूल वितरणजस्ता सामाजिक गतिविधि पनि गर्न निर्देशन दिइएको छ। सार्वजनिक स्थलमा उहाँहरूको तस्वीर सजाएर राख्न समेत भनिएको छ।

यस्तै, अनेरास्ववियूलाई माध्यमिक विद्यालय परिसर बाहिर फोटो प्रदर्शनी, पर्चा तथा पम्पलेटमार्फत मदन–आश्रितबारे जानकारी फैलाउन भनिएको छ। युवा संघलाई हरेक पालिकामा मार्चपास गर्न निर्देशन दिइएको छ भने अनेम संघलाई हरेक घरका ज्येष्ठ महिलासँग भेटघाट गर्न भनिएको छ।

अखिल नेपाल किसान संघलाई आफ्नो बारी वा सार्वजनिक स्थलमा कम्तीमा दुई वटा फलफूलका बिरुवा रोप्न निर्देशन गरिएको छ। जिफन्ट तथा भूमिअधिकार र श्रमिक संगठनलाई उपत्यका बाहिरका अव्यवस्थित बसोबासी, सुकुम्बासी तथा भूपू सैनिक–प्रहरी संगठनसँग समन्वय गरी उनीहरूको अवस्था बुझ्न भनिएको छ।

त्यसैगरी कार्यक्रमका सबै गतिविधि सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत व्यापक रूपमा प्रचार–प्रसार गर्न निर्देशन दिइएको छ। अन्त्यमा, प्रत्येक कमिटीले गरेका कार्यक्रमको संक्षिप्त प्रतिवेदन जिल्ला कमिटीमार्फत केन्द्रीय कार्यालयमा पठाउन पनि सर्कुलरमा उल्लेख गरिएको छ।