काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित निकालेको छ ।
बंगलादेशको ढाकामा शुक्रबार भएको खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले माल्दिभ्समाथि २५–११, २५–९ र २५–५ सेटमा जित निकाल्यो ।
लगातार दुई खेलमा जितपछि नेपालको फाइनल पुग्ने सम्भावना कायम छ ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो ।
महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् ।
अब नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।