२९ भाद्र २०८३, सोमबार
,
Latest
देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक लाख ३६ हजार पशुलाई खोप



अ+ अ-

काठमाडौं । बागलुङका ६ स्थानीय तहका एक लाख ३६ हजार ७८१ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले कृषकका घर तथा खर्क र चरनक्षेत्रमै पुगेर पशुलाई खोप लगाएको हो ।

ढोरपाटन र गलकोट नगरपालिका, निसीखोला, तमानखोला, बडिगाड र ताराखोला गाउँपालिकाका गाई, भैँसी, बाख्रा, भेडा, बङ्गुर र कुकुरलाई विभिन्न रोगको खोप लगाइएको हो । छ स्थानीय तहका कुकुरलाई समेत खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार १७ हजार ३६५ गाई, २७ हजार ५२ भैँसी र ८३० बङ्गुरलाई खोरेतविरुद्धको खोप लगाइएको छ । खोरेत रोगका कारण पशुको मुखभित्र, खुट्टा र स्तनमा फोका आउने तथा दूध उत्पादन घट्दा कृषकलानी हानी भएको छ । आर्थिक क्षतिको रोकथाम गर्दै पशुको रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा दूध, मासु र प्रजनन क्षमतामा समेत वृद्धि गराउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको प्रमुख डा सापकोटाले बताउनुभयो ।

खोप लगाउँदा पशुको शरीरमा एन्टिबडी बन्ने भएकाले खोरेत भाइरसविरुद्ध प्रतिरोध हुने, विभिन्न जोखिम कम गर्ने, किसानलाई नोक्सानीबाट बचाउने र उत्पादनमा समेत वृद्धि हुने उहाँको भनाइ छ । त्यसैगरी, ६९ हजार ४८४ बाख्रा र १३ हजार ३७९ भेडालाई पिपिआर खोप लगाइएको प्रमुख डा सापकोटाले बताउनुभयो ।

घातक रोगबाट बचाएर पशुपालनमा हुनसक्ने आर्थिक नोक्सानीलाई रोक्न ढोरपाटन र निसीखोलाका चरन क्षेत्रमै पुगेर खोप लगाइएको छ । खोप लगाएपछि भेडाबाख्रामा उच्च ज्वरो, आँखा र नाकबाट पानी झर्ने, मुखभित्र घाउ र दादुरा, खाना खान नसक्ने, पखाला र निमोनिया तथा विभिन्न कारणले हुनसक्ने मृत्युको दरसमेत घट्ने प्रमुख डा सापकोटाले बताउनुभयो ।

पश्चिम बागलुङका घरपालुवा र सामुदायिक गरेर सात हजार ७७४ कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको छ । रेविजविरुद्धको खोप कुकुरलाई लगाएपनि यसबाट मानिसलाई समेत घातक रोगबाट बचाउने उद्देश्यका साथ खोप लगाइँदै आएको छ । कुकुरलाई लगाइने यो खोपले कुकुरको रेविज रोक्ने, मानिस र समाजलाई समेत सुरक्षित राख्न मद्दत गर्दछ ।

त्यसैगरी ८९७ बङ्गुरलाई अत्यन्तै सङ्क्रामक रोग नियन्त्रणका लागि लगाइने सिएसएफ खोप लगाइएको छ । चौबीस महिला र २५ पुरुष खोपकर्ता खटाएर कृषकका घरदैलोमै पुगेर खोप अभियान सम्पन्न गरिएको प्रमुख डा सापकोटाले बताउनुभयो ।

पहिलो चरणको अभियानमा पश्चिम बागलुङका ६ स्थानीय तहमा खोप अभियान सम्पन्न गरेर दोस्रो चरणको अभियान बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा यही वैशाख १ गतेदेखि सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

वैशाख मसान्तसम्ममा अभियान सञ्चालन भइरहेका बाँकी चार स्थानीय तहका सबै पशुलाई खोप लगाइने छ । सो कार्यका लागि ३५ प्राविधिक वडा–वडामा खटिएका छन् ।