३१ श्रावण २०८३, आईतवार
,
Latest
राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिर्तामोडमा सुकुमबासीको आन्दोलन, ‘डोजर आतंक’ रोक्न र धनीपुर्जा माग



अ+ अ-

काठमाडाैँ । बिर्तामोडका भूमिहीन तथा सुकुमबासीहरूले ‘डोजर आतंक’ रोक्न माग गर्दै आजदेखि आन्दोलन सुरु गरेका छन् । आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट जबर्जस्ती हटाउने कार्य रोक्नुपर्ने र सोही ठाउँमा बसोबासको वैधानिक अधिकारसहित धनीपुर्जा उपलब्ध गराइनुपर्ने उनीहरूको मुख्य माग छ ।

सुकुमबासी बस्तीहरूमा भइरहेको घर–टहरा भत्काउने अभियानलाई उनीहरूले ‘डोजर आतंक’ भन्दै तत्काल रोक्न आग्रह गरेका छन् । साथै, वास्तविक भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा प्रदान गर्न, भू–माफिया भनिएका व्यक्तिहरूमाथि कारबाही गर्न र आवास अधिकारको सुनिश्चितता गर्न उनीहरूले सरकारसँग माग गरेका छन् ।

बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै भूमिहीन सुकुमबासी संयुक्त संघर्ष समितिले नगर क्षेत्रभित्रका संरचना भत्काउने कार्य तत्काल बन्द गर्नुपर्ने, सुकुमबासीलाई व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने माग अघि सारेको छ । ज्ञापनपत्र नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईलाई बुझाइएको हो ।

संघर्ष समितिले संविधान २०७२ को धारा ३७ ले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेको र सर्वोच्च अदालतले पनि वैकल्पिक व्यवस्था नगरी उठिबास नलगाउन निर्देशन दिएको सन्दर्भ उल्लेख गर्दै त्यसविपरीत गरिएको कारबाही अमानवीय भएको जनाएको छ ।

बिर्तामोड नगर क्षेत्रमा मात्र १ हजार ३५ भूमिहीन सुकुमबासी र १ हजार ५ सय २० अव्यवस्थित बसोबासी रहेको तथ्य प्रस्तुत गर्दै उनीहरूले पछिल्लो डोजर अभियानका कारण १७ वर्षीय रबिन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेको दाबीसमेत गरेका छन् ।

संयोजक विष्णुमाया विश्वकर्मा र सचिव रमेश मुर्मु द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मागहरू तत्काल पूरा नभए चरणबद्ध आन्दोलन चर्काउने चेतावनी दिइएको छ । उनीहरूले सरकार नै सम्भावित आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार हुने बताएका छन् ।