८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

२४ वर्षपछि कालोपत्रे शुरु



अ+ अ-

‘दमौली । ट्रयाक’ खुलेको २४ वर्षपछि जिल्लाको भीमाद नगरपालिका–५ र ६ जोड्ने भीमाद ऋषिङपाटन मोटरमार्गमा कालोपत्रे शुरु भएको छ ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु १२ करोड ७८ लाख ९८ हजार ५७३ को लागतमा सडक कालोपत्रे शुरु भएको हो । विसं २०५२ मा ट्रयाक खुलेको उक्त मोटरमार्ग कालोपत्रेका लागि पूर्वाधार विकास कार्यालय नवलपुरले काठमाडौँस्थित महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्नसँग गत असोज २३ गते सम्झौता गरेको कार्यालयका प्रमुख लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । कूल ७.२ किमी मोटरमार्ग कालोपत्रेका लागि विसं २०७७ पुस २२ गतेसम्म म्याद रहेको भण्डारीले बताउनुभयो ।

मोटरमार्गको १० मिटर दायाँबायाँमध्ये नौ मिटरमा कालोपत्रे गरिनेछ । भण्डारीका अनुसार सडकको एक÷एक मिटरमा नाला निर्माण हुनेछ । धुँवा र धुलोबाट आक्रान्त भएका यहाँका स्थानीयवासीलाई मोटरमार्ग कालोपत्रेपछि सहज हुने भण्डारीले बताउनुभयो । “एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत सो मोटरमार्ग कालोपत्रेको काम शुरु भएको छ”, भण्डारीले भन्नुभयो, “समयमै गुणस्तरीय काम सम्पन्न गराउन कार्यालयको तर्फबाट प्रत्यक्ष निगरानी गरिनेछ ।” निर्माण कम्पनीका प्रोपाइटर सन्जय हिराचनले तोकिएकै समयमा गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कालोपत्रेको काम शुरु भएपछि स्थानीयवासी हर्षित भएको मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष गञ्जसिंह गुरुङले बताउनुभयो । “यही मोटरमार्गलाई देखाएर विगतमा नेताहरुले भोट मागे, तर चुनाव जितेपछि यो मोटरमार्गलाई कहिल्यै वास्ता गरेनन्,” गुरुङले भन्नुभयो, “स्थानीयवासीको सपना अहिले आएर बल्ल पूरा हुन लागेको छ ।”

सडक कच्ची हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले यहाँका स्थानीयवासी आक्रान्त हुँदै आएको गुरुङले बताउनुभयो । “सडक कालोपत्रे शुरु भएसँगै धुलोको समस्याबाट मुक्ति पाइने भएको छ,” गुरुङले भन्नुभयो, “आर्थिक मामिला मन्त्रीले गत निर्वाचनमा बोलेको बचन पूरा गर्नुभयो ।” काम शुरु हुने तर बीचमा नै अलपत्र हुने धेरै ठाउँको अवस्था रहेकोले यहाँ शुरु भएको कालोपत्रे कामको स्थानीयवासीले सधैँ निगरानी गर्नेसमेत गुरुङले बताउनुभयो ।

स्थानीयवासी गोपाल थापाले सङ्घीयता कार्यान्वयनसँगै विकासको अभियान शुरु भएको महसुस हुन थालेको बताउँदै खुसी व्यक्त गर्नुभयो । “धुलोको समस्याबाट यहाँका जनता साहै्र पीडित थिए,” थापाले भन्नुभयो, “ढिलै भए पनि मोटरमार्ग कालोपत्रेको काम शुरु भएको छ, स्थानीयवासी खुसी छन् ।” कालोपत्रे हुन लागेको सडकको शिलान्यास गर्दै गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तोकिएको समयमा गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । मन्त्री गुरुङले प्रदेश सरकारले जनताको आवश्यकतालाई ध्यानमा राखेर विकास निर्माणका काम गरिरहेको बताउनुभयो ।

मन्त्री गुरुङले मुस्ताङदेखि तनहुँको भीमाद हुँदै नवलपुरको कावासोती जोड्ने प्रादेशिक सडकलाई गौरवको आयोजनाको रुपमा राखेर सरकारले उक्त मोटरमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिइसकिएको जानकारी दिनुभयो ।

भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले नगर क्षेत्रभित्र रहेका कच्ची मोटरमार्ग कालोपत्रेलाई प्राथमिकता दिइएको भन्दै ठूला आयोजना निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरिने बताउनुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भीमाद नगरपालिका हुँदै ऋषिङको पल्ट्याङसम्म पुग्ने यो मोटरमार्गको छुट्टै महत्व रहेकाले प्रदेश सरकारमार्फत कालोपत्रे शुरु हुनु सकारात्मक रहेको बताउनुभयो ।