१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ स्पिनर हरभजन सिंहद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा



अ+ अ-

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका अनुभवी अफ स्पिनर हरभजन सिंहले शुक्रबार सबै प्रकारका क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । हरभजनले सामाजिक सञ्जालमा सन्न्यासबारे जानकारी दिएका हुन् ।

भज्जीले आफ्नो इन्स्टाग्राम पेजमा एउटा भिडियो पोस्ट गर्दै भनेका छन् “जालन्धरको साँघुरो गल्लीदेखि टीम इन्डियाको टर्बानेटरसम्मको मेरो यात्रा विगत २५ वर्षमा निकै सुन्दर रह्यो। जब म भारतको जर्सी लगाएर मैदानमा आउन पाएँ, त्योभन्दा ठूलो उत्प्रेरणा मेरो जीवनमा सायद अरु केही छैन । तर जीवनमा एक विन्दु आउँछ जब तपाईंले निर्णय लिनुपर्छ। साथै जीवनमा अगाडि बढ्नु पर्छ। म विगत केही वर्षदेखि घोषणा गर्न चाहन्थेँ। म यो तपाईसँग कहिले साझा गर्न सक्छु भनेर म पर्खिरहेको थिएँ। म आज सबै प्रकारका क्रिकेटबाट सन्न्यास लिँदैछु । यद्यपि मैले यो सन्न्यास पहिले नै लिएको थिएँ। तर घोषणा गर्न सकेको थिइन । जे होस्, मैले केही समय सक्रिय क्रिकेट खेल्न सकेको थिइनँ ।”

टेस्टमा ह्याट्रिक गर्ने पहिलो भारतीय

हरभजन टेस्टमा ह्याट्रिक गर्ने पहिलो भारतीय हुन्। उनले २००१ बोर्डर गावस्कर ट्रफीमा अस्ट्रेलियाविरुद्ध ३ खेलमा ३२ विकेट लिएका थिए। हरभजन टि–२० विश्वकप (२००७) र एकदिवसीय क्रिकेट विश्वकप (२०११) को विजेता टोलीका सदस्य थिए।

अष्ट्रेलियाविरुद्ध डेब्यू

४१ वर्षीय हरभजनले भारतका लागि १०३ टेस्ट, २३६ एकदिवसीय र २८ टि–२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले सन् १९९८ मा अस्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । भज्जीले टेस्टमा ४१७, एकदिवसीयमा २६९ र टि–२० मा २५ विकेट लिएका छन् ।