१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उ मरेर गएपनि…



अ+ अ-

“पवन त मर्‍यो रे नि !” फोन उठाउनासाथ बहिनीले सुनाइहाली “हेलो” पनि राम्ररी भन्न नपाउँदै । माइतीघरको खबर सुनाउने माध्यम बनेकी छे मेरी बहिनी आजभोलि ।

कस्तो नमिठो चस्का पस्यो यो वाक्य कानमा पर्नेबित्तिकै । लगातार टेलिफोनको घण्टी बजेपछि हतार हतारमा फोन उठाएकी थिएँ । सुनेपछि मेरा भने वाक्य नै फुटेनन् । त्यसपछि बहिनीले एकोहोरो के-के बोलिरही तर मेरा कानले केही सुन्नै छाडे । कता-कता नराम्रो महसुस भयो । मन न हो, विगतको मैदानमा चर्न पुगिहाल्यो । रिसिभर हातमै बोकेर म त अतीतमा हराएछु ।

केही समयअगाडि भेट हुँदा उसको मानसिक सन्तुलन ठिक थिएन । सुन्न त सबैको मुखबाट सुनेकी थिएँ उसको अवस्थाका बारेमा तर आफैँले देख्दा चाहिँ फरक अनुभूति हुँदो रहेछ । उसका दाह्री बढेर जङ्गल भएको थियो । नमाझेर काई परेर पहेँलिएका दाँतहरू देख्दा वाकवाकी लागेको थियो । जिङ्ग्रिङ्ग परेको कपालमा ऊ अनौठो देखिएको थियो । मैला च्यात्तिएका कपडा लगाएको उसका सबै अङ्गहरू कटकटी मैलाले पत्र-पत्र छुट्टिएका टट्कारै देखिन्थ्यो । कहिले सुरको कुरा गर्ने कहिले बेसुरको गर्ने गर्दो रहेछ ।

पवित्राले “उसलाई चिनिस् दाइ, ऊ अनुपमा” भनेर मलाई देखाउँदा चिनेझैँ गरेर ङिच्च हाँसेको थियो ऊ । अलिकता मसक्क मस्केको पनि थियो चिनेर हो वा त्यसै हो । म त आश्चर्यमा परेँ । उसै त सबैले उसको हालतको जिम्मेवार मलाई ठहर्‍याएको हल्ला पहिल्यै सुनिसकेको थिएँ, त्यसैले त्यहाँ एकछिन पनि बसिरहनु उचित लागेन र त्यहाँबाट हिँडिदिएँ । हुन त मान्छेहरू “मर्नुभन्दा बहुलाउनु निको” भन्छन् तर मलाई उक्त भनाइ सही लागेको थिएन त्यो दिन । मृत्युभन्दा मुस्किल रहेछ बहुलाउनु ।

आज एक्कासि ऊ मरेको खबरले कस्तो-कस्तो लागेको छ । हातखुट्टा थरर कामेझैँ भयो । मुटु जोड-जोडले हल्लिएको आभास भएको छ । आफैँ दोषी भएको भान परेको छ । यसअघि पवनका बारेमा हजारौँ कुरा सुन्दा, उसलाई प्रत्यक्ष भेट्दा पनि सामान्य महसुस गर्ने मलाई आज पवन मरेको वाक्यले गहिरो चोट पुग्यो । मनभरि समवेदनाका ध्वनिहरू तरङ्गित भइरहेका छन् ।

पवनलाई त्यसरी एक्कासि बाटामा भेटेको दिन कता-कता पवन र उसको परिवारप्रति टिठ लागेको थियो । एक जना बहुलाउँदा पूरै परिवारमाथि सङ्कट आउने रहेछ । न त बहुलाएको व्यक्तिलाई कुरेर बस्न सम्भव छ, न त बेवास्ता नै गर्न सकिन्छ । त्यस्तै भएको थियो पवनको परिवारमा पनि । बाआमा बुढाबुढी भइसकेपनि उसका लागि सधैँ खटिनुपर्थ्यो । आफूले आराम गर्ने बेलामा पनि उसकै सुर्ता लिएर बस्नुपर्ने । छोराले डाक्टर बनेर बिरामीको सेवा गर्ने सपना पालिरहेका आमाबुबालाई छोराकै दिनरात उपचार गराउनुपर्दा कति औडाहा हुँदो हो ! सोचेरै मेरो त आङ जिरिङ्ग भयो ।

पवनकै कारण पवित्राले पनि समयमै घरजम गर्न सकिन । एक त उसको रेखदेख गर्ने जिम्मा उसैमाथि आइलाग्यो, आमाबुबा बुढाबुढी भइसकेका थिए । अर्को, परिवारमा मानसिक सन्तुलन बिग्रिएका सदस्य हुँदा कुटुम्ब नै नपाइने रहेछन् । कुरा चलेर केटी मनपराइसकेपछि पनि उसको दाइको मानसिक अवस्थाका बारेमा थाहा पाएपछि “बौलाहाको घरमा के नाता जोड्नु ?” भनेर पछि हट्दा रहेछन् । यो सुनेर मन नै खल्लो भएको थियो । ऊ त स्कुल पढ्दादेखि नै विवाहको सपना देख्ने गर्थी पढाइबाट छुटकारा पाउनको लागी । बल्ल पोहोरमात्र एकचोटि घरबार बिग्रिसकेका पुरुषसित उसको विवाह भएको थियो ।

पवन मभन्दा पढाइमा दुई ब्याच सिनियर थियो । कक्षाको पहिलो विद्यार्थी थियो । देख्नमा आकर्षक नभए पनि मेधावी विद्यार्थी भएकाले पूरै स्कुलमा उसलाई सबैले चिन्थे । उसकी बहिनी पवित्रा र म चाहिँ एउटै कक्षाका विद्यार्थी । मेरो ठुलो दाइले एसएलसी पास गरिसक्नुभएको थियो । सानी बहिनी, म, पवित्रा र पवन चारै जना सँगसँगै स्कुल जान्थ्यौँ । सँगसँगै फर्कन्थ्यौँ । स्कुलबाट मेरो घर नजिक पर्थ्यो । स्कुल जाँदा उनीहरूले नै हामीलाई बोलाउँथे । पवित्रा र म आफ्नै कुरामा मग्न हुन्थ्यौँ । होमवर्कका कुरा गर्थ्यौँ, टिचरहरूका कुरा गर्थ्यौँ, टिफिनका कुरा गर्थ्यौँ । पवन ध्यानपूर्वक सुनिरहन्थ्यो । पवित्राले उसलाई नामले नै बोलाउँथी, त्यसैले मैले पनि कहिल्यै उसलाई दाइ सम्बोधन गरिनँ । हाम्रो क्लासका भने सबैले उसलाई दाइ नै सम्बोधन गर्थे ।

उसकी बहिनी पवित्राचाहिँ पढ्नमा पटक्कै मन नलगाउने । यताउताका गफ गर्न भने सिपालु थिई ऊ । रमाइलो स्वभावकी भएकीले जिस्किरहने र हसाइरहने गर्थी । जतिखेर पनि “एसएलसी दिएपछि त विवाह गर्छु, अगाडि पढ्न सक्दिनँ” भन्थी । हामी नौ कक्षा पढ्दा पवन एसएलसी दिएर फुर्सदमा बसेका थिए । एकदिन स्कुल जाँदै गर्दा कुरै कुरामा पवित्राले भनी, “पवनले तिमीलाई साह्रै मन पराउँछ है । जतिखेर पनि तिम्रै कुरामात्र गरिरहन्छ । उसका हरेक चिजमा तिम्रै नामको पहिलो अक्षर लेखिएको हुन्छ ।”

सधैँ ठट्टा गर्ने उसको बानी थाहा पाएकाले मैले यसलाई पनि ठट्टा नै मानेँ । आफूले कहिल्यै पवनलाई त्यस्तो नजरले हेरेको भए पो मक्ख पर्नु ! यो कुराले मलाई केही फरक पनि परेन । पवनले एसएलसीमा डिस्टिङसनसहित सर्वोत्कृष्ट अङ्क ल्याएर पास गर्‍यो । स्कुलमा उसलाई बोलाएर फूलमाला र अबिरले सम्मान गरियो । उसले आफ्नो मन्तव्य राख्दा बारम्बार नजर मैतिर दौडाइरहेको थियो । यसलाई पनि मैले सामान्य नै लिएँ । राम्रो नतिजा आएपछि साइन्स पढ्न थालेको थियो । पछि डाक्टर पढ्न एमबिबिएसमा भर्ना भयो रे भन्ने मात्र थाहा छ । आफ्नै पढाइको प्रेसरले थिच्न थालेपछि मैले झनै केही वास्ता गर्नै छाडेँ । पवित्राले पनि एकैचोटिमा एसएलसी पास गर्न सकिनँ । त्यसपछि हाम्रो धार नै अलग्गियो । प्लस टु पढ्न भनेर म फुपूकोमा बस्न थालेँ । कहिले आफ्नो घर कहिले फुपूकोमा आवतजावतको क्रम चलिरह्यो ।

ब्याचलर पढ्दै गर्दा कलेजमा गौरवसँग भेट भयो । पढाइका केही सिनियर उनले मलाई औधी मन पराएका रहेछन् । सुरुमा नाइँ भने पनि बिस्तारै उनी मन पर्दै गए । हाम्रो मन मिल्यो, विचार मिल्यो, छुट्टिन नसक्ने भयौँ । भाग्यशाली नै रहेछौँ हामी, हाम्रो प्रेमले छिटै विवाहको रूप लियो । दाइको विवाह भइसकेको थियो । आमाबुवा मेरै विवाहका लागि उचित वर खोज्दै हुनुहुँदो रहेछ । गौरवको विवाहको प्रस्ताव घरबाट सजिलै स्वीकार भयो । हामी विवाह बन्धनमा बाँधियौँ । फुपूका छोराछोरी नभएकाले उहाँकै घरबाट विवाह गर्ने निधो भयो । यति छिटो विवाह हुन्छ भनेर मैले सोचेकै थिइनँ । लेखेको पाइन्छ भनेझैँ मेरो भाग्यमा गौरव नै लेखिएको रहेछ हामी साह्रै खुसी भयौँ । चाहेकै कुरा जो भएको थियो ।

पवनको घरमा भने यो कुराले तनाव निम्त्याएछ । घरबाटै विवाह भएको भए त सबैलाई थाहा भइहाल्थ्यो । केही न केही समाधान पनि निस्कन्थ्यो होला । अपर्झट फुपूको घरबाट विवाह हुँदा कसैलाई खबर पनि गरिएन । अकस्मात् मेरो विवाहको कुरा सुनेर पवनले असामान्य व्यवहार देखाउन थालेछ । सबैसँग रिस मात्र गर्ने, खाना नखाने, घरबाट दिनभरि बेपत्ता हुन थालेछ । चटक्कै पढ्न छाडेछ । उसले आमाबुबालाई मलाई मन पराउने कुरा पहिल्यै भनेको पनि रहेछ । पवित्रालाई झन् अगाडिदेखि नै थाहा थियो ।

“तेरो पढाई सक् । डाक्टर बन् अनि जोसँग भन्छस् त्यहीसँग तेरो बिहे गरिदिउँला । त्यो जाबो अनुपमा को नै हो र ? तँ डाक्टर बनिस् भने उनीहरू नै हामीलाई छोरी दिन आउँछन् । हामीले मागिरहनु पनि पर्दैन बुझिस् ?” उनीहरू बडो शानले पवनलाई यही भन्दा रहेछन् सधैँ ।

यसरी आफ्नो छोरालाई संसारकै सबैभन्दा क्षमतावान् देख्ने उसका आमाबाबुले कहाँ सोचेका थिए र समय उनीहरूले सोचेकै गतिमा चल्दैन भनेर ? त्यसमाथि पवनको प्रेम त खालि एकोहोरो थियो । त्यो पनि अव्यक्त । त्यसरी गन्तव्यहीन प्रेमको यात्रा गर्नु भनेर त मैले कहाँ भनेकी थिएँ ? हिम्मत गरेर प्रस्ताव गरेको भए पनि कुनै हालतमा स्विकार्ने थिइन तर पवनलाई सन्तोष भने अवश्य मिल्ने थियो । पहिल्यै नबताएको भनेर दुःख मनाउ गर्नुपर्ने अवस्था आउने नै थिएन । कसैलाई मन पराएको कुरा व्यक्तै गर्न नसक्नु त जीवनकै ठुलो भूल हो जो पवनबाट भइसकेको थियो ।

आफ्नो कुनै गल्तीविना नै म पवनको परिवारका लागि अपराधी भइदिएँ । मैले गर्दा उनीहरूको छोराको त्यो हालत भयो भनेर सबैसँग गुनासो गर्दा रहेछन् । यी सब कुरा चाहिँ मेरी आमा, भाउजू र बहिनीले सुन्न बाध्य हुँदा रहेछन् । बिस्तारै पवनको हालत बिग्रँदै गएको रहेछ । आफैँ डाक्टर पढ्दै गरेको मान्छे दिनरात बिरामी भएर डाक्टरकोमा धाउनुपरेको थियो । औषधि उपचारले पनि ठिक नहुने मनोरोगले उसलाई गाँजेको रहेछ ।

प्रेमविवाहपछि मेरो जीवनका खुसीहरू दोब्बरतेब्बर हुँदै थिए । विवाहको वर्षदिनमै एउटी पुतलीजस्ती छोरीकी आमा भएँ । गौरवले पनि पढाइमा राम्रो गर्दै गए । मैले स्नातकभन्दा अगाडि पढ्न नपाए पनि उनको प्रगतिमै खुसी थिएँ । उनले स्नातकोत्तर पनि गरिहाले । राम्रो प्रोजेक्टमा जागिर पाए । तीन वर्षपछि फेरि अर्की छोरी पनि जन्मिई । हाम्रो खुसीको संसार थियो । गौरव पहिलेदेखि नै साह्रै फरासिला थिए । प्रेमको अभिव्यक्ति गरिरहन्थे । कहिल्यै नरिसाउने उनको स्वभावले नै म उनीप्रति आकर्षित भएको थिएँ । रिसाइरहने अनि आफ्नो रिस अरूमाथि पोख्ने स्वभावका मानिस मलाई कहिल्यै मन परेनन् । आफ्नै दाजुले पनि विनाकारण भाउजूलाई दुःख दिएको देख्दा दाइलाई सम्झाउँथेँ । श्रीमतीसँग राम्रोसँग बोल्नुपर्छ भनेर भाउजूकै पक्ष लिन्थेँ ।

जत्ति नै पढाकु भए पनि पवनका केही स्वभावहरू अचम्मका लाग्थे मलाई । ऊ साह्रै अन्तर्मुखी थियो । खुलेर केही नबोल्ने, रमाइलो गर्नै नजान्ने व्यक्ति थियो । कुनै कुरामा रिस उठ्यो भने आँखै नदेख्ने उसको बानी पनि मलाई थाहा थियो । मेरो क्लासको एउटा साथीले मेरो ब्याग चलाएको सानो निहुँमा साथीसँग हात हालाहाल गरेको दृश्य आज पनि आँखाअगाडि आउँछन् । पवित्राले भन्थी “रिसको झोकमा घरका भाँडाकुँडा होस् कि अरू सामान, फुटाइहाल्ने गर्छ मेरो दाइ । घरका केही सामान सकुशल छैनन्, टुटेफुटेका छन् ।” यो सुनेर पनि होला ऊ मलाई कहिल्यै मन परेन । सामानहरूको जतन गर्ने बानी भएकाले पनि त्यस्ता व्यक्तिहरू मलाई उति मन पर्दैनन् ।

उसको मानसिक अवस्थाको कुरा सुनेर म कता-कता डराएकी थिएँ । सबैले यसको कारण मलाई नै ठहर्‍याएकाले पनि मेरो जीवनमा केही न केही असर पर्दै थियो । यस्ता कुरा गौरवले सुने भने कस्तो प्रतिक्रिया गर्लान् ? यहि प्रश्न दोहोरिन्थे । म चिन्तित थिएँ । आखिर पुरुषप्रधान समाजमा हुर्किएका एक पुरुष नै थिए गौरव पनि । लोग्नेमान्छेले जति ठुला कुरा गरे पनि प्रश्न उठाउन परेपछि उनीहरूका औँला आइमाई मान्छेतिरै ठडिन्छन् । घटनाका मुख्य आरोपी नारीलाई नै बनाइन्छन् किनकि उनीहरूले सोच्ने समयमा पुरुष नै भएर सोच्छन् । महिलाका दृष्टिकोणबाट समाज र घटनालाई हेर्न असमर्थ हुन्छन् । आफ्नै बुबाले अनि दाइले जुन कुरामा पनि आमा र भाउजूकै गल्ती देखाउनुहुन्थ्यो । आफ्नो केही गल्ती नभएझैँ पानीमाथिको ओभानो बन्नुहुन्थ्यो उहाँहरू ।

तसर्थ यो कुराले मलाई पनि भतभती पोलेको थियो । गाली त परको कुरा, कहिल्यै रिसले ठुलो स्वरसम्म नगरेका आफ्ना पतिले यो कुरा सुनेर के ठान्ने हुन् भनेर भित्रभित्रै उकुसमुकुसिएकी थिएँ म पनि । बुबा र दाइका व्यवहार सम्झेर पनि असामञ्जस्यमा परेँ । यो कुरा बताऊँ कि नबताऊँ ? बताएँ भने कतै मैले पनि पवनलाई मन पराएको भनेर पो सोच्ने हुन् कि ? अरूबाटै सुने भने मैले जानी-जानी कुरा लुकाएँ भनेर सोच्ने हुन् कि ? सुनेपछि उनको स्वभाव बदलिने पो हो कि ? मप्रतिको मायाँमा कमी पो आउने हो कि ? यी प्रश्नहरूले मलाई गिज्जाइरहे । निरुत्तर म विनागल्तीको सजाय भोगिरहन बाध्य भएँ । आफ्नो सुखद दाम्पत्य जीवनमा पनि कताकता काँडा रोपिएको आभास भइरह्यो । एउटा खल्लोपनको आभास भइरह्यो । द्विविधामै बिताएँ धेरै वर्षहरू ।

विवाहपश्चात् पनि पहिले कसम खाएअनुसार नै व्यवहार गर्थे गौरवले । अप्ठ्यारोमा कहिले पनि साथ छाडेनन् । दुई नानीहरू जन्मिँदा प्रसवपीडा मलाई भएको थियो तर उनलाई बढी दुखेको थियो रे ! सधैँ मेरा इच्छाहरूका बारेमा सोधिरहन्थे । मैले नजानु भनेका ठाउँमा इच्छा भए पनि गएनन् । नखानु भनेका चिजहरू कहिल्यै खाएनन् । विशेष उपलक्ष्यहरूमा सम्झेर उपहार दिएकै हुन्छन् । हरेक शनिवार मलाई र छोरीहरूलाई नै समय दिन्छन् । छोरीहरू मलाईभन्दा बाबालाई नै पछ्याउँछन् । सन्चो नभएर अँध्यारो मुहार भयो भने पनि थाहा पाइहाल्छन् । मैले गाह्रो भयो पनि भन्नु पर्दैन । मेरै लागि उनले कति त्याग गरेका छन् । यस्ता पुरुष श्रीमान्‌का रूपमा पाएर भाग्यशाली महसुस हुँदाहुँदै पनि कताकता नमज्जा त लाग्थ्यो पवनको अवस्था सम्झिँदा । म खुसी छु तर यही कारणले पवनको परिवार मलाई घृणा गर्छ । मैलै गर्दा उनीहरूको परिवार बिग्रेको सोच उसको परिवारले पालेका छन् । नारीको जीवन साह्रै मुस्किल रहेछ भन्ने आभास पलपल दिलाइरहन्छ ।

आज एक्कासि पवनको मृत्युको खबरले नराम्रो महसुस गराइरहेको छ । हुन त उसले मुक्ति पाएको छ यो सांसारिक दुःख र मोहबाट । आफ्नै शरीर र मनले दिएको पीडाबाट । आफूलाई सम्हाल्न नसक्नु उसको कमजोरी थियो । मानिसले जति आफ्नो बल, बुद्धि, ज्ञान, धनका कुरामा गर्व गरे पनि केही नहुने रहेछ । सम्हालिनु बढी महत्त्वपूर्ण रहेछ सुखमा होस् कि दुःखमा । नत्र त उही पवनको जस्तो हालत हुने रहेछ । हुन त ऊसँग प्रेम गरेर धोका दिएकी थिइनँ मैले न त उसलाई मन नै पराएको थिएँ । त्यसैले मेरो विवाहलाई त्यति ठुलो कारण बनाउन जरुरी थिएन । आफूलाई सम्हालेको भए उसले एकसेएक केटी पाउनेमा कुनै शङ्का थिएन । जीवन एक व्यक्ति वा एक चिजमा मात्र कहाँ अडिएको हुन्छ र ? सम्हालिनैपर्थ्यो उसले आफ्नो आमाबाबु, बहिनी र आफ्नै भविष्यका लागि । ससानो कुरामा डगमगाउने मान्छेले पढाइमा जत्ति अब्बल नतिजा ल्याए पनि जिन्दगीको परीक्षामा हार्ने रहेछन् । बरु कलेजका परीक्षामा फेल भएर केही हुँदैन जीवनको परीक्षामा उतीर्ण हुनुपर्छ । पढाइमा अरूलाई पछि पारे पनि पवनले कति सजिलै हारिदियो जीवनको परीक्षा ।

पवनको मृत्यु भयो र ऊसँगै मरे मेरा डरहरू पनि । गौरवले थाहा पाउँछन् कि भन्ने डर । अब गौरवले थाहा पाए पनि केही फरक पर्ने छैन मलाई किनकि पवनको भौतिक शरीर यो जगत्‌मा छैन । अब बताइएका कुराहरू सबै एकादेशका कथा हुनेछन् । उनले नै पनि विश्वास नगर्न सक्छन् । बढाइचढाइ गरिएको भनेर आशङ्का पनि गर्न सक्छन् । अब गौरवले थाहा पाउनु ठुलो कुरा रहेन तर एकबारको जीवन जिउन जान्नु चाहिँ एकदम ठुलो कुरा रहेछ । जीवनको कुनै कालखण्डमा पवनसँग मिसिएका थोरै यादहरू भने जीवितै रहनेछन्, ऊ मरेर गए पनि । उसको परिवारका लागि बाँचुन्जेल दोषी करार भइरहनेछु म, ऊ मरेर गए पनि ।