८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालीम



अ+ अ-

खोटाङ । विद्यालय तहमा अध्ययन गर्ने बालबालिकलाई देश र जनताप्रति जिम्मेवार, कामप्रति इमान्दार र अनुशासित बनाउने उद्देश्यले खोटाङका दुई विद्यालयमा राष्ट्रिय सेवा दल तालीम सञ्चालन भइरहेको छ । मुलुकमा भैपरी आउने विपद् व्यवस्थापनलगायतका काममा सघाउ पुर्याउने उद्देश्यका साथ नेपाल सरकारले विसं २०२२ बाट शुरु गरेको सो कार्यक्रमअन्तर्गत दिक्तेलस्थित सरस्वती मावि र पञ्च माविमा तालीमको आयोजना गरिएको हो ।

कक्षा–८ र ९ मा अध्ययनरत विद्यार्थी सहभागी गराएर सञ्चालन गरिएको तालीमको व्यवस्थापन खोटाङमा दिक्तेलस्थित नेपाली सेनाको गोरखनाथ गण मुडे ब्यारेकले मिलाएको छ । तालीममा दुवै विद्यालयका ३६/३६ छात्रछात्रा सहभागी छन् । तालीममा छात्रछात्राको चरित्र निर्माण गर्नु र उनीहरूमा भ्रातृत्व तथा एकताको भावना जागृत गरी आफ्नो काममा जिम्मेवारी लिने बानी बसाल्ने तथा प्राकृतिक प्रकोप तथा देशमा सङ्कट आइपरेमा सहयोग गर्ने विधिहरू सिकाइने जनाइएको छ । तालीममा सहभागी विद्यार्थीलाई ड्रिल, खुकुरी ड्रिल, एरोबिक्स, तेक्वान्दो, राष्ट्रभक्ति गीतमा नृत्य, भलिबल तथा फुटबल खेल आदि सिकाइने सरस्वती मावि तालीम केन्द्रका प्रशिक्षक नेपाली सेनाका हवल्दार आशिष गौतमले जानकारी दिनुभयो ।

युवा शक्तिलाई अनुशासित, कर्तव्यनिष्ठ र निष्ठावान बनाएर नेतृत्व विकास गर्दै दक्ष नागरिक बनाउने उद्देश्यले तालीमको आयोजना गरिएको मुडे ब्यारेकका गणपति प्रमुख सेनानी भोला पाण्डेले जानकारी दिनुभयो । “किशोरावस्थाका बालबालिका बढी कुलतमा फस्ने सम्भावना देखिन्छ”, उहाँले भन्नुभयो, “उनीहरुलाई सानैदेखि राष्ट्रियता, अनुशासन, एकताको भावना, आत्मविश्वास, नेतृत्व र क्षमता विकासलगायत व्यक्तित्व विकासमा सहयोग गर्न तालीमको आयोजना गरिएको हो ।”

राष्ट्रिय सेवा दलको कार्यक्रम शुरुदेखिनै नेपाली सेनाको प्रत्यक्ष निगरानी र प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको जनाइएको छ । यस कार्यक्रमबाट बढीभन्दा बढी युवापुस्ता लाभान्वित हुन सकून् भन्ने उद्देश्यले देशव्यापी रूपमा विस्तार गरिएको नेपाल सरकारले जनाएको छ ।

राष्ट्रिय सेवा दलमा भर्ना हुन कम्तीमा १४ वर्षदेखि बढीमा १६ वर्षसम्मका विद्यार्थी हुनुपर्ने जनाइएको छ । उचाइको हकमा छात्रको उचाइ पाँच फिट र छात्राको कम्तीम चार फिट १० इञ्च र तौल उमेरअनुसार हुनुपर्दछ । जिल्लामा गत असार १ गतेबाट शुरु भएको तालीम ७९ दिनको वार्षिक क्याम्प दिक्तेलमा तथा २१ दिनको सामूहिक क्याम्प पूर्वी राष्ट्रिय सेवा दल तालीम शिक्षालय याङ्शिला मोरङमा सञ्चालन हुने जनाइएको छ । राष्ट्रिय सेवा दलअन्तर्गत अहिले जुनियर डिभिजनका तालीम ७७ वटै जिल्लामा सञ्चालन भइरहेको छ ।

राष्ट्रिय सेवा दल तालीमले विद्यार्थीलाई अध्ययनमा रुचि तथा सामूहिक काममा एकजुट हुन थप ऊर्जा थपेको सरस्वती माविका समन्वय शिक्षक धनीराम राईले जानकारी दिनुभयो । चार वर्षदेखि लगातार खोटाङमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रमअन्तर्गत गत वर्ष १५ वटा माविमध्ये सरस्वती मावि उत्कृष्ट बनेको थियो ।

विसं २०७२ मा दिक्तेलस्थित दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूलबाट शुरु गरिएको उक्त कार्यक्रमबाट हालसम्म २५२ छात्रछात्रा प्रशिक्षित भइसकेका छन् । तालीममा सहभागी तीन उत्कृष्ट छात्रछात्राले विदेश भ्रमणसमेत गरिसकेका छन् ।

दिक्तेल बोर्डिङ स्कूलका कञ्चन राई र सरस्वती माविका नञ्जु राईले श्रीलङ्का तथा पञ्च माविका रामजी आचार्यले भारत भ्रमण गर्नुभएको जनाइएको छ । राष्ट्रिय सेवा दल तालीम लिएका छात्रछात्राले जिल्लामा हुने सार्वजनिक कार्यक्रममा स्वयंसेवकको महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको आयोजकले जनाएका छन् ।