• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

मच्छिम र काफलडाँडामा बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली छायो



म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिम र काफलडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र धवलागिरि गाउँपालिकाको सहयोगमा बुधबारदेखि बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । साविक ताकम गाविसको ८ नं वडामा पर्ने मच्छिमका ११२ र काफलडाँडाको ४२ घरमा बिजुली बलेको ताकम विद्युतीकरण उपभोक्ता समितिका सचिव तेजेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार यसअघि ताकम, हिलापोखरी र शिवाङका ३५० घरमा बिजुली बलिसकेको छ । बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली छाएको काफलडाँडाका बालकृष्ण आचार्यले बताए । काफलडाँडाका बासिन्दाले विद्युत् प्राधिकरणका प्राविधिक र उपभोक्ता समितिका पदाधिकारीलाई सम्मान गरेका थिए। उज्यालोका साथै विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको स्थानीय शिक्षक हेमराज शर्माले बताए ।

खाना पकाउन दाउराको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न थालेका छन् । फर्निचर, ब्लक, राइसमिल, कुखुरापालन सञ्चालन गर्न सकिने भएको छ । यसअघि उज्यालोका लागि पेल्ट्रिक सेट, सौर्य उपकरण र मट्टितेलको टुकी प्रयोग गर्दै आएका थिए । ताकम विद्युतीकरण योजनामार्फत ५५२ घरमा विद्युतीकरण गर्ने लक्ष्य थियो । आरखोला टोल र छिटपुट ४२ घरबाहेक वडाका सबै बस्तीमा विद्युतीकरण भएको सचिव थापाले बताए । आरखोलामा पनि बिहीबार बिजुली बाल्ने तयारी भएको छ ।

यसअघि धारापानीमा २०१ घरमा गत वर्ष गाउँपालिकामै पहिलोपटक विद्युतीकरण भएको थियो । ताकम विद्युतीकरण धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको गौरवको आयोजना भएको वडाध्यक्ष कलानिधि सुवेदीले बताए । विद्युत् प्राधिकरणले केन्द्रीय लाइन विस्तार, पोल गाड्ने, ट्रान्सफर्मर जडान, ढुवानी गरेको थियो । गाउँपालिकाबाट गत आर्थिक वर्षमा विनियोजन भएको रु ८० लाखमध्ये ५७ लाख खर्चेर उपभोक्ता समितिले ८८ किलोमिटर तार खरीद गरेका थिए ।

धवलागिरि गाउँपालिकामा विद्युतीकरणका लागि सङ्घीय सरकारले गत वर्ष विनियोजन गरेको रु चार करोड ५० लाख बजेटबाट दुई ठेकेदार कम्पनीलाई ठेक्का दिएको थियो । पहिलो चरणमा ढुङ्गाना निर्माण सेवा र दोस्रो चरणमा आचार्य निर्माण सेवाले ठेक्का पाएका थिए । दुवै कम्पनीमार्फत ताकम, हिलापोखरी, शिवाङ, काफलडाँडा र मच्छिममा ४१७ पोल गाड्ने, पाँच थान ट्रान्सफर्मर ढुवानी गर्ने र करीब ६७ किलोमिटर मुख्य तथा सहायक लाइनको तार तानिएको प्राधिकरणको बेनी वितरण केन्द्रका इञ्जिनीयर हेमराज चापागाईंले बताए ।