काठमाडौं । वर्षौंदेखि अवरुद्ध रहेको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्डअन्तर्गत हेटौंडाको हटिया क्षेत्रमा टावर निर्माण कार्य पुनः अघि बढेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा सरोकारवालासँग सहमति जुटेपछि निर्माणले गति लिएको हो।
मन्त्री श्रेष्ठले यसै साता प्रभावित जग्गाधनी तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै लामो समयदेखि जारी मुआब्जा विवाद टुंग्याउनुभएको थियो। त्यसपछि जग्गाधनीले मुआब्जा स्वीकार गरेसँगै एक साताभित्रै सात वटा टावरको जग खन्ने र कङ्क्रिटिङ गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ।
सन् २०१२ देखि सुरु भएको उक्त प्रसारण लाइन परियोजनाअन्तर्गत हटिया क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा काम वर्षौंदेखि अलपत्र परेको थियो। अब निर्माण प्रक्रिया अघि बढेसँगै परियोजना सम्पन्न हुने अपेक्षा बढेको छ।
नेपालको विद्युत् प्रणालीको मेरुदण्डका रूपमा हेरिएको यो प्रसारण लाइन सम्पन्न भएपछि विद्युत् आपूर्ति प्रणाली अझ विश्वसनीय बन्नुका साथै विद्युत् निर्यातका लागि आवश्यक पूर्वाधार पनि तयार हुने विश्वास गरिएको छ। यसले निजी क्षेत्रलाई समेत ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसै परियोजनाको पूर्वी खण्डअन्तर्गत ढल्केबर–इनरुवा खण्ड भने तीन वर्षअघि नै सम्पन्न भइसकेको छ।










