९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरेखानीका सबै किसान मौरी पालनमा आकर्षित



अ+ अ-

बागलुङ । गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य रु एक हजार ५०० छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् । मह बेचेर यहाँका किसानले वार्षिक रु दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । गाउँघरमा खपत भएर रहेको मह किसानले बजार पुर्याउँछन् । “मौरीपालन यहाँको पुरानै पेशा हो, गाउँभरिमा ५० भन्दा बढी मौरी घार छन्”, गौतमले भने ।

परम्परागत मुढे घार छाडेर किसानले आधुनिक घारमा मौरीपालन गरेका छन् । आधुनिक घारमा बढी र राम्रो मह उत्पादन हुन्छ । मौरीपालनमा किसानको आकर्षण देखेर गलकोट नगरपालिकाले गत आवमा अनुदानमा आधुनिक घार उपलब्ध गराएको थियो ।अनुदान, तालीम पाएमा मौरीपालन थप विस्तार गर्न सकिने किसान बताउँछन् । बरेखानी मौरीपालनका लागि उत्तम भूगोल र हावापानी भएको गाउँ हो । वर्षको दुई याममा मह तयार हुने किसान पुनाराम गौतमको भनाइ छ । उनका अनुसार असोज–मङ्सिर र चैत–जेठमा मह काढ्ने बेला हुन्छ ।

उत्पादन गर्न सके महलाई बजारको खाँचो छैन । हटिया, हरिचौरलगायत बजार क्षेत्रबाट बढी माग आउँछ । विदेशमा समेत कोसेलीका रूपमा बरेखानीको मह पुग्ने गरेको छ । “कुनै मिसावट नभएको शुद्ध र स्वादिष्ट मह बेच्छौँ”, पुनारामले भने । मौरीपालन थप विस्तार गर्ने उनको योजना छ । ‘तरकारी गाउँ’ ले चिनिने बरेखानीलाई मौरीपालनले अर्को चिनारी दिएको छ । गाउँका किसानको मुख्य पेशा तरकारी खेती हो । झण्डै ५० रोपनीमा व्यावसायिक तरकारी खेती छ । बरेखानीमा रहेका आठ घरधुरीमा स्थायी बसोबास गर्नेको सङ्ख्या त्यस्तै २२/२४ छ ।

जनसङ्ख्या र भूगोलले सानो भए पनि बरेखानी उत्पादनका हिसाबले अगाडि छ । त्यहाँका किसानले २५ वर्षअघि देखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । प्रत्येक घरले वार्षिक पाँच÷सात लाख रुपैयाँ तरकारी बेचेरै कमाउँछन् । किसानले पशुपालनलाई पनि अँगालेका छन् । कमाइको स्रोत भैँसीको दूध पनि हो । युवापुस्ता शहरी क्षेत्र र विदेश लागेपछि पाका किसानले गाउँको कृषि धानेका छन् । अधिकांश घरमा श्रीमान्÷श्रीमतीमात्र छन् । शरीर र स्वास्थ्यले साथ दिउञ्जेल कृषिमै रमाउने किसानको सोच छ ।

कठिन भूगोलका कारण कृषि उपजको बजारीकरणमा भने किसानले समस्या झेल्दै आएका छन् ।गाउँदेखि दुई किलोमिटर तलसम्म सडक पुगे पनि त्यो नियमित चल्दैन । दैनिक डेढ घण्टा तरकारी बोकेर मध्यपहाडी लोकमार्गसम्म पुर्याउनुपर्ने बाध्यता छ । गाउँको मुख्य समस्या सडक नै रहेको स्थानीयवासी चन्द्रमणि गौतमले बताए । “यातायातको सुविधा नहुँदा कृषि उपज बजार लैजान समस्या छ”, उनले भने । नगरपालिकाले बरेखानी जोड्ने सडकका लागि चालु आवमा रु चार लाख ५० हजार बजेट छुट्याएको छ । उक्त बजेट मर्मतमै ठिक्क हुने स्थानीयवासी बताउँछन् ।