काठमाडौँ । प्रतिनिधि सभाका सभामुख माननीय डोल प्रसाद (डीपी) अर्यालसँग संसदीय रिपोर्टिङमा संलग्न पत्रकारहरूको टोलीले आज भेटघाट गरेका छन् ।
भेटका क्रममा पत्रकारहरूले संसद भवन प्रवेश गर्दा गेट फरक भएका कारण भोग्नुपरेको प्राविधिक झन्झट र फोटो खिच्ने क्रममा हुने सुरक्षा कडाइले समाचार सङ्कलनमा अवरोध सिर्जना गरेको गुनासो राखेका थिए ।
उनीहरूले अन्तर्राष्ट्रिय अभ्यास र प्रेस स्वतन्त्रताको भावनाअनुरूप संसद् परिसरभित्र पत्रकारहरूका लागि सहज र मर्यादित कार्यवातावरण सुनिश्चित गर्न जोड दिएका थिए ।
पत्रकारहरूको गुनासो सम्बोधन गर्दै सभामुख अर्यालले हालको संसद् भवन अस्थायी संरचनामा रहेकाले केही व्यावहारिक कठिनाइ उत्पन्न भएको बताउनु भयो । उहाँले नयाँ र स्थायी संसद् भवन निर्माण सम्पन्न भएपछि भौतिक संरचनाका कारण देखिएका यस्ता सबै समस्याहरू पूर्ण रूपमा समाधान हुने बताउनु भयो ।
स्थायी भवन नबनुन्जेलसम्मका लागि हालको समस्या समाधान गर्न आफू तत्पर रहेको उल्लेख गर्दै सभामुख अर्यालले बताउनु भयो, ‘संसद् र प्रेसको सम्बन्ध लोकतन्त्रको सुदृढीकरणका लागि अपरिहार्य छ । त्यसैले, तत्कालका लागि प्रवेशद्वार र फोटो खिच्ने प्रक्रियालाई कसरी व्यवस्थित र सरल बनाउन सकिन्छ भन्नेबारे संसद् सचिवालयका पदाधिकारी र सुरक्षा निकायसँग आवश्यक समन्वय गरिनेछ ।’
सभामुख अर्यालले संसदीय गतिविधिहरूको पारदर्शी र प्रभावकारी रिपोर्टिङका लागि पत्रकारहरूको पहुँचलाई सहज बनाउन र आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।









