काठमाडौँ। पाकिस्तानी सेना प्रमुख असिम मुनिरको नेतृत्वमा रहेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल तेहरान पुगेको छ ।
यस भ्रमणको मुख्य उद्देश्य संयुक्त राज्य अमेरिका र इरानबीचको वार्ता र मध्यस्थता प्रयासलाई अगाडि बढाउनु रहेको पाकिस्तानी सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सकाअनुसार मुनिरसँगै गृहमन्त्री मोहसिन नकवी र अन्य वरिष्ठ अधिकारीहरू पनि रहेका छन् ।
उनीहरू जारी मध्यस्थता प्रयासको एक हिस्साको रूपमा इरानी राजधानी पुगेका हुन् । आधिकारिक स्रोतहरूले सिन्ह्वालाई जानकारी दिएअनुसार, इस्लामावादले अमेरिका र इरानबीचको वार्तालाई सहज बनाउन आफ्नो भूमिकालाई तिब्र बनाएको छ ।
प्रतिनिधिमण्डलले दुई पक्षबीचको संवादलाई अगाडि बढाउन महत्वपूर्ण सन्देशहरू पु¥याउने लक्ष्य राखेको छ । प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि, सुरक्षा संस्थाका सदस्य र प्राविधिक विज्ञहरू पनि समावेश छन्, जसले यस संलग्नताको बहुआयामिक प्रकृति झल्काउँछ ।
यो भ्रमण इस्लामावादमा यसअघि भएका वार्ताहरू र वाशिङ्गटन र तेहरानबीचको सम्भावित अर्को चरणको वार्ताको व्यवस्था गर्ने निरन्तर प्रयासका बीचमा भएको हो।
यसले यस क्षेत्रमा शान्ति र स्थिरताका लागि पाकिस्तानको कुटनीतिक सक्रियतालाई थप प्रमाणित गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल











