काठमाडौँ। साविक विजेता निरज तामाङ र टंकबहादुर कार्की सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेकोको फाइनलमा प्रवेश गरेका छन् ।
रोयल नेपाल गल्फ क्लवमा आज भएको सेमिफाइनलमा नेपाल नम्बर एक निरजले चौथो वरियताका सञ्जय लामालाई सहजै ६/५ ले हराए । नवौं होलको समाप्तीमा निरजसँग दुई होलको अग्रता थियो । यसपछि दशौं, एघारौँ, बार्हौं र तेर्हौं होल लगातार जित्दै निरजले जित सहजै आफ्नो पक्षमा पारे ।
सेमिफाइनलमा तेर्हौ होलमा जित निकालेका निरजले क्वाटर फाइनलमा नवौं सिडेड रामे मगरलाई २/१ ले हराएका थिए । अर्को सेमीफाइनल खेलमा छैटौं वरियताका अनुभवी रवि खड्कालाई १० औं वरियताका टंकबहादुर कार्कीले ३/२ ले माथ दिँदै पहिलो पटक म्याच प्लेको फाइनलमा प्रवेश गरेका छन् । नौ होलको समाप्तीमा टंकले तीन होलको अग्रता बनाइसकेका थिए । तर यसपछि रविले दशौं र एघारौँ होल जित्दै अग्रतालाई एक होलमा घटाए । तर यसपछि पुनः टंक खेलमा हाबी हुँदा १६औं होलमा खेल जिते ।
यसअघि टंकले क्वाटर फाइनलमा दोस्रो वरियताका भुवन नगरकोटीलाई २/१ ले हराएका थिए। भुवन लगातार चौथो उपाधि जित्ने दाउमा थिए । जसलाई टंकले पूरा हुन दिएनन् । उपाधिका लागि निरज र टंकबीच भोलि ३६ होलको प्रतिष्पर्धा हुनेछ । यस्तै तेस्रो स्थानका लागि रवि र सञ्जयबीच १८ होलको खेल हुनेछ ।
आजै भएको अन्य क्वाटर फाइनलमा रविले तेस्रो वरियताका दिनेश प्रजापतिलाई प्ले अफको पहिलो होलमा हराएका थिए। यस्तै अर्को क्वाटर फाइनलमा सञ्जय लामाले पाँचौं वरियताका जयराम श्रेष्ठलाई १/० ले पराजित गरेका थिए ।
तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अर्डर अफ मेरिटका शिर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिष्पर्धा गरेका छन् । प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको छ। विजेताले १ लाख प्राप्त गर्नेछ । दोस्रो,तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमशः ७५ हजार, ५६ हजार र ४२ हजार प्राप्त गर्नेछन् ।
यस्तै क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरू रामे, जयराम, दिनेश र भुवनले १८ हजार प्राप्त गर्नेछन् । पहिलो चरणबाट बाहिरिएका सूर्यप्रसाद शर्मा, भुवनकुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धन बहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार प्राप्त गर्नेछन् । –न्युज एजेन्सी नेपाल











