१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

भत्ताकै भरमा राउटे

भत्ताकै भरमा राउटे
अ अ+ अ-

डडेल्धुरा । डेढ दशकअघि डडेल्धुराको जोगबुढाबाट झरेका किणीदेवी राउटे कञ्चनपुरको भीमदत्तनगरपालिका–९ खल्लामसेटीमा चुलोचौको गरेर दिन बिताइरहनुभएको छ ।

कुनै बेला जङ्गलको कन्दमूल, गिठ्ठा, तरुलका भरमा जीवनयापन गर्ने राउटे समु्दायकी किणीदेवी बस्तीमा आएयता गाउँलेसँग सुमधुर सम्बन्ध रहेकोप्रति हर्षित हुनुहुन्छ । “जङ्गलबाट आएको भनेर हेला गर्छन् कि भन्ने पीर थियो”, उहाँले भन्नुभयो,“अब त खेतीपाती र मजदूरी गरेरै दिन बितिरहेको छ ।”

उहाँले समाजमा बसोवास थालेसँगै विभिन्न आयमूलक काम र मजदूरीमा लाग्न स्थानीयवासीले प्रेरित गर्ने गरेको बताउनुभयो ।“दुई छोरा भारतको लोहाघाटमा मजदूरी गर्छन्”, उहाँले भन्नुभयो, “श्रीमान् गाउँघरमै ज्याला मजदूरी गर्नुहुन्छ ।”

कञ्चनपुरमा राउटे समुदायको तीन परिवारको मात्रै बसोवास रहेको छ । यहाँ बसोवास गर्दै आएका राउटे समुदायका अधिकांश पुरुष अहिले जीवन निर्वाह गर्न मजदूरी गरिरहेका छन् । “मजदूरीको पैसाले सामान्य खर्च चलेपनि हाम्रो घरको खर्च मुख्य रुपमा सरकारबाट पाइने राउटे भत्ताबाट टरेको छ”, किणीदेवीले रासससँग भन्नुभयो,“नियमित रुपमा भत्ता पाइरहेकै हुनाले घरको दाल, चामल चलेको छ ।”

पछिल्लो समय बस्ती छेउछाउका वन सामुदायिक वनमा रुपान्तरण भएपछि काठको भाँडाकुडा बनाउन पनि समस्या हुने गरेको राउटे समुदायको भनाइ थियो । “हाम्रो घरमा चार जनाले प्रतिव्यक्ति रु दुई हजारका दरले भत्ता पाउछौं”, उहाँले भन्नुभयो,“भत्ता नपाउने भए फेरि जङ्गल पस्नुपर्ने बाध्यता आउने अवस्था थियो ।”

सामाजिक सुरक्षा भत्ताले घरखर्च चलाइरहेका यहाँका राउटे समुदायका लागि केही समयअघि सांसद विकास कोषको रकमबाट प्रतिनिधीसभा सदस्य डा दिपकप्रकाश भट्टले भीमदत्तनगरपालिका–९ बटेनामा करबीर राउटेलाई दुई कोठे पक्की घर समेत निर्माण गरिदिनुभएको वडा कार्यालयले जनाएको छ ।

स्थानीय कमला राउटेले बस्तीमा घर बनाउन मात्रै जग्गा रहेको दुखेसो पोख्दै खानेपानीको निकै समस्या हुने गरेको बताउनुभयो । “पानी नहुँदा खेतमा पनि अन्न फलाउन गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “राउटेलाई आयमूलक कामका लागि सीपमूलक तालीम पनि दिनुपर्यो ।” उहाँले राउटे समुदायका बालबालिका अझै विद्यालय जान नसकिरहेको बताउनुभयो ।

“विद्यालय जानुपर्छ भन्ने चेतना नै अझै फैलाउन सकिएको छैन”, उहाँले भन्नुभयो,“केही वर्ष विद्यालय गएका बालबालिका अहिले गाउँमा त्यसै डुल्दैछन ।” दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको खल्लामसेटी बसाइँ सरेका ६७ वर्षीय जयलाल राउटेले केही समयअघि भत्ता नियमित नआउँदा समस्या भएको बताउनुभयो ।

“भत्ता केही महिना ढिलो आउँदा घरमा छाक टार्नसमेत समस्या भयो”, उहाँले भन्नुभयो,“पैसा नहुँदा पसलमा उधारोमा सामान माग्न पनि गाह्रो लाग्छ ।” विसं २०५८ मा बसाइँ सरी यहाँ आएका बड्सिंह राउटेले पनि परिवारको खर्च भत्ताले चलेको बताउनुभयो । “पाएभने गाउँघरमै ज्यालामजदूरी पनि गर्छु”, उहाँले भन्नुभयो, “सरकारले लोपोन्मुख जातीलाई अझै सुविधा दिनुपर्छ ।”