१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक २ हप्तामा धरहराको एक तला थपिने



अ+ अ-

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त धरहराको पुननिर्माण तिव्रगतिमा अगाडी बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरा पुननिर्माणको काम तिव्र गतिमा अगाडी बढेको बताउनुभएको हो । तेस्रो तलासम्म ढलानका काम सम्पन्न भएको धरहराको अहिलेसम्म ३२ प्रतिशत काम सकिएको छ । अहिलेसम्म अण्डरग्राउण्डको काम भएकाले बाहिर नदेखिएपनि अब हरेक २ हप्तामा १ तला बनाउने गरि काम अगाडी बढेको उहाँले बताउनुभयो ।

गोश्वरा हुलाक कार्यालय र राष्ट्र बैंकको टक्सार कार्यालय स्तानान्तरण गर्न समय लागेपनि काममा सन्तोषजनक प्रगति भएको उहाँले बताउनुभयो । हुलाक कार्यालयका लागि प्रिक्याब भवन निर्माण गरिएको र राष्ट्र बैंकलाई नेपाल औषधि लिमिटेको कम्प्लेक्समा भवन निर्माण गरि स्तानान्तरण गरिएको उहाँले बताउनुभयो । ज्ञवालीले स्थानीयहरुको माग अनुसार उत्तरतर्फ सडक खेलिएको र मुल सडकमा जोड्ने गरि गुरुयोजना स्वीकृत भएको बताउनुभयो ।

ज्ञवालीलले बैशाखम्म सम्पन्न गर्नेगरि रानीपोखरी पुननिर्माणको काम अगाडी बढेको बताउनुभएको छ । रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिर कुन शैलीमा निर्माण गर्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा समस्या आएको बताउँदै उहाँले विज्ञ लगायत सरोकारवालाहरुको सल्लाह अनुसार ग्रन्थकुट शिखर शैलीमा निर्माण गरिने बताउनुभयो । पोखरीको पिँधमा त्यही भएको कालीमाटी प्रयोग गरिएको उहाँले बताउनुभयो । पुस मसान्त भित्र पोखरीको पिँधको काम सकिने, मन्दिर र वरिपरिको काम बैशाखभित्र सम्पन्न हुने उहाँले बताउनुभयो ।

प्रमुख ज्ञवालीले पुननिर्माण गर्नुपर्ने ७ हजार ५५३ विद्यालय भवनमध्ये ५ हजार ३४८ भवन निर्माण सम्पन्न भएको, १८ सय १६ पुननिर्माणको क्रममा रहेको र ३८९ भवन पुननिर्माण हुन बाँकी रहेको बताउनुभयो ।

विद्यालय भवनहरुको पुर्ननिर्माण उल्लेख्य देखिएपनि कक्षाकोठाको भने संख्यात्मक रुपमा कम निर्माण भएका छन् । धेरै कक्षाकोठा बनाउनुपर्ने अवस्था आएकाले स्रोत व्यवस्थापनमा समस्या देखिएको र अर्को वर्ष थप गर्ने गरि ४ कोठा माग भएका ठाउँमा २ वा ३ वटा कक्षाकोठा निर्माण गरिएको उहाँले बताउनुभयो ।

१ हजार १९७ स्वास्थ्य संस्थामध्ये ६६५ स्वास्थ्य संस्थाको पुर्ननिर्माण सम्पन्न भएको, १४९ पुर्ननिर्माणको क्रममा रहेको र ३८३ पुर्ननिर्माण सुरु हुन बाँकी रहेको उहाँले बताउनुभयो । विद्यालय र स्वास्थ्य संस्थाको लागि स्रोत व्यवस्थापन गर्दै जानुपर्ने भएकाले एकैपटक काम सम्पन्न गर्न नसकिएको उहाँले बताउनुभयो ।

निजी आवास पुर्ननिर्माण तर्फ ८ लाख २० हजार ६९१ लाभग्राहीमध्ये ७ लाख ७९ हजार ८५६ सँग अनुदान सम्झौता भएको उहाँले बताउनुभयो । अनुदान सम्झौता भएका मध्ये ७ लाख ६९ हजार ६१६ ले पहिलो किस्ता लगेको र ४ लाख ८१ हजार ५६ घरको निर्माण सम्पन्न भएको छ ।

४१५ सरकारी भवनमध्ये ३५१ पुर्ननिर्माण सम्पन्न भएको, ५७ पुर्ननिर्माणको क्रममा रहेको र ७ वटा भवनको पुर्ननिर्माण नै बाँकी रहेका छन् । त्यसैगरि ३८३ सुरक्षानिकायका भवन पुर्ननिर्माण गनुपर्नेमा १९४ वटा सम्पन्न भएको, २२ वटा पुर्ननिर्माणको क्रममा रहेको र १६७ वटाको पुर्ननिर्माण सुरु नगरिएको उहाँले बताउनुभएको छ । सरकारको निर्णय अनुसार बाँकी रहेका भवनहरु अब नियमित कार्यक्रम अन्तर्गत पुननिर्माण गरिने छन् ।

७५३ पुरातात्विक सम्पदाहरुको पुर्ननिर्माण गर्नुपर्नेमा ३८७ वटा पुर्ननिर्माण सम्पन्न भइसकेका छन् । १२३ वटा पुर्ननिर्माणको क्रममा छन्, भने २४३ वटाको पुर्ननिर्माण सुरु भएको छैन् । त्यसैगरि क्षति भएका १३२० गुम्बाहरुको मर्मत तथा निर्माणका लागि ३७ करोढ ८९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । भारतीय एक्जिम बैंक तर्फको बजेट रकम स्रोतान्तरको लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।