१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैको भावनालाई समेटेर काम गर्नेछुः सभापति देउवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र समावेशी सिद्धान्तलाई पूर्णरुपमा आत्मसात गरेर पार्टी सभापतिको हैसियतले सबैको भावनालाई समेटेर अघि बढ्ने बताउनुभएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्न पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा उहाँले आफूलाई विश्वास गरेर मतदान गर्ने सबैलाई धन्यवाद दिदै मतदानमा आफूलाई भोट नहाल्नेको पनि प्रतिनिधित्व गरेर पार्टी सञ्चालन गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पार्टी सञ्चालनका लागि सबैको सहयोगको अपेक्षासमेत गर्नुभयो ।

सो अवसरमा उहाँले कांगे्रसको १४औँ महाधिवेशनका क्रममा वडा तहदेखि केन्द्रसम्म भएको प्रजातान्त्रिक प्रक्रिया र प्रयोग नेपालका अन्य पार्टीमा विरलै भएको बताउँदै सच्चा मानेमा कांग्रेस प्रजातान्त्रिक पार्टीका रुपमा स्थापित भएको र जनतामा भिजेको उल्लेख गर्नुभयो । आगामी दिनमा हुने तीनै तहका निर्वाचनमा कांग्रेस विजयी भएर सबैभन्दा ठूलो पार्टी बन्ने उहाँको भनाइ थियो ।

कांग्रेसले सफलतापूर्वक सबै तहका निर्वाचन सम्पन्न गरी सबै संरचनामा तल्लो तहदेखि नै महिलाको सहभागिता सुनिश्चित गरिएको अवगत गराउँदै सभापति देउवाले यस्तो समावेशी व्यवस्था सायदै अरु पार्टीमा नरहेको उल्लेख गर्नुभयो । उहाँले भोलिका दिनमा पार्टीमा महिला मतदाताको सङ्ख्या वृद्धिमा पनि ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गर्नुभयो ।

देउवाले महिलाका साथै आदिवासी, जनजाति, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यकलगायत सबैको सहभागिता सुनिश्चित गरेर कांग्रेस समावेशी पार्टी बनेको बताउनुभयो । साथै उहाँले विभिन्न चुनौतीका बाबजुद वडातहदेखि केन्द्रसम्मका अधिवेशन सम्पन्न गरेकामा पार्टीको केन्द्रीय निर्वाचन समितिलाई धन्यवाद दिनुभएको थियो ।

समारोहमा महाधिवेशनबाट नवनिर्वाचित १३४ पदाधिकारी र सदस्यलाई समिति संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो । समारोह लगत्तै आजै पार्टीको केन्द्रीय कार्यसमितिको   बैठक बोलाइएको छ ।