२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०० युरोमा पिकासो जित्ने अवसर



तस्बिर: एपी
अ+ अ-

पेरिस। अल्जाइमर अनुसन्धानका लागि कोष जुटाउने उद्देश्यले फ्रान्समा आयोजना गरिएको एक विशेष राफलमार्फत केवल १०० युरोमा करोडौँ मूल्यको पाब्लो पिकासोको चित्रकला जित्ने अवसर प्रदान गरिएको छ । यसले कला र परोपकारलाई अनौठो ढङ्गले जोडेको छ ।

मङ्गलबार पेरिसस्थित क्रिस्टीको लिलामी घरमा हुने ड्रबाट एक भाग्यशाली व्यक्तिले करिब १० लाख डलर मूल्यको पिकासोको चित्रकला आफ्नो बनाउन सक्नेछन् । आयोजकहरूले ‘१०० युरोमा एक पिकासो’ नाम दिइएको यो अभियानको तेस्रो संस्करण सञ्चालन गरेका हुन् ।

यसपटक राफलमा राखिएको चित्र ‘हेड अफ अ वुमन’ शीर्षकको हो, जसलाई पिकासोले सन् १९४१ मा कागजमा गौचे माध्यम प्रयोग गरी सिर्जना गरेका थिए । यस अभियानबाट उठ्ने रकम पूर्ण रूपमा अल्जाइमरसम्बन्धी अनुसन्धानमा खर्च गरिनेछ ।

यसअघि सन् २०१३ मा आयोजित पहिलो राफलमा अमेरिकाको पेन्सिलभेनियाका एक व्यक्तिले ‘म्यान इन द ओपेरा ह्याट’ शीर्षकको चित्र जितेका थिए । उक्त चित्र पिकासोको क्युबिस्ट कालखण्ड (सन् १९१४) को प्रतिनिधि कृति हो । त्यसैगरी, सन् २०२० मा आयोजित दोस्रो राफलमा ‘स्टिल लाइफ’ नामक चित्र इटालीकी एक लेखापालकी आमाले जितेकी थिइन्, जुन उनका छोराले क्रिसमस उपहारस्वरूप टिकट किनिदिएका थिए ।

सन् १९२१ मा बनाइएको उक्त ‘स्टिल लाइफ’ चित्र अर्बपति कला सङ्कलक डेभिड नहमादबाट खरिद गरिएको थियो । नहमादले पिकासो जीवित भएको भए यस्ता परोपकारी प्रयोजनका लागि आफ्नो कृति प्रयोग गर्न सहमति जनाउने विश्वास व्यक्त गरेका थिए । पिकासोको सन् १९७३ मा निधन भएको थियो ।

यो राफल अल्जाइमर रिसर्च फाउन्डेसनद्वारा आयोजना गरिएको हो, जुन पेरिसका प्रमुख सार्वजनिक अस्पतालमध्ये एकसँग आबद्ध संस्था हो । सन् २००४ मा स्थापना भएको यो संस्था हाल फ्रान्समा अल्जाइमरसम्बन्धी अनुसन्धानका लागि निजी क्षेत्रबाट सबैभन्दा ठूलो लगानीकर्ता बनेको छ ।

आयोजकहरूले अनलाइन प्लेटफर्ममार्फत टिकट सङ्ख्या एक लाख २० हजारमा सीमित गरेका छन् । सबै टिकट बिक्री भएमा कुल एक करोड २० लाख युरो (करिब एक करोड ४० लाख डलर) सङ्कलन हुने अनुमान गरिएको छ । यसमध्ये १० लाख युरो चित्रको स्वामित्व राख्ने अन्तर्राष्ट्रिय आर्ट डिलरसिप ओपेरा ग्यालरीलाई प्रदान गरिनेछ ।

यसअघि सम्पन्न दुई संस्करणबाट सङ्कलित रकम लेबनानमा सांस्कृतिक कार्यक्रम र अफ्रिकामा पानी तथा सरसफाइ परियोजनामा खर्च गरिएको थियो, जसबाट एक करोड युरोभन्दा बढी रकम उठाइएको आयोजकहरूले जनाएका छन् ।

कला, भाग्य र सामाजिक उत्तरदायित्वलाई जोड्ने यस अभियानले विश्वभरका सहभागीलाई आकर्षित गरिरहेको छ र सानो लगानीमा ठूलो कृति जित्ने सम्भावनासँगै मानवीय सेवामा योगदान गर्ने अवसर पनि दिएको छ । (रासस/एपी)