३० जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संगीतरत्न शम्भूजीतको स्मृतिमा ‘आशा दिदी’



अ+ अ-

म भर्खर संगीतमा पाइला चाल्दै थिएँ। मैले भारतीय गायिका आशा भोसलेबारे प्रशस्तै सुनेको थिएँ । उहाँको बारेमा आफू पनि सोधखोज गर्थें । उहाँ काठमाडौँ आउनु भएको खबर पाएँ । २०३७ सालतिरको कुरा हो । संयोगले एक दिन आशा दिदी र सुप्रसिद्ध भारतीय संगीतकार आरडी बर्मन न्यूरोडको बिशालबजारमा किनमेल गर्न लागेको समयमा मेरो भेट भयो ।

मैले चिनिहालेँ र आफ्नो परिचय दिँदै आफू पनि संगीतको विद्यार्थी भएको जानकारी गराएँ । उहाँहरु न्यूरोडको क्रिस्टल होटलमा बस्नु भएको थियो । पशुपतिनाथ र स्वयम्भु घुम्नुभएको थियो ।

त्यो भेटको धेरैपछि ‘चेलिबेटी’ चलचित्रको गीत रेकर्डिङका लागि मुम्बई जाने कुरा भयो । निर्देशक यादव खरेल र म मुम्बई गयौँ । यादव खरेल मुम्बईको पेडर रोडको प्रभु कुञ्जमा बस्नुहुन्थो । जहाँ आशा, उषा मंगेसकर र लता मंगेसकरको निवास थियो । भेट गर्न निकै कठिन भयो । गेटमा कागजमा एउटा चिट लेखेर दिएँ र काठमाडौँमा भेट भएको कुरा सोही चिटमा सम्झाएर लेखेँ ।

त्यो चिट हेरेपछि उहाँले पुरानो कुरा स्मरण गर्नुभएछ, र भोलिपल्ट बिहान ९ बजे भेट गर्ने समय दिनुभयो । भेट पनि भयो । भेटमा चिया, फुरन दाना आदि खाएको स्मरण छ । गीतकार यादव खरेल पनि साथमा हुनुहुन्थो ।

त्यस अवसरमा मैले हारमोनियम बजाएर गीतको लय पनि सुनाएँ । शब्दहरुको भाव र उच्चारणका बारेमा राम्ररी बुझाएँ । मराठी, बंगाली केही शब्दहरु मिल्थे गीतमा । शब्द शब्दका बारेमा पनि छलफल भयो । गीत रेकर्डिङका लागि फिल्म सेन्टरमा समय लिन भन्नुभयो र यसका लागि पनि उहाँले नै खबर गरिदिनुभयो । पूर्व निर्धारित समयमा उहाँ पनि तोकिएको समयमा आउनुभयो ।

उहाँ नेपाली भनेर निकै माया गर्नुहुन्थो । नयाँ कम्पोजरलाई पनि निकै माया गर्नुहुन्थो । अर्को पटक चलचित्र ‘प्रेमपिण्ड’को लागि गैरी खेतको सिरै हान्यो गीत रेकर्डिङ गर्‍यौँ। त्यसपछि चलचित्र ‘करोडपति’को छुन्छन् मलाई गीत पनि रेकर्डिङ गर्‍यौँ ।

स्वरकी अद्भूत प्रतिभाकी धनी आशाले गाएका सबै गीत हिट भए । मेरो भाग्य, उहाँसँग चारवटा गीतमा सहकार्य गर्ने मौका पाएँ । दुईओटा युगल र दुईवटा एकल । उहाँ आफ्नो काम प्रति निकै प्रतिबद्ध हुनुहुन्थो । मेरो स्मरण र अनुभवमा उहाँ निकै समझदार हुनुहुन्थो ।

उहाँले सधैँ जोली मुडमा गीत गाउनुहुन्थो । भारतीय गीत संगीतको चल्ती अनुसार हामीले पारिश्रमिक दिन त सक्दैनथ्यौँ । तर पनि उहाँले जति दियो त्यो सहर्ष स्वीकार गर्नुहुन्थो । मलाई लाग्छ उहाँजस्तो सुप्रसिद्ध गायिकाको स्वरले नेपाली संगीतको प्रतिष्ठा पनि निकै बढेको छ । उहाँको गलाको मिठासको त म के कुरा गरौँ, त्यो त उहाँले पाएको वरदान नै हो । यस्तो व्यक्तित्वलाई हामीले गुमाएको खबरले म निकै दुःखी छु । उहाँप्रति म श्रद्धासुमन व्यक्त गर्दछु । भावपूर्ण श्रद्धाञ्जलि आशा दिदी ।

वरिष्ठ संगीतकार शम्भूजीत बासकोटासँग गरिएको कुराकानीमा आधारित