३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भरियाबाट गाउँपालिका अध्यक्षसम्म

भरियाबाट गाउँपालिका अध्यक्षसम्म
अ+ अ-

पाँचथर । नेपाली कांग्रेसको आधारक्षेत्र मानिएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वीरबहादुर कुरुम्बाङ निर्वाचित भएपछि उहाँको चर्चा चुलिएको छ । यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेलाई ८०६ मतान्तरले पराजित गर्दै कुरुम्बाङ गाउँपालिका अध्यक्ष चुनिनुभएको थियो । नेकपाका जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहनुभएका कुरुम्बाङ एक उद्योगीसमेत हुनुहुन्छ । तर अध्यक्ष कुरुम्बाङको सङ्घर्षशील विगत भने निकै दुःखद र पीडादायी छ ।

विसं २०२४ वैशाख २७ गते पाँचथरको आङसराङ गाविसमा स्व बुबा नरबहादुर कुरुम्बाङ र आमा दिलमाया कुरुम्बाङको जेठो छोराका रूपमा वीरबहादुर कुरुम्बाङको जन्म भएको हो । तीन बहिनी, एक भाइका दाजु कुरुम्बाङले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएको छ । विसं २०५२ मा तत्कालीन नेकपा (एमाले)बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका कुरुम्बाङ २०५४ सालमा वडा सदस्य निर्वाचित हुनुभएको थियो ।

नरबहादुर कुरुम्बाङ छ वर्षको हुँदा बुबाको निधन भयो । बुबाको निधनपछि आमाले पनि छोडेपछि नरबहादुर अरूको घरमा बसेर, सरसहयोग गरेर हुर्किनुभयो । नरबहादुर ठूलो भएपछि गोरु व्यापार गर्नेहरुलाई सघाएर जीवन चलाउनुभयो । क्रमशः दुई/चार पैसा कमाउनुभयो अनि घरगृहस्थीमा प्रवेश गर्नुभयो । उनै नरबहादुर नवनिर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङका बुबा हुनुहुन्थ्यो ।

वीरबहादुर आफ्नो जीवन बाल्यकालदेखि नै सङ्घर्षबाट अघि बढेको बताउनुहुन्छ । “वास्तवमा म शून्य अवस्थाको मान्छे थिएँ । न राम्रोसँग पढ्ने अवसर मिल्यो, न त खाने लगाउने अवसर नै”, अध्यक्ष कुरुम्बाङले आफ्नो विगत सम्झँदै भन्नुभयो । उहाँका सहपाठी रहनुभएका संविधानसभा सदस्य ध्रुवराज आङ्देम्बे वीरबहादुरको बाल्यकाल सम्झँदै भन्नुहुन्छ, “वीरबहादुर विद्यालयमा एकदमै सानो, कमजोर तर चलाख विद्यार्थी हुनुहुन्थ्यो । सधैँ केही नयाँ काम गरौँ भन्ने, साथीभाइसँग कहिल्यै झैझगडा नगर्ने, साह्रै इमान्दार र निःस्वार्थी प्रकारको मान्छे ।”

घरको जेठो छोरो । बुबा रोगी र परिवार चलाउन सहयोग गर्नुपर्ने बाध्यता । ग्रामीण विपन्न जीवन । कुरुम्बाङको जीवन सङ्घर्षको मैदानमा पौँठेजोरी खेलेरै अघि बढिरहनुपर्ने थियो । वीरबहादुरले आफूलाई यथास्थितिमा राख्न सक्नुभएन । चलाख मानिस भएका कारण उहाँले सधैँ नयाँनयाँ कुराको खोजी गर्नुभयो । विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्नुभएका उहाँले कसरी आफ्नो जीवन सहज बनाउने भन्नेतर्फ सोच्नुभयो ।

अध्यक्ष कुरुम्बाङले दुई वर्ष भारी बोकेर आफ्नो जीवन चलाउनुभयो । “विसं २०४० आसपासमा मोरङको मधुमल्ला र झापाको दमकबाट मट्टितेल बोकेर ल्याउँथे । पाँचथरको घुर्विसेपञ्चमी, नवमीडाँडा र यासोकमा मट्टितेल बेच्थेँ । यहाँ हाटबजार लाग्थ्यो । अनि दुई÷चार पैसा आम्दानी गरेर परिवार चलाउथेँ”, कुरुम्बाङले आफ्नो विगत सम्झँदै भन्नुभयो । यसरी भारी बोकेर उहाँले दुई वर्ष बिताउनुभयो । त्यसपछि उहाँले व्यापार, व्यवसायमा हात हाल्नुभयो । दश वर्षभन्दा बढी समय उहाँले खसी, गोरुलगायत पशुचौपायाको व्यापारमा जीवन बिताउनुभयो ।

पहाडका सबै कुनाकन्दराको दुःख र पीडा सहेर आजको वीरबहादुर बन्यो । सङ्घर्षको कथा अझै सकिएन । सडक विस्तार हुन थालेपछि उहाँले ट्र्याक्टर किनेर चलाउन पछि पर्नुभएन । अरू व्यापार व्यवसायबाट आम्दानी गर्दै उहाँले २०५७ सालमा ट्रक लिनुभयो । केही समय उहाँले ट्याक्सी पनि चलाउनुभयो । “मैले धेरै दुःख गरेर आर्थिक अवस्था उठाएपछि सबै कामको अनुभव लिनुपर्छ जीवनमा भन्ने सोचले सकेसम्म र भ्याएसम्म सबै काम गरेँ”, कुरुम्बाङले आफ्नो सङ्घर्षपूर्ण जीवन सम्झँदै भन्नुभयो ।

यसपछि उहाँले काठको गोलियाको व्यापार थाल्नुभयो । गोलियाको व्यापारबाट आर्थिक अवस्था सुधार गरेपछि उहाँले भेनियर उद्योग स्थापना गर्नुभयो झापामा । बुबालाई सघाउन छोराहरु पनि सक्षम भइसकेका थिए । उहाँकी श्रीमती रणमायाले गाउँमा व्यापार चलाउनुहुन्थ्यो । यो परिवारको अर्को यात्रा शुरु भयो प्लाइउडको उद्योग स्थापना गरेर । यही उद्योगले कुरुम्बाङ परिवारलाई उद्योगी बनायो ।

जहाँ पुगे पनि र जे गरे पनि पार्टीको सङ्गठित सदस्यता लिँदा खाएको शपथ जस्तै वीरबहादुरले मुलुकको परिवर्तन र आफूजस्तै शून्यबाट उठेका र शून्यमा रहेका निमुखाको पक्षमा बोल्ने उनीहरुको हित गर्ने पार्टीमा सक्रिय हुन पनि छाड्नुभएको थिएन । गाउँ कमिटीबाट उठ्दै गएको कुरुम्बाङको यात्रा तत्कालीन नेकपा ९एमाले० को जिल्ला सचिवालय सदस्य र हालको नेकपाको जिल्ला सचिवालय सदस्यमा पुगेको छ ।

स्थानीय तहको पहिलो निर्वाचनमा आफू पहिलो हुन नसकेको स्वीकार्दै पराजित भएर पनि गाउँपालिकाको विकासमा कहिल्यै पछि नसरेको उहाँ बताउनुहुन्छ । गाउँपालिकामा उहाँलाई अध्यक्ष पदमा निर्वाचित गर्नुमा अघिल्लोपटक पराजय भएपछि झन् सक्रियताका साथ खट्नुलाई स्थानीय मतदाता खास कारण ठान्छन् । कुरुम्बाङ विकास योजनाको फाइल लिएर ‘गाउँपालिकाका जनताले पानी खान पाएनन्, बिजुली पाएनन्, सडक पुगेन’ भनेर प्रदेश राजधानी विराटनगर र केन्द्रीय राजधानी काठमाडौं धाउनुभएको थियो ।

उहाँको निरन्तरको जनसेवाले अढाई वर्षमै जनताको मन जित्यो र गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । तीन छोरा र एक छोरीका पिता कुरुम्बाङ सरल, मिजासिलो, साहसी र सङ्घर्षशील नेताका रूपमा स्थापित हुनुहुन्छ । कुरुम्बाङलाई निक्कै ‘सशक्त’ नेतृत्वका रूपमा हेरिन्छ । उहाँले निर्वाचनका क्रममा सबैलाई मिलाएर लैजाने बताउँदै आउनुभएको छ । भ्रष्टाचार, बेथिति, विकास निर्माण र सेवा प्रवाहमा रहेको ढिलासुस्ती अन्त्य गर्ने उहाँको प्रतिबद्धता छ । स्थानीयवासीको आयआर्जन वृद्धि, गरिबी निवारण, सहज एवं उत्तरदायी सेवा प्रवाह र पूर्वाधार निर्माणमा विशेष जोड दिने कुरुम्बाङको योजना छ ।