काठमाडौंः दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ । साग फुटबलमा नेपाल लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्ण पदकका लागि मंगलबार नेपाल र भुटानबीच फाइनल खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिएको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका थिए । पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेको थिएन । मध्यान्तरपछि नेपालले रक्षात्मक खेल खेलेको थियो ।
खेलको अन्तिममा भने बंगलादेश १० खेलाडीमा सिमित भएको थियो । बंगलादेशका खेलाडीले नेपाली खेलाडीलाई मैदानमा लडाएका कारण दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएका हुन् नेपालका प्रशिक्षक बालगोपाल महर्जनले अब भुटानलाई फेरि एक पटक हराएर स्वर्ण जित्ने विश्वास व्यक्त गरे । ‘हामी लिगमा अपराजित एक्लो टिम हौं । अब हामी फाइनलमा पनि भुटानलाई जित्दै स्वर्ण जित्न चाहन्छौं’ बंगलादेशलाई हराएपछि महर्जनले भने ।



नेपाल र बंगलादेशका खेलाडी बल खाेस्ने प्रयासमा ।
समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो । माल्दिभ्सलाई २-१ ले हराएको नेपालले श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो । भुटानले भने नेपालबाहेक सबै टिमलाई हराएको छ ।










