काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। मंगलबार प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत सागको समापन समारोहलाई सम्बोधन गर्ने भएका हुन् ।
स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओली समापन समारोहस्थल दशरथ रंगशाला जान नसक्ने भएपछि प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले प्रधानमन्त्रीले पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहनसहित विशेष सम्बोधन गर्न लागेको बताए।
मार्चपास सकिएपछि सार्कको १४औं संस्करण आयोजक पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिनेछ।