काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै जनजीविकाका समस्या समाधान गर्न नसकेको आरोप लगाउनुभएको छ ।
बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले ठूलाठूला विकास र सुशासनको दाबी गरे पनि व्यवहारमा नागरिकले त्यसको अनुभूति गर्न नसकेको बताउनु भयो ।
विशेषगरी खाना पकाउने ग्यासको अभाव र बजारमा बढिरहेको मूल्यवृद्धिले आम नागरिकलाई समस्या परेको उहाँको भनाइ छ । सुशासन दिने उद्देश्यले गठन भएको भनिएको सरकारले सुशासनको वास्तविक अर्थ नै स्पष्ट पार्न नसकेको भन्दै उहाँले नागरिक अन्योलमा परेको बताउनु भयो ।
उहाँले परिवर्तनको अपेक्षासहित जनताले नयाँ सरकारलाई समर्थन गरे पनि अपेक्षाअनुसार परिवर्तन देखिन नसकेको जिकिर गर्नुभयो । सिंहले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र प्रभावकारी सुशासन स्थापित गर्न नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यहाँ कसैले ठूलै विकास गर्छौं, सुशासन ल्याउँछौं भन्दैमा मात्र हुँदैन । अहिले सुशासन र भ्रष्टाचारविरुद्ध बनेको सरकारले के काम गरिरहेको छ भन्ने कुरा जनताले स्पष्ट देखिसकेका छन् । चुलो बाल्न ग्यास पाइँदैन, बजारमा गयो भने मूल्य आकाशिएको छ । यस्तो अवस्थामा सुशासन भनेको के हो? जनता आफैं अलमलमा छन् । शुरुमा जनताले ‘अब परिवर्तन आउँछ’ भनेर आशा गरेका थिए । तर परिवर्तन कहाँबाट आयो? फेरि उही पुरानै अवस्था दोहोरिएको छ । त्यसैले भ्रष्टाचारमा शून्य सहनशीलता र वास्तविक सुशासन स्थापित गर्न कांग्रेस नै आवश्यक छ भन्ने जनमत विस्तारै बढ्दै गएको देखिन्छ । यसतर्फ हामीले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।’
काँग्रेस सरकारमा आउनुपर्छ भन्ने जनमत बिस्तारै बढ्दै गएको दाबी गर्दै उहाँले त्यसतर्फ पार्टीले ध्यान दिनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल








