१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कारागारलाई कलबलगुढी सार्न सिफारिस

कारागारलाई कलबलगुढी सार्न सिफारिस
अ अ+ अ-

झापा । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको झापा कारागारलाई सुविधाजनक ठाउँमा स्थानान्तरण गर्ने पहल शुरु भएको छ । विसं २०२० मा भद्रपुर–८ मा बनेको सो कारागार भवनमा ३५० कैदीबन्दी अटाउने क्षमता भएपनि हाल एक हजार १५९ कैदीबन्दी रहेका छन् । कारागारभित्र पुरुष एक हजार ६२, महिला ९१ र आश्रित बालवालिका ६ जना बस्दै आएका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा दुर्घटना जोखिम बढेको चौतर्फी गुनासो बढेकै बेला प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित स्थानीय सिफारिस समिति झापाको बैठकले झापा कारागारलाई भद्रपुर–१० कलबलगुढीस्थित स्थानीय विकास प्रशिक्षण केन्द्रको जग्गामा स्थानान्तरण गर्न सिफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले प्रशिक्षण केन्द्रको नाममा रहेको कित्ता नं २४७ को ३२ बिघामध्ये उत्तरपूर्वतर्फको १० बिगाहा जग्गामा झापा कारागार स्थानान्तरण गर्नुपर्ने निर्णयसहितको सिफारिस गृहमन्त्रालयमा पठाएको छ ।

हालको कारागार रहेको स्थानभन्दा करिब तीन किलोमिटर पश्चिममा सरकारको स्वामित्वमा रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको जग्गा छ । विसं २०४६ अघिसम्म पञ्चायत प्रशिक्षण केन्द्रका रुपमा चल्तीमा रहेको सो प्रतिष्ठान तीन दशकदेखि प्रयोगविहीन अवस्थामा छ । त्यहाँ पुराना कार्यालय भवन, आवासगृह र सभाहल छन् भने खाली जग्गामा झाडी उम्रिएको छ । सोही स्थानमा कारागार स्थानान्तरण गर्ने पहल भइरहेको हो ।

जिल्लास्थित सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कामका लागि गठित स्थानीय सिफारिस समितिले गरेको निर्णय गृह मन्त्रालयमा पुगेपछि त्यसलाई कार्यान्वयन ल्याउन मन्त्रीपरिषद्को बैठकबाट अनुमोदन हुनुपर्दछ । जिल्लास्थित प्रमुख राजनीतिक दलले कारागारलाई अन्यत्र सार्ने विषयमा समर्थन जनाउँदै आएका छन् । कारागारलाई प्रशिक्षण केन्द्रको जग्गामा स्थानान्तरण गर्नका लागि सिफारिस गर्ने समितिको सदस्यमा डिभिजन वन, नापी कार्यालय, भद्रपुर नगरपालिका कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालय झापा छन् ।

हालको कारागार परिसर एक बिघा क्षेत्रफलमा छ । कारागारको आफ्नो स्वामित्वमा चार कट्ठा तीन धुर जग्गा मात्र छ । यथास्थानमा कारागारको नयाँ भवन बनाउन जग्गा अपर्याप्त हुने भएको हुँदा नयाँ स्थानमा लैजानुपर्ने भएको हो । ढल निकासको समस्या बढेर कारागार वरपरको गाउँ दुर्गन्धित भएको छ । स्थानीयवासीले कारागार सार्न दबाब दिँदै आएका छन् । कारागारको छत चुहिने भएको कारण वर्खामा कैदीबन्दी छाता ओढेर सुत्नुपर्ने अवस्था छ । कारागारभित्र शौचालयको असुविधा र फोहरमैलाको समस्या बढेको छ । शौचका लागि निकै समय कुर्नुपर्ने र खाटमा सुत्न पालो पर्खनुपर्ने समस्या छ ।

बस्नका लागि ठाउँ नभएको उकुसमुकुस र जीर्ण झापा कारागारलाई सुविधाजनक नयाँ भवनमा नसारी नहुने अवस्था सिर्जना भएको झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल बताउनुहुन्छ । कारागारको जीर्ण भवनमा २०६३ सालमा कैदीबन्दी बीचको द्वन्द्वका बेला आगलागी भएको थियो । आगलागीले भवनलाई झन रुग्ण बनाएको थियो । विसं २०७२ सालमा भूकम्प जानुभन्दा अघि नै भवन जोखिमपूर्ण भएको जनाउँदै शहरी विकास तथा भवन कार्यालयले निरीक्षण गरी बस्न अयोग्य भएको प्रतिवेदन दिइसकेको थियो ।

चन्द्रगढी विमानस्थलको उडान सुरक्षा र विस्तारका लागि धावनमार्गको नजिक रहेको कारागारलाई अन्यत्र सार्न जरुरी रहेको चन्द्रगढी विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडाल बताउनुहुन्छ । विमानस्थल विस्तार र उडान सुरक्षाका लागि झापा कारागार, जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको चन्द्रगढी गुल्म र नेपाल स्काउट कार्यालयको भवन हटाउन सम्बन्धित निकायलाई आग्रह गरिसकेको विमानस्थलका प्रमुख चुडालले जानकारी दिनुभयो ।

“जिल्ला प्रशासन र आर्मीको व्यारेक संवेदनशील एप्रोच एरियामा परेको कारण हटाउनुपर्ने भएको हो”, विमानस्थलका प्रमुख चुडाल भन्नुहुन्छ, “विस्तार र विकासका लागि दक्षिणतर्फ ठाउँ नभएको हुँदा उत्तरतर्फको कारागार स्थानान्तरण गरेर भए पनि त्यहाँ एयरपोर्टको संरचना बनाउनुपर्ने हुन्छ ।”

झापा कारागारमा आधा जति कैदीबन्दी जघन्य अपराधमा कैद तथा बन्दी जीवन बिताइरहेका छन् । कारागारका निमित्त प्रमुख हिमादेवी पौडेलका अनुसार कर्तव्य ज्यान, लागुऔषध, जीउ मास्ने बेच्ने, जबर्जस्ती करणी र अपहरण मुद्दाका कैदीबन्दीको सङ्ख्या नै ६३७ पुगेको छ । सबै मुद्दाका गरी कारागारमा हाल एक हजार १५९ कैदीबन्दी छन् । कारागारमा जबर्जस्ती करणी मुद्दाका सबैभन्दा बढी २६९ कैदीबन्दी । त्यस्तै लागुऔषध मुद्दाका १५९, कर्तव्य ज्यान मुद्दाका ८६, जीउ मास्ने बेच्ने मुद्दाका ७४ र अपहरण मुद्दाका ४९ कैदीबन्दी छन् ।