३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काठमाडौँ उपत्यकामा ट्राफिक कडाइ

काठमाडौँ उपत्यकामा ट्राफिक कडाइ
फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरेर सवारी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सुरु गरेको छ ।

पछिल्ला दिनहरूमा बढ्दो सवारी दुर्घटनाका मुख्य कारणमध्ये मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे) तथा ट्राफिक नियम उल्लङ्घन पनि रहेको निष्कर्षपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान नै सञ्चालन गरेको हो ।

उक्त अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी टोलीसहित आफैँ सडकमा खटिने गर्नु भएको छ भने ‘कन्ट्रोल रुम’मा बसेको टोलीले कहाँ कुन नम्बरको सवारीसाधनले नियम उल्लङ्घन गरेको छ, सो विषयमा जानकारी दिने गरेको बताइएको छ ।

ट्राफिक प्रहरीले बिहान सबेरै सार्वजनिक सवारीसाधनका चालकहरूलाई लक्षित गरी तथा दिउँसो र साँझतिर विशेषगरी दुईपाङ्ग्रे सवारीसाधनका चालकहरूलाई केन्द्रित गरेर विभिन्न स्थानमा चेकजाँच सुरु गर्ने गरेको छ ।

अहिले राजधानीका मुख्य चोक, व्यस्त सडक तथा दुर्घटना बढी हुने स्थानहरूमा ट्राफिक प्रहरी परिचालन गरी चालकहरूले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेका छन् वा छैनन् भन्ने परीक्षण गरिँदै आएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर उक्त अभियान सञ्चालन गरिएको बताए ।

उनका अनुसार एक जना चालकले सार्वजनिक सवारीसाधनमा दर्जनौँ यात्रुको जिम्मेवारी बोकेको हुन्छ, त्यसैले चालकको सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

उनले भने, “एक जना चालकले दर्जनौँ यात्रु बोकेर यात्रा गराइरहेको हुन्छ । यदि त्यही चालकले मापसे वा लापसे गरेर सवारी चलायो भने दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिन्छ ? हाम्रो मुख्य उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु हो । त्यसैले मापसे र लापसे गरेर सवारी चलाउने चालकविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ ।”

ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत हालसम्म दर्जनौँ सार्वजनिक सवारीसाधनका चालकहरू मापसे र लापसे सेवन गरी सवारी चलाएको पाइएपछि कारबाहीमा परिसकेको जनाएको छ ।

पक्राउ परेका चालकहरूलाई ट्राफिक नियमअनुसार जरिवाना गर्नाका साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

यसैबीच, ट्राफिक प्रहरीले अबदेखि मादक पदार्थ वा लागूपदार्थ सेवन गरेर सवारी चलाउने, सडकका ‘डिभाइडर’मा ठोक्काएर सवारी चलाउने तथा यात्रुको ज्यान जोखिममा पार्ने चालकहरूको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नै खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने तयारी गरेको छ ।

लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति नियन्त्रण नगरेसम्म दुर्घटना न्यूनीकरण सम्भव नहुने भएकाले अब कडा कदम चाल्नुपर्ने अवस्था आएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक अधिकारी बताए ।

उनले भने, “लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति अब सह्य हुँदैन । यस्तो अवस्थामा केवल जरिवाना काटेर मात्रै पुग्दैन, आवश्यक परे चालकको लाइसेन्स नै खारेज गराउने प्रक्रिया अघि बढाइन्छ ।”

ट्राफिक प्रहरीले मापसे र लापसे विरुद्धको अभियानसँगै ट्राफिक नियम उल्लङ्न गर्ने सवारीसाधनका चालकहरूमाथि पनि कडाइ गर्न थालिएको र विशेषगरी ट्राफिक लाइटको पालना नगर्ने चालकहरूलाई निगरानीमा राखेर धमाधम कारबाही भइरहेको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार ट्राफिक लाइट उल्लङ्घन गरेर रातो बत्ती बल्दा पनि सवारी नरोकी अघि बढ्ने चालकहरूलाई विशेष निगरानीमा राखिएको प्रवक्ता सुवेदीले बताए  ।

उनले भने, “रातो बत्ती बल्दा नरोकीकन सवारी चलाउने, दिउँसै मापसे गरेर गाडी वा बाइक चलाउने चालकहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरेका छौँ । चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनका दर्जनौँ चालकहरू कारबाहीमा परेका छन् ।”

ट्राफिक प्रहरी प्रमुख अधिकारीका अनुसार आगामी दिनहरूमा पनि उपत्यकाका विभिन्न स्थानमा यस्ता चेकजाँच अभियानलाई निरन्तरता दिइनाका साथै चालकहरूलाई सचेतना कार्यक्रममार्फत ट्राफिक नियम पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा सुरक्षित यात्रा सुनिश्चित गर्न आग्रह गरिने छ ।

मापसे गरी सवारीसाधन चलाउने १२ जना कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत आज बिहान गरेको सप्राइज चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने १२ जना चालकलाई कारबाहीमा परेका छन् ।

उपत्यकाका विभिन्न स्थानमा गरिएको उक्त चेकिङका मापसे सेवन गरी सवारीसाधन चलाउने भाडा बस दुई, विद्यालय बस एक, भाडा मिनी ट्रक दुई, भाडा सुमो एक, भाडा माइक्रो एक, भाडा टेम्पो एक, पर्यटक भ्यान एक र निजी कार तीन वटा गरी १२ वटा सवारीसाधनका चालकहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए।

उनले भने, “आज हामीले विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ १२ जना चालकलाई कारबाही गरेका छौँ, हाम्रो अभियान निरन्तर जारी छ ।”

यात्रु बोक्ने जस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले लागूपदार्थ तथा मादकपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बरमा खबर गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबैमा आग्रह गरेको छ ।