१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सत्तापक्षको सुशासन, समृद्धि र विकासको एजेण्डामा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

सत्तापक्षको सुशासन, समृद्धि र विकासको एजेण्डामा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको बलमा भएको निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि प्रारम्भ  भएकोछ ।

सिंहदरबारस्थित निर्माणाधिन सङ्घीय संसद् भवनमा दिउँसो सवा दुई बजे सुरु भएको अधिवेशनमा दलका नेताहरुबाट उठाइएको विषयबस्तु र आएका भावनाले नेपालको संसदीय अभ्यासलाई सु–संस्कृत र परिपक्क तुल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

युवापुस्ताको बाहुल्यता रहेको प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलकातर्फबाट शुभकामना दिने क्रममा आ–आफना दलीय दृष्टिकोण सु–स्पष्ट ढङ्गबाट व्यक्त गरियो ।

त्यस अवसरमा सत्तापक्षबाट सुशासन, समृद्धि र विकासका मुद्धालाई स्पष्ट खाकासहित अघि बढाउने प्रतिबद्धता जाहेर भयो भने प्रतिपक्षबाट सरकारले लिने निर्णय र अघि बढाइने कार्यक्रमलाई गुण तथा दोषका आधारमा रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।

अघिल्लो प्रतिनिधिसभा बिघटन, त्यसपछि उत्पन्न परिस्थिति, निर्वाचन र वर्तमान सरकार गठन तथा अब देशले लिनुपर्ने नीति तथा कार्यक्रमबारे पनि वक्ताहरुले आ–आफ्नो शैलीमा विषयवस्तु प्रस्तुत गर्नुभयो ।

बैठकको सुरुआतमै एमालेका सांसदहरु आआफ्ना आसनबाट उठेपछि बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पहिलो बैठकमा विवाद नगरी बसिदिन सो पार्टीका सांसदहरुलाई आग्रह गर्नुभयो । जेष्ठ सदस्यको अनुरोधपछि पनि एमाले सासदहरु उठिरहेपछि सांसद गुरु बराललाई उहाँले बोल्न समय उपलब्ध गराउनुभयो ।

सांसद बरालले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई यही चैत १४ गते पक्राउ गरिएको घटनाप्रति सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सभाध्यक्ष केसी

त्यसपछि बैठकलाई सम्बोधन गर्दै सभाध्यक्ष केसीले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन स्थापनामा सहकार्य र समन्वयको आवश्यता औँल्याउनुभयो । उहाँले जनताको अपेक्षाअनुसार शासन प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेकामा जोड दिनुभयो ।

त्यसपछि दलीयरुपमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा शुभकामना दिनुभयो ।

सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको जिम्मेवारी पूरा गर्ने  बताउनुभयो । उहाँले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएकाले सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट पार्नुभयो ।

सभापति लामिछानेले भन्नुभयो, “यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको थलो होइन् । प्रतिपक्षलाई अन्यायपूर्वक प्रतिशोध र अत्याचार हुनेछैन, तर सुशासनको बेग पनि रोकिने छैन । रास्वपाका हरेकले बोलेर होइन, कामबाट आफूलाई प्रमाणि गर्नुपर्नेछ ।”

नेता आङ्देम्बे

नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमति, सहकार्य र सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक अस्थिरता र कमजोर शासनशैलीका कारण निराशा बढेको उल्लेख गर्दै भविष्यमा यस्तो अवस्था आउन नदिन दूरदर्शी नीति र स्थिर सरकार आवश्यक रहेको बताउनुभयो ।

विगत ३५ वर्षमा द्वन्द्व, भूकम्प तथा कोभिड–१९ महामारीजस्ता चुनौतीका बाबजुद देशमा पूर्वाधार, विद्युत्, सञ्चार, स्वास्थ्य र वित्तीय क्षेत्रमा प्रगति भएको नेता आङ्देम्बेले उल्लेख गर्नुभयो ।

नेता थापा

नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापाले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानविनको माग गर्नुभयो ।

नेता थापाले निर्वाचनबाट ठूलो दलसहित विजय हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई दिनुभयो ।

नेता पुन

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफ्नो पार्टीले सदनमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले राष्ट्र निर्माण, सामाजिक न्याय, रुपान्तरणलगायत जनहित र सकारात्मक विषयमा सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।

अध्यक्ष राई

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्न पाउने गरी सहज नियम बनाउनुपर्नेमा जोड दिनुभयो । जनचाहनाबमोजिम मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार अन्त्य गर्न सबै लाग्नुपर्ने बताउँदै अध्यक्ष राईले सार्वभौमसत्ता र स्वाभिमानमा प्रतिकुल असर पार्ने सन्धि सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र विधिको शासन प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्नुभयो । प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित शासन सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उहाँले जनताको आशा र भरोसाको दियो निभ्न नदिई त्यसलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभयो ।

स्वतन्त्र सांसद महावीर पुनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले हाल सञ्चालनमा रहेका १८ विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट टाढा राख्दै शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछि गृहमन्त्री सुधन गुरुङले  सभामा तीन वटा अध्यादेश पेस गर्नुभयो । उहाँले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गर्नुभयो ।

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

यसअघि बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य केसीले राष्ट्रपति कार्यालयबाट अधिवशेन आह्वानसम्बन्धी प्राप्त पत्र तथा  प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य वालेन्द्र शाहलाई प्रधानमन्त्रीमा यही चैत १३ गते नियुक्त गर्नुभएको थियो । बैठकले नयाँ नियमावली नबनाएसम्म हालको नियमावली  २०७९ बमोजिम कामकारबाही अघि बढाउने निर्णय गरेको छ ।

बैठकमा ज्येष्ठ सदस्य केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु आरेन राई, गङ्गा छन्त्याल, ताहिर अलि भाट, बासना थापा, विश्वराज पोखरेल, यज्ञबहादुर बोगटी र बलावती शर्मालाई मनोनयन गरिएको जानकारी दिनुभयो ।

बैठकले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराको विभिन्न समयमा भएको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठक करिब २ घन्टा सञ्चालन भएको थियो ।

प्रतिनिधिसभाको आगामी बैठकबाट सभामुखको चयन हुनेछ । त्यसका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २२ गते आइतबार बिहान ११ः०० बजे बस्नेछ । रासस