• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

सरकारले सुत्केरी आमालाई चार हजार ८०० दिने



सुर्खेत । कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुनेले पोषणबापत रु दुई हजार रकम पाउने भएका छन् । योसहित कर्णाली प्रदेशका सुत्केरी आमाले अबदेखि स्वास्थ्य संस्थामा प्रसूति हुन आएमा रु चार हजार ८०० पाउने व्यवस्था गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले यही मङ्सिरदेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा आउने महिलालाई पोषणबापत दुई हजार रकम दिने व्यवस्था गरेको छ । प्रदेशका १० जिल्लामा लागू हुने गरी सुत्केरी कोसेली कार्यक्रम लागू गरिएको छ । प्रसूति हुन स्वास्थ्य संस्थामा आउन प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको सामाजिक विकासमन्त्री दल रावलले बताउनुभयो ।

“कर्णालीमा रहेका विपन्न गरीब महिलालाई पोषणमा केही राहत होस् भन्नका लागि कार्यक्रम ल्याएका हौँ”, उहाँले भन्नुभयो, “पोषण भत्ताले गर्दा स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलालाई प्रोत्साहन गर्नेछ र मातृ मृत्युमा कमी गर्न सकिन्छ भन्ने उद्देश्य हो ।” मन्त्रालयका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले कोसेली कार्यक्रमका लागि रु चार करोड बजेट छुट्याइएको जानकारी दिनुभयो ।

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले सुत्केरीलाई कोसेली कार्यक्रमले सुत्केरी हुन स्वास्थ्य संस्थामा आउनका लागि प्रोत्साहन गर्ने बताउनुभयो । यस कार्यक्रमअन्तर्गत स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत रकम पठाउने र स्वास्थ्य संस्थालाई प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य संस्थामा सुत्केरी हुन आएबापत यातायातबापत रु दुई हजार, चारपटक गर्भ जाँच गरेबापत रु ८०० र पोषणबापत रु दुई हजार रकम सुत्केरी महिलाले पाउने बताउनुभयो । पोषणबापत दिइने रु दुई हजार प्रदेश अस्पतालका हकमा भने विपन्न महिलालाई मात्र प्रदान गरिने बताउनुभयो । अन्य सबै स्वास्थ्य संस्थामा भने सबै महिलालाई प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।