काठमाडौँ । नूरगङ्गा–प्रतिभा पुरस्कार गुठीले यस वर्षको राष्ट्रिय र क्षेत्रीय प्रतिभा सम्मानका लागि प्रतिभाहरुको चयन गरेको छ । गुठीले प्रतिभा सम्मान वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गर्ने भएको छ । त्यस्तै रु एक लाख राशीको स्थापित राष्ट्रिय लोकगायन पुरस्कार लमजुङका बिमाकुमारी दुरा, रु ३० हजार राशीको क्षेत्रीय साहित्य पुरस्कार नवलपरासीका प्रा डा मुरारीप्रसाद रेग्मीलाई प्रदान गर्ने भएको छ ।
यसैगरी रु २५ हजार राशीको राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कार भक्तपुरका अनुज्ञा नेपाल र रु २० हजार राशीको क्षेत्रीय नवप्रतिभा लोकगायन पुरस्कार पाल्पाका कमला पोखरेललाई प्रदान गर्ने निर्णय भएको गुठीका सदस्य सचिव यज्ञप्रसाद शर्माले जानकारी दिनुभयो ।