४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

नेपाली काँग्रेसको ‘ग्राण्ड रिफर्म’

नेपाली काँग्रेसको ‘ग्राण्ड रिफर्म’
अ+ अ-

काठमाडौँ: नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र संरचनात्मक परिवर्तनका लागि ‘ग्रान्ड रिफर्म’ (वृहत सुधार) को योजना अघि सार्नुभएको छ ।

२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै दिनुभएको राजीनामा केन्द्रिय समितिले अस्वीकृत गरेपछि सभापति थापाले अबको यात्रा महाधिवेशन र पार्टी पुनर्जागरणतर्फ केन्द्रित हुने उद्घोष गर्नुभएको हो ।

उहाँले निर्वाचनको हारको जिम्मेवारी लिँदै आफू ‘टिमको क्याप्टेन’ भएको नाताले जवाफदेहिताबाट नभाग्ने स्पष्ट पार्नुभयो ।

राजीनामा, जवाफदेहिता र केन्द्रिय समितिको निर्णय

सभापति थापाले निर्वाचन परिणाम लगत्तै उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुझाउनुभएको राजीनामाका सम्बन्धमा बोल्दै यो कुनै हतास मानसिकता नभई राजनीतिक जवाफदेहिताको कसी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म यो टिमको क्याप्टेन हुँ र मेरो नेतृत्वमा हामी निर्वाचनमा गएका हौँ, त्यसैले हारको जिम्मेवारी मैले लिनुपर्छ भन्ने मेरो दृढ निष्कर्ष थियो ।’

यद्यपि, केन्द्रिय समितिले विशेष महाधिवेशनबाट आएको नेतृत्वले नै बाँकी जिम्मेवारी पूरा गर्नुपर्ने निर्णय गरेपछि उहाँले समितिको निर्णयलाई सम्मान गर्दै नयाँ अध्यायको प्रारम्भ भएको घोषणा गर्नुभयो । थापाले अब राजीनामाको अध्याय समाप्त भएको र पार्टीलाई १५ औँ महाधिवेशनतर्फ डो¥याउने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनु भयो ।

सङ्घीय प्रतिपक्षको भुमिका र राष्ट्रिय राजनीति

निर्वाचनपछि नेपाली काँग्रेसले प्राप्त गरेको सङ्घीय प्रतिपक्षको भुमिकालाई सभापति थापाले विशिष्ट जिम्मेवारीका रूपमा व्याख्या गर्नुभयो । उहाँले नयाँ सरकार गठन गर्ने म्याण्डेट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिँदै काँग्रेसले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने प्रतिज्ञा गर्नुभयो ।

‘सरकारको गति बढाउन हाम्रो दबाब र प्रोत्साहन रहन्छ, तर देशलाई कुनैपनि हालतमा दुर्घटनामा पर्न दिँदैनौँ ।’ उहाँले भन्नुभयो ।

थापाले लोकतन्त्रका आधारभुत मूल्य, प्रेस स्वतन्त्रता र न्यायपालिकाको स्वायत्ततामा कुनै सम्झौता नहुने र काँग्रेसले ‘भिजिलेन्ट’ (शतर्क) भएर पहरेदारी गर्ने स्पष्ट पार्नुभयो ।

२०४६ पछिका भ्रष्टाचार काण्ड र सम्पती छानबिनको माग

सुशासनका सन्दर्भमा सभापति थापाले आक्रामक प्रश्ताव अघि सार्नुभएको छ । उहाँले २०४६ सालको जनआन्दोलनपछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पती छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गर्नुभयो ।
‘गलत ढङ्गले आर्जन गरिएको सम्पती जफत गरिनुपर्छ, यो हाम्रो प्रतिज्ञा पत्रको मुख्य बुँदा हो ।’ उहाँले भन्नुभयो ।

गिरीबन्धु, ललिता निवास, वाइडबडी जस्ता चर्चित प्रकरणकहरू अब सार्वजनिक खपतको विषय मात्र नभई‘दूधको दूध पानीको पानी’ हुनुपर्ने र दोषीले सजाय पाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नयाँ सरकारले यस्ता काण्डहरूको निष्पक्ष अनुसन्धान गरेमा काँग्रेसको पूर्ण साथ रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

संविधान संशोधन र राष्ट्रिय सहमतिको पहल

संविधानका आधारभुत पिलरहरूलाई नचलाई सुशासन र प्रभावकारिताका लागि संविधान संशोधन गर्नुपर्ने प्रश्ताव थापाले राख्नुभएको छ । यसका लागि काँग्रेसले एक वरिष्ठ नेताको संयोजकत्वमा विज्ञहरू सम्मिलित समिति बनाउने र उक्त समितिले पार्टीभित्र, संसदका दलहरू र संसद् बाहिरका शक्तिहरूसँग समेत छलफल गरी राष्ट्रिय सहमति निर्माण गर्ने योजना सुनाउनु भयो । समावेशीकरण, सामाजिक न्याय र युवाको अधिकारलाई अझ सुदृढ बनाउँदै संविधानलाई समयसापेक्ष परिमार्जन गर्न काँग्रेसले नेतृत्वदायी भुमिका खेल्ने उहाँको दाबी छ ।

पार्टीको ‘ग्राण्ड रिफर्म’: शुद्धीकरण र पुनर्जागरण

पार्टीको आन्तरिक जीवनका बारेमा बोल्दै थापाले काँग्रेसमा अब ‘सानो सुधार होइन, ग्राण्ड रिफर्म’ चाहिएको बताउनु भयो । उहाँले सत्ताका लागि गरिने सिद्धान्तहीन सम्झौता र राज्यशक्तिको दुरुपयोग जस्ता ‘मैला पातहरू’ अब हटाउनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । पार्टीको भद्दा संरचनाले यसको मौलिकता थिचिएको भन्दै उहाँले चार पुस्ताको विविधतालाई काँग्रेसको शक्तिमा बदल्नुपर्ने धारणा राख्नुभयो । पार्टीलाई केवल ‘इलेक्सन मेसिन’ मात्र नबनाई एक जीवन्त सामाजिक आन्दोलनका रूपमा पुनर्जागृत गर्ने उहाँको सङ्कल्प छ ।

डिजिटल सदस्यता र ‘ल्याटरल इन्ट्री’ को व्यवस्था

सदस्यता प्रणालीमा आमूल परिवर्तन गर्दै आगामी वैशाख १ गतेबाट सबै क्रियाशील सदस्यको नयाँ ढङ्गले अभिलेखीकरण र अद्यावधिक गरिने थापाले जानकारी दिनुभयो । अब प्रत्येक सदस्यले ‘काँग्रेस आईडि’ पाउनेछन् र सबै प्रक्रिया डिजिटल हुनेछ । यस्तै, विभिन्न पेशा र व्यवसायमा रहेका विज्ञहरूलाई पार्टीको नेतृत्वमा ल्याउन ‘ल्याटरल इन्ट्री’ (पाश्र्व प्रवेश) को ढोका खोलिने उहाँले बताउनु भयो । शुभेच्छुक संस्थाहरूबाट महाधिवेशन प्रतिनिधि आउने पुरानो व्यवस्था खारेज गरी विज्ञहरूलाई सिधै नीति निर्माण र नेतृत्वमा सहभागी गराइने नयाँ विधानको व्यवस्था कार्यान्वयन गरिने उहाँको प्रश्ताव छ ।

काँग्रेस लिडरसिप एकेडेमी र अनिवार्य प्रशिक्षण

सार्वजनिक जिम्मेवारीमा जान चाहने नेताहरूका लागि थापाले ‘काँग्रेस लिडरसिप एकेडेमी’ को अवधारणा अघि सार्नुभएको छ । अब स्थानीय वा प्रदेश निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले अनिवार्य रूपमा एकेडेमीको पाठ्यक्रम अनुसार प्रशिक्षण लिनुपर्नेछ ।

‘मेयर वा वडा अध्यक्ष बन्न चाहनेले पब्लिक पोलिसी, अर्थतन्त्र र सुशासनका बारेमा तोकिएको घण्टा क्लास लिनैपर्छ ।’ उहाँले भन्नुभयो । 

यसले पार्टीका उम्मेदवारहरूलाई शासकीय क्षमतामा अब्बल बनाउने र जनताका समस्या समाधानमा प्रभावकारी भुमिका खेल्न मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

१५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक

सभापति थापाले आगामी २०८३ भदौमा १५ औँ केन्द्रिय महाधिवेशन सम्पन्न गर्नेगरी विस्तृत कार्यतालिका प्रश्ताव गर्नुभएको छ । प्रश्तावित तालिकाअनुसार २०८३ वैशाखमा वडा तहमा क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ ।

साउन ६ गते वडा अधिवेशन, साउन १२ गते गाउँ÷नगर अधिवेशन, साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन गरिनेछ । यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन र अन्ततः २०८३ भदौ २४, २५ र २६ गते नेपाली काँग्रेसको १५ औँ केन्द्रिय महाधिवेशन सम्पन्न गरिने कार्यतालिका उहाँले पेस गर्नुभएको छ ।

अनुशासन र एकताको सन्देश

सभापति थापाले पार्टीको ‘गाडी’ अब अगाडि बढिसकेको र यसले कसैलाई पनि नछोड्ने बताउनु भयो । निर्वाचनका बेला पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने वा रुख चिन्हमा मत नहाल्ने प्रवृत्तिलाई आफूले गम्भीरतापूर्वक ‘नोटिस’ मा लिएको उहाँले चेतावनी दिनुभयो ।

‘पार्टीको सदस्य भएर शपथ खाएपछि उम्मेदवारलाई जिताउनु कर्तव्य हो, कसैसँग असन्तुष्टि छ भन्दैमा पार्टीलाई हराउन पाइँदैन ।’ उहाँले भन्नुभयो । 

उहाँले विगतका सबै पूर्वाग्रह त्यागेर सबैलाई समेटेर अगाडि बढ्ने र काँग्रेसलाई एक भरोसायोग्य र विश्वासिलो पार्टी बनाउने प्रतिवद्धता जनाउनु भयो । –न्युज एजेन्सी नेपाल