• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

लुम्बिनीमा सडक खाना महोत्सव



रुपन्देही । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव गरिने भएको छ । ‘लुम्बिनी जाऔँ, लुम्बिनीमै खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी होटल सङ्घ नेपालले छैटौँ पटक सडक खाना महोत्सव आयोजना गरेको हो ।

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर यही पुस १५ गते आयोजना गरिने महोत्सवमा नेपाली, चिनिया, थाई, इटालेली, जापानीलगायतका विभिन्न देशका खानाका परिकार राखिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग रहेकाले विशेष तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । “नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजित यस वर्षको सडक खाना महोत्सवलाई विगतमा भन्दा रोचक र भव्य बनाउने गरी तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।

लुम्बिनी भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई मध्यनजर गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई लुम्बिनीमा आकर्षित गर्न महोत्सव आयोजना गरिएको सङ्घका महासचिव लीलामणि शर्माले बताउनुभयो । “आन्तरिक पर्यटनको दृष्टिले लुम्बिनी धेरै आन्तरिक पर्यटकले भ्रमण गर्ने स्थल हो, यहाँ आन्तरिक र बाह्य पर्यटकलाई अझै बढी आकर्षित गर्न यो कार्यक्रम बनाएका हौँ” महासचिव शर्माले भन्नुभयो ।

महोत्सवमा १०० वटा खानाका स्टल रहने उहाँले बताउनुभयो । स्थानीय खानाका परिकारका छुट्टै स्टल राखिने सङ्घका उपाध्यक्ष गोविन्द ज्ञवालीले बताउनुभयो । सो अवसरमा स्थानीय विराहा नाच, विभिन्न जातिको संस्कृति झल्कने प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने भएको छ ।

महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकले विभिन्न देशको परिकारको मज्जा लिन र लुम्बिनीको संस्कृति हेर्न सक्ने महोत्सवका संयोजक तथा सङ्घका सल्लाहकार हेमबहादुर विष्टले बताउनुभयो । “लुम्बिनीको स्थानीय खानाको परिकारलाई ब्राण्डिङ गर्ने तयारी गरेका छौँ, उहाँले भन्नुभयो, “बुद्धको समयदेखि नै दूधका परिकार प्रचलनमा रहेकाले केही परिकारलाई ‘ब्राण्डिङ’ गर्छौ । ”