१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
अ अ+ अ-

काठमाडाैँ । फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै धमिलो छ ।

निर्वाचनको उत्सव सकिएको छ, विजयका गुलालहरू पखालिइसकेका छन् र अहिले काठमाडौंका गल्लीहरूमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । तर पोखराका गल्ली, चोक र चौतारीहरूमा भेटिने सर्वसाधारणका कुरा सुन्दा लाग्छ— उनीहरूको उत्साहभन्दा बढी ‘अन्तिम आशा’ जीवित छ ।

वर्षौँदेखि आश्वासनका पोकाहरू बोकेर घरदैलोमा आउने नेताहरू र सत्ताको कुर्सीमा पुगेपछि बदलिने उनीहरूको चरित्रबाट पोखरेली जनता यसरी थाकिसकेका छन् कि अब उनीहरूलाई भाषण होइन, परिणाम चाहिएको छ ।

बलबहादुरको १८ औँ भोट र एउटा हजुरबुबाको सपना

८४ वर्षको उमेर । चाउरिएका गाला र जीवनका धेरै उतारचढावका रेखाहरू प्रष्ट देखिने अनुहार । पोखराको एउटा कुनामा भेटिएका बलबहादुर नेपालीको कथा कुनै राजनीतिक दस्तावेजभन्दा कम छैन । उनी भन्छन्, “मैले १८ पटक भोट दिएँ बाबु ! काँग्रेसमा हुर्किएँ, माओवादीलाई पनि हेरेँ । तर जति पटक भोट हाले पनि गरिबको भलो भएन । ठूलाठालुले देशका कम्पनी बेचेर खाए, हामीलाई जहिले पनि पछाडि पारे ।”

बलबहादुरको यो भनाइले नेपालको विगत ३०–३५ वर्षको राजनीतिक अस्थिरताले आम मानिसको मुटुमा पारेको घाउलाई छर्लङ्ग पार्छ । उनी अहिले कुनै राजनीतिक आस्थाले होइन, बरु एउटा विवश हजुरबुबाको सपनाले नयाँ अनुहारप्रति ढल्किएका छन् । उनी चाहन्छन्- आफ्ना छोरानातिले आफ्नै देशमा रोजगारी पाऊन्, बिरामी पर्दा उपचार नपाएर मर्नु नपरोस् र कम्तीमा गाँस–बासको चिन्ता नहोस् ।

नारायणप्रसादको ‘सिस्टम’ र पसिनाको मूल्य

पोखरा–३३ बागमाराका नारायणप्रसाद काफ्लेको कथा अलि फरक छ । उनी एउटा कर्मठ किसान हुन्, जसले २०६० सालदेखि गाई फार्म चलाएर माटोसँग पौँठेजोरी खेलिरहेका छन् । तर उनको संघर्ष माटोसँग मात्र होइन, देशको भ्रष्ट प्रणालीसँग पनि छ ।उनी भन्छन्, “हामीलाई व्यक्तिगत फाइदा चाहिएको छैन, हामीलाई त एउटा सुशासनयुक्त ‘सिस्टम’ चाहिएको छ ।”

काफ्लेको अनुभव निकै तीतो छ । उनले आफ्नै आँखा अगाडि वास्तविक किसानले भन्दा ‘झोलामा कागज बोक्ने’ दलालहरूले सरकारी अनुदान कुम्ल्याएको देखेका छन् ।

नयाँ सरकारलाई उनको स्पष्ट खबरदारी छ-गल्ती गर्नेले सजाय पाओस्, सरकारी कार्यालय जाँदा फाइल बोकेर महिनौँ धाउनु नपरोस् र किसानको पसिनाको प्रतिफल दलालको खल्तीमा नजाओस् । जनता अब केवल ‘भोट बैंक’ मात्र बन्न तयार छैनन्, उनीहरू आफ्नो पसिनाको वास्तविक मूल्य खोजिरहेका छन् ।

सीतादेवीको उद्योग र बाकसमा फर्किने युवाको पीडा

पोखरा–७ मुस्ताङचोककी सीतादेवी आचार्य एउटी शाहसी उद्यमी हुन् । उनले प्लास्टिक उद्योगमार्फत ७० जनालाई रोजगारी दिएकी थिइन् । तर आज बजारको मन्दी र सरकारको उदासीनताले उनको उद्योग सङ्कटमा छ ।”मार्केटमा पैसा छैन, सरकारले उद्योगीलाई हेर्दैन । ७० जनाको परिवार पालेकी थिएँ, अहिले आफैँलाई टिक्न गाह्रो छ” उनी पीडा पोख्छिन् ।

तर सीतादेवीको व्यक्तिगत पीडाभन्दा ठूलो चिन्ता देशको भविष्यप्रति छ । दिनहुँ विमानस्थलबाट बाहिरिने युवाको लर्को र खाडीबाट बाकसमा फर्किने छोराछोरीको लासले उनलाई पिरोल्छ । उनी भन्छिन्, “नेपाल आमा रोइरहेकी छिन्, छोराछोरी बाकसमा फर्किरहेका छन् । गाउँमा मलामी जाने मान्छे छैनन् ।” उनको नयाँ सरकारसँग एउटै माग छ— युवालाई विदेश पठाउने एजेण्ट होइन, स्वदेशमै पसिना बगाउने वातावरण बनाउने अभिभावक बनोस् ।

ऋषिरामको खबरदारीः ‘तेरो र मेरो पार्टी नभनी काम गरियोस्’

पोखरा–२१ का ऋषिराम बिकको चासो भने विकासको गुणस्तर र राजनीतिक निष्पक्षतामा छ । चुनावमा भोट दिएर पठाएका प्रतिनिधिहरूले अब मन्त्रिमण्डल गठन गर्दा जनताको आधारभूत आवश्यकतालाई भुल्न नहुने उनी बताउँछन् ।

ऋषिरामको अनुभवमा विकासका योजनाहरूमा चरम भ्रष्टाचार र दलीय भागबण्डा हुने गरेको छ ।विशेषगरी पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती र कमिसनतन्त्रप्रति उनको आपत्ति छ । उनलाई नेताहरूको भाषणमा अब विश्वास छैन ।

भाषणको रेल होइन, बाँच्ने आधार चाहिएको छ

पोखराका यी प्रतिनिधि आवाजहरू केवल तीन व्यक्तिका कुरा मात्र होइनन्, यो त समग्र नेपालीको साझा सुस्केरा हो । बलबहादुरको आशा, नारायणप्रसादको प्रणाली र सीतादेवीको उद्योग-यी सबैलाई जोड्दा एउटै निष्कर्ष निस्कन्छः जनतालाई ठूला भाषण, रेल र पानीजहाजका सपना होइन, आधारभूत आवश्यकताको सुनिश्चितता चाहिएको छ ।

नयाँ बन्ने सरकारका लागि पोखरेलीको सन्देश प्रष्ट छ— सरकारी अस्पतालमा सहजै अस्पतालका शैय्या पाइयोस्, सरकारी कार्यालयमा जाँदा नागरिकले अपमानित हुनु नपरोस् र आफ्नै माटोमा पसिना बगाएर सम्मानजनक जीवन बाँच्न पाइयोस् ।

यदि यो नयाँ सरकारले पनि पुरानै प्रवृत्ति दोहोर्‍यायो र जनताको यो ‘अन्तिम आशा’ माथि खेलबाड गर्‍यो भने, त्यो निराशाको विस्फोट देशका लागि निकै महँगो सावित हुनेछ । उनीहरू भन्छन्ः सत्ताको कुर्सीमा बस्नेहरूले बेलैमा सुनून्— पोखराको यो आवाज केवल अपेक्षा मात्र होइन, यो त एउटा गम्भीर खबरदारी पनि हो ।