काठमाडौँ । आचार्य बन्धु समाज नेपालले सडक दुर्घटनामा गम्भीर घाइते भई अचेत अवस्थामा उपचाररत खोटाङका युवराज आचार्यलाई रु ५७ हजार आर्थिक सहयोग गरेको छ । गत असोज ३ गते दुर्घटनामा गम्भीर घाइते भई अचेत अवस्थामा रहनुभएका आचार्य हाल काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत हुनुहुन्छ ।
समाजका महासचिव बाबुराम आचार्यको संयोजकत्वमा सोमबार अस्पतालमै पुगी उहाँलाई ‘युवराज आचार्य बचाऊ अभियान’अन्तर्गत दाताबाट सङ्कलित उक्त रकम हस्तान्तरण गरिएको समाजले जनाएको छ । थप उपचारका लागि उहाँलाई विराटनगरको गोल्डेन अस्पतालबाट काठमाडौँ ल्याइएको हो ।
घाइते आचार्यलाई शुरुमा विराटनगरमा उपचार गरीएको र त्यहाँ रु १० लाखभन्दा बढी खर्च भइसकेको परिवारजनले बताएका छन् । पारिवारिक अवस्था कमजोर भएको र चिकित्सकका अनुसार अझै छ महिनाभन्दा बढी नै अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले समाजले उहाँको उपचारका लागि सहयोग जुटाउन अभियान सञ्चालन गरेको थियो ।