२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा मेसिनबाट धान रोपाइँमा किसानको उत्साह



फाईल । तस्बिरः सिङ्घबहादुर थापा/रासस
अ+ अ-

काठमाडाैँ । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ । यहाँ परम्परागत रोपाहारको सट्टा मेसिनको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ चितवनमार्फत धान रोप्ने आधुनिक मेसिन प्रयोगमा आएपछि किसानहरू यान्त्रिकीकरणतर्फ आकर्षित भएका छन् ।

कृषि कार्यालयका अधिकृत काशीराम पाण्डेका अनुसार सुरुमा मेसिन प्रयोगबारे बुझाउन र प्रशिक्षण दिन केही कठिनाइ भए पनि हाल धेरै किसानले आफैं मेसिन प्रयोग सुरु गरेका छन् । “सुरुका वर्षमा कर्मचारीले खेतमै गएर बीउ राख्ने तरिका र मेसिनबाट रोपाइँ गर्ने विधि सिकाउनुपथ्र्यो, अब धेरै किसानले सिकिसकेका छन् र मेसिनको माग बढ्दै गएको छ”, पाण्डेले बताउनुभयो ।

मेसिन प्रयोग गर्दा कम लागतमा बढी उत्पादन हुने भएकाले किसानहरू आकर्षित भइरहेका छन् । पाण्डेका अनुसार “खेतीमा यान्त्रिकीकरणले उत्पादन लागत करिब ३०–४० प्रतिशतसम्म घटाउन सकिन्छ” ।

भरतपुर–६ देवनगरका किसान प्रकाश श्रेष्ठले यस वर्ष पहिलोपटक चार बिघा खेतमा मेसिनबाट र दुई बिघा परम्परागत रूपमा रोपाइँ गरिरहेका छन् । उनले भने, “मेसिनले रोप्दा ज्याला कम लाग्छ, उत्पादन कति हुन्छ हेर्न बाँकी छ” । श्रेष्ठले सामाजिक सञ्जालमा मेसिन प्रयोग गरेको देखेपछि जानकारी लिएर प्रयोग सुरु गरेको बताए ।

कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा देवनगरस्थित उन्नत बीउविजन केन्द्रमा मेसिन उपलब्ध गराइएपछि किसान यस प्रविधितर्फ आकर्षित भएको पाण्डेले बताए । गत आर्थिक वर्षमा जिल्लाभर करिब ३०० हेक्टरमा मेसिनबाट धान रोपिएको थियो भने यसवर्ष ९८ हेक्टर थपिएको छ ।

पाण्डेका अनुसार, “एक कठ्ठा खेतमा परम्परागत रोपाइँमा करिब दुई किलो बीउ लाग्छ भने मेसिन प्रयोग गर्दा करिब ५०० ग्राम बीउले पुग्छ, ज्याला खर्च घट्छ र उत्पादन बढ्छ” ।

चितवनमा आव २०७७÷७८ देखि चारपाङ्ग्रे मेसिनबाट धान रोपाइँ सुरु भएको थियो । हाल जिल्लामा १३ वटा मेसिन सञ्चालनमा छन् । यस वर्ष मात्र किसानलाई छ वटा मेसिन खरिद गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ ।

चितवनमा वार्षिक रूपमा करिब ९ हजार हेक्टरमा चैते धानखेती हुने गरेको छ । धान प्रवर्द्धन कार्यक्रम लागू भएपछि धान जोन बाहिरका किसान पनि मेसिनबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।