२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

सुकेको रुखमा कालो अक्षरले लेखिएको नेपाल भारत सीमा

सुकेको रुखमा कालो अक्षरले लेखिएको नेपाल भारत सीमा
अ अ+ अ-

पुर्नर्वास (कञ्चनपुर) I साढे चार वर्षअघि कञ्चनपुरको पुर्नर्वास नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रको विवादमा  गोविन्द गौतम शहीद बन्नुभयो । उक्त नगरपालिकाको वडा नं ४ कारगिलडाँडा नजिकै नेपाली भूभागमा कल्भर्ट निर्माणको विषयले उग्ररुप लिँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतमले सीमामै शहादत प्राप्त गर्नुभएको थियो ।

सिङ्गो मुलुकको ध्यान पुर्नर्वासतिर तानियो । स्थानीयस्तरदेखि राष्ट्रिय राजनीतिमा समेत चर्चा पाएको उक्त विषय अहिले सेलाए पनि त्यहाँ नेपाल–भारतबीचको सीमा समस्या उस्तै छ । गौतम शहीद बनेको तीन वर्षपछि सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं हालका आन्तरिक आर्थिक मामिला मन्त्री तारालामा तामाङले  पूर्वाधार विकासको बजेट उपलब्ध गराउनु भएपछि शहीदको शालिकका साथै स्मृति पार्क निमार्ण गरिएको छ ।

स्थानीय आइबिआरडी बजारदेखि घटनास्थल ९कारगिल डाँडा०सम्म सडकको नामकरण आनन्द मार्ग राखिएको छ । नेपाल–भारत मुख्य सीमास्तम्भ नं २०० नहुँदा उक्त क्षेत्रमा सीमा विवाद हुन  पुगेको स्थानीयवासीको भनाइ थियो ।  “दाइ घर निर्माणको तरखरमा हुनुहुन्थ्यो ।” शहीद गोविन्दकी भाइबुहारी राधिका गौतमले रासससित भन्नुभयो, “न त दाइको घर पूरा भयो न दाइ लडेको सीमा विवाद नै सुल्झियो ।”

उहाँले उक्त घटनापछि झण्डै एक वर्ष सो नाकाबाट नेपाली र भारतीयबीच आवागमन नै ठप्प रहेपछि पछिल्लो वर्षमा आवतजावत निर्वाधरुपमा भइरहेको बताउनुभयो । “विगतको भन्दा सीमामा त्यस्तो थिचोमिचो नभएकै कारण हामी पारी भारतीय बसही बजारमा किनमेल गर्न गइरहेका हुन्छौँ”, राधिकाले भन्नुभयो, “सीमा छुट्याउने विषय टुङ्गो नलाग्दा कहिले फेरि विवाद र लफडा हुन्छ भन्ने पिरलो मनमा रहिरहन्छ ।”

उक्त घटना र कोरोनापछि नेपाली पक्षले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति बनाएकाले  त्यहाँको वातावरण शान्त नै रहेको स्थानीयवासीको भनाइ थियो । गाउँको मुख्य चोकमै राष्ट्रिय प्रजातन्त्र पार्टीले शालिक बनाउने भनेको थियो”, गौतमले भन्नुभयो, “पछि सासूससुराको आग्रहमा आफ्नै जग्गामा शहीद पार्क र शालिक बनाइयो ।”

 शहीद गौतमका परिवारले घटनाका बेला अनेक आश्वासन पाए पनि अहिले पनि कहीँकतैबाट वास्ता नभएको दुखेसो गरेका छन् । सहीद गौतमकी श्रीमती लक्ष्मी काठमाडौँ बस्नुहुन्छ । स्थानीयवासी बृद्ध  खड्कबहादुर सुनारले भन्नुभयो, “यो नाकाबाट आवागमनमा कुनै रोकतोक छैन नेपाली र भारतीयले सीमाको क्षेत्र दाबी गर्नेक्रम आआफ्नै किसिमको छ ।”

उहाँले कल्भर्टको करिब ५०० मिटर परसम्म नेपाली भूभाग रहे पनि दशकौँयतादेखि नै भारतीय पक्षले नियन्त्रणमा लिएको जिकिर गर्नुभयो । “नेपाल–भारत सर्भेक्षण टोली आएर सीमा समस्या समाधान गर्ने कुरो भए पनि यहाँ पनि केही सुरसार भएको  छैन”, बृद्ध सुनारले भन्नुभयो, “दुवै पक्षले समाधान गरे त झन्झटै सकिन्थ्यो ।” कारगिल डाँडामा रहेको सशस्त्र प्रहरी बल बिओपी पोष्टका सशस्त्र प्रहरी नायव निरीक्षक टेकबहादुर सिंहले पनि हाल सीमा क्षेत्रमा कुनै समस्या नरहेको बताउनुभयो ।

“यहाँ २०० नम्बर सीमा नहुँदा दशगजा छुट्याउनु पर्ने भएको छ”, उहाँले भन्नुभयो, “दुवै देशबीचको सर्भेक्षण पछि यो विषय टुङ्गो लगाउन आवश्यक छ ।” प्रहरी नायव निरीक्षक सिंहले  हरेक हप्ता वा १० दिनमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त सीमा गस्ती भइरहेको बताउनुभयो ।“संयुक्तरुपमै यहाँका सीमा पिल्लर र सीमा क्षेत्रको शान्तिसुरक्षा र अपराध नियन्त्रणमा हातेमालो भइरहेको छ”, उहाँले  जोड दिनुभयो, “विगतको भन्दा सीमामा अहिले हाम्रो उपस्थिति बढ्दै गएको छ ।”

गुल्लरको रुखलाई सीमास्तम्भ मान्दा।।।

कारगिल डाँडा नजिकै रहेको खोलामा अहिले चार वटा ह्मिपाइप राखिएका छन् । सोही कल्र्भटमाथि विवाद हुँदा सीमा विवाद चुलिएको थियो । सोही कल्भर्ट नजिकै रहेको गुल्लरको रुखलाई भारतीय पक्षले २०० नम्बर सीमास्तम्भ भएको जिकिर गरिरहेको छ ।

“भारतले गुल्लरको रुखलाई सीमास्तम्भ भनी जिकिर गरे पनि अहिले भारतीय पोष्ट रहेको त्यो ठाउँ दशगजा थियो ।” विसं २०२८ देखि सोही क्षेत्रमा बसोबास गर्दै आउनुभएका नेत्रबहादुर शाहीले भन्नुभयो, “भारतले रुखलाई सीमा भन्नु्मा कुनै तुक छैन ।” उहाँले हाल रहेको गुल्लरको रुखबाट पर दुई दशकअघि ढल्ने अवस्थामा रहेको सुकेको रुखमा विगतमा सीमा भएको जिकिर  गरिएको थियो भन्नुभयोे ।

“सुकेको रुखमा कालो अक्षरले सीमा नम्बर लेखिएकोे थियो, पछि काटेर दाउरा चिरेकाले रुख नै रहेन”, शाहीले भन्नुभयो, “त्यही रुख सुनेर अहिले भारतीय पक्षले नेपालतर्फ रहेको गुल्लरको रुखलाई सीमा मानिरहेका छन् ।”    पुर्नर्वास नगरपालिकाको प्याराताल क्षेत्रदेखि पश्चिम बेलौरी हुँदै बेल्डाँडी गाउँपालिकाको सीमा क्षेत्रसम्म भारतसित लामो समयदेखि सीमा विवाद छ । “गुल्लरको रुख वर आफ्नो जमिन जोत्ने क्रममा भारतीय वन विभागले मलाई २०५४ सालमा नियन्त्रणमा लिएका थिए ।” उहाँले भन्नुभयो, “अहिले गोविन्द गौतमको घटनापछि कल्र्भटबाट हिँडडुल नभएपछि छेउछाउबाट किनमेल गर्न भारत आउन जान दिइएकै छ ।”

आफ्नै जग्गामा टेक्न नपाएका निराश करन

 विसं २०५९ सम्म आफ्ने खेत भोगचलन गरिरहेका स्थानीयवासी करनबहादुर सुनारलाई यतिबेला सोही खेतमा जान असहज भइरहेको छ । भारतीय पक्षले सीमा भनेकोे गुल्लरको रुखबाट १०० मिटर दक्षिण–पश्चिम सुनारको १५ कट्ठा खेतीयोग्य जमिन भारतीय पक्षले भोगचलन गर्न दिएकै  छैन ।“सीमा विवाद समाधान गरेर जग्गा तेरो होइन, दशगजामा प¥यो भन्दिए पनि टन्टैसाफ हुने थियो”, उहाँले भन्नुभयो, “हरेक वर्ष तिरो तिर्छु तर जग्गामा खुट्टा राख्न पाइदैन ।” सुनारले भारतीय पक्षले उक्त भूमि आफ्नो क्षेत्रको भन्दै आफूलाई भोगचलनमा रोक लगाएको गुनासो गर्नुभयोे । “अहिले पनि लालपुर्जा मसित छ र बेलौरी नगरपालिकामा तिरो तिर्दैछु”, उहाँले भन्नुभयो,“ जग्गाका लागि धेरै गुहारे तर कहीँ कतैबाट सुनुवाइ नै भएन ।”

सुनारले आफ्नो जमिनसँगै जोडिएको जग्गाधनी मानबहादुर सुनारले भने भोगचलन गरिरहेको बताउनुभयो । “मानबहादुर जीले जग्गा भारतीयलाई बन्धकी दिएका छन् ।” सुनारले भन्नुभयो, “मैले जग्गामा टेक्न नपाएर अरुको मजदुरी गरेर खाद्यान्न जोहो गर्नुपरेको छ ।” मानबहादुरले भने उक्त जग्गाको सट्टा अन्तै जग्गा पाउनुपर्ने माग गर्नुभएको छ  । शहीद गौतमको घटनापछि नेपाल–भारतबीच संयुक्त सर्भेक्षण टोली बनाएर सीमा विवाद समाधान,  सीमास्तम्भ पुनःनिर्माण र व्यवस्थान गर्न टोली गठन भएको थियो । 
कैलाली र कञ्चनपुरसित सीमा जोडिएको क्षेत्रको स्थलगत अनुगमन र सीमाको व्यवस्थापनका लागि गठित संयुक्त सर्भेक्षण टोलीले आफूहरुको क्षेत्रको विवाद तत्काल समाधान गर्नुपर्ने पुर्नर्वासवासीको माग छ ।शेरबहादुर सिंह / रासस