काठमाडौंँ । निर्वाचनको समिक्षा बैठकमा बोल्दै गरेका नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ ।
बिहीबार कास्की जिल्ला कार्यालयको बैठकमा बोल्दाबोल्दै ढलेका थापाको हृदयघातको कारण निधन भएको नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले जानकारी दिए ।
पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचनको समीक्षा बैठक चलिरहेको थियो। बैठकमा १० मिनेट सम्बोधन गर्दै गर्दा इन्चार्ज थापा ढलेको र तुरुन्तै मणिपाल अस्पताल लगेपनि केहीबेरमा चिकित्सकले मृत घोषणा गरेको बरालले बताए ।
थापा २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए । २०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य थिए भने २०७९ मा उनी पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए ।
यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व मेयर कृष्ण थापाको निधनको खबरबाट दुखित भएको बताउनु भएको छ ।
उहाँले सामाजिक संजालमा लेख्नु भएको छ, “उहाँ (थापा) हाम्रो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो। मेरा लागि उहाँ पार्टीको केन्द्रीय सदस्य मात्रै होइन, २०३९ सालदेखिको साथी हुनुहुन्थ्यो। निरंकुश व्यवस्थाको विरूद्ध जेल जीवनको क्रममा मलाई पोखरा कारागार सारिँदाको समयदेखिका मेरा मित्रको निधनले मर्माहत छु। उहाँको निधनबाट हामीले असल कमरेड मात्र गुमाएका छैनौं, यसले पार्टीलाई क्षति पुर्याएको छ। दिवंगत कृष्ण थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”










