४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

एमसीसी सहायता नचाहिए नलिनू: अमेरिका

एमसीसी सहायता नचाहिए नलिनू: अमेरिका
अ+ अ-

काठमाडौं । अमेरिकाले नेपाललाई आवश्यक नभए मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता नलिन सुझाव दिएको छ। एमसीसीका विषयमा सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो। अमेरिकाले यसबारे अनावश्यक बहस नगर्नसमेत चेतावनी दिएको छ। नेपालमा विकास गरी गरिबी कम गर्ने उद्देश्यले आएको पाँचवर्षे परियोजना एमसीसीलाई सरकारले औपचारिक रूपमा स्वीकार गरिसकेको छ। तर सत्तारूढ दलकै केही प्रभावशाली नेताहरूले यसलाई विवादमा तानेपछि अमेरिकी अधिकारी असन्तुष्ट बनेका हुन्।

यही कारण नेपाल र अमेरिकाको सम्बन्ध चिसिन पुगेको अधिकारीहरूको बुझाइ छ। सत्तारूढ दलका कतिपय नेताले नेपाली कानुनभन्दा एमसीसी किन ठूलो भन्ने प्रश्न उठाइरहेका छन्। संसद्बाट पारित गराउने हो भने यसका अधिकांश बुँदा संशोधन गर्नुपर्ने माग उनीहरूको छ। प्रधानमन्त्री केपी ओलीले भने हिउँदे अधिवेशनमा एमसीसी पारित हुने जनाउ अमेरिकालाई दिइसकेका छन्। सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम पक्षधर नेताले एमसीसीलाई आईपीएसको हिस्साका रूपमा लिँदै आएका छन्।

उनीहरू असंलग्न र पञ्चशीलमा आधारित सम्बन्ध अवलम्बन गरेको नेपालले एमसीसीमा सहभागिता जनाउन नहुने पक्षमा छन्। यस्तै नेताहरू भीम रावल र देव गुरुङले पनि एमसीसीको चर्को विरोध गरिरहेका छन्। सत्तारूढ दलका नेताले एमसीसीका विरोधमा उत्रिएको देख्दा अमेरिकी राजदूत र्‍यान्डी बेरी आश्चर्यमा परेको दूतावास स्रोतले बतायो। ‘हाम्रो मनसाय नेपाललाई असजिलो पार्ने छैन। जुन ढंगले बहस भएको छ त्यो असहजझैं देखिन्छ’, एक अमेरिकी अधिकारीले भने। नेपालको विकास होस् र यस क्षेत्रका भूमिका निर्वाह गरोस् भन्ने अमेरिकी चाहना रहेको ती अधिकारीको भनाइ छ।

उनले भने, ‘नेपालले एमसीसी अस्वीकार गरे हामी त्यहीअनुरूप तयार छौं। नेपाल हाम्रो पुरानो मित्र मुलुक हो।’ अमेरिकी अधिकारीहरूले एमसीसीलाई इन्डो प्यासिफिक रणनीति (आईपीएस) सँग नजोड्न पनि आग्रह गरेका छन्। अमेरिकी राजदूतले यसअघि नै भनेका छन्, ‘आईपीएस हाम्रो आफ्नो नीति हो। यसमा अन्य मुलुकको झैं सदस्य बनेर सहकार्य गर्न आवश्यक छैन। अमेरिका छद्म रूपमा नआई खुला रूपमै आएर काम गर्छ।’ परराष्ट्र र अर्थ मन्त्रालयका अधिकारीले विरोधका नाममा विरोध गर्न वा सरकारसँग बार्गेनिङ गर्नका लागि केही बुझेका नेताले समेत एमसीसीबारे आपत्ति जनाइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

‘आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेको भिडियो हेरेर आईपीएसमा हस्ताक्षर गर्यो भनेर कराउने नेता देख्दा दिक्क लागेको छ’, परराष्ट्रका एक अधिकारीले भने, ‘हामी कस्तो कमजोर नेताको कजाइँमा रहेछौं ? अध्ययन र सोचाइ खोइ ?’ पूर्वमन्त्री एवम् कांग्रेस नेता डा. रामशरण महतले पनि अध्ययन गरेका भन्दा पार्टी संगठन पढेर आएका नेताका कारण समस्या देखिएको बताए। उनले बुझेका नेताले पनि सत्ताका लागि बार्गेनिङ गरिरहेको भन्दै यसमा जनता चनाखो हुनुपर्ने बताए। उनले भने, ‘आईपीएस र एमसीसी फरक हुन्। एमसीसी सुरु हुँदा आईपीएसको कुरै थिएन। एमसीसी विशुद्ध आर्थिक समृद्धिका लागि सहयोग सम्बन्धमा केन्द्रित छ।’

एमसीसी अमेरिकाबाट नेपालमा आउन लागेको सबैभन्दा ठूलो दुईपक्षीय सहयोग हो। २०१७ सेप्टेम्बर १४ मा नेपाल र अमेरिकाबीच उक्त सहयोग सम्झौतामा वासिङ्टन डीसीमा हस्ताक्षर भएको हो। सम्झौतामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए। यसमा अमेरिकाको ५६ अर्ब र नेपालको १३ अर्बको लगानी छ। ‘पूर्वप्रधानमन्त्रीहरूले समेत एमसीसीलाई अनेकन् बार्गेनिङको विषय बनाउँदा शक्ति मुलुकसँग सम्बन्ध बिग्रने विषय किन चासोमा रहेन ? छिमेकीले पनि शक्ति मुलुकसँगको सम्बन्ध बिगार्न चाहेको देखिँदैन।

तर हामी बुज्रुक भएर अघि बढेका छौं’, डा. महतले भने। उनका अनुसार एकै पटक पचास अर्बभन्दा बढी सहयोग अनुदान आउनु चानचुने विषय होइन। एमसीसी विश्वव्यापी गरिबी न्यूनीकरण गर्न अल्पविकसित तथा विकासोन्मुख मुलुकलाई दिने सहायताका रूपमा सन् २००४ मा स्थापित सहायता संयन्त्र हो। यो सहायता अमेरिकाको सत्ता र प्रतिपक्ष दुवैले पारित गरेपछि मात्र सम्बन्धित मुलुकमा पुग्नेछ। यसैले सहयोग लिने मुलुकले पनि संसद्बाटै पारित गर्नुपर्ने प्रावधान छ। अमेरिकाले ४४ मुलुकमा यो कार्यक्रमअन्तर्गत सहयोग गरिरहेको छ।

‘नेपालले कम्बोडिया, भेनेजुयला, उत्तर कोरिया वा त्यो स्तरको मुलुकका विषयमा वैचारिक सहकार्य गर्ने र सत्तामा जाने जोडघटाउका लागि विश्व शक्ति मुलुकलाई खेलाँची गरेर चिढ्याउनु राम्रो होइन’, पूर्वराजदूत डा. दिनेश भट्टराईले भने, ‘हामीले कोसँग निहुँ खोजेका छौं त्यो ध्यान दिनुपर्छ।’ छिमेकी चीनले अघि बढाएको बीआरआई रणनीतिमा सदस्य नै बनेर खुला बहस गर्ने अनि एमसीसीको विरोध गर्नुमा राजनीतिक उद्देश्य झल्किएको उनको बुझाइ छ। उनले भने, ‘एमसीसी र बीआरआईका आआफ्नै लक्ष्य होलान्।

तर, हामीले नेपाललाई फाइदा हुने सहयोग लिन चुक्नु हुन्न।’ एमसीसीलाई संसद्को यसै अधिवेशनबाट अनुमोदन गराउने तयारी सरकारले गरेको छ। एमसीसी हिउँदे अधिवेशनमा पारित नभए अमेरिकाले समय नथप्ने भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एमसीसीलाई रोक्न नहुने बताए। उनले भने, ‘प्रसारण लाइन र सडकको स्तरोन्नति आफैंमा अर्थपूर्ण काम हो। यसलाई रोक्न हुँदैन।’ एमसीसीलाई राष्ट्रिय गौरवको परियोजनाअन्तर्गत राखेर अघि बढाउने नीति सरकारको छ।

‘आईपीएस होइन एमसीसी’परराष्ट्रमन्‍त्री प्रदीप ज्ञवालीले एमसीसी राष्ट्रिय हितका पक्षमा रहेको बताएका छन्। राष्ट्रिय सरोकार तथा समन्वयन समितिको बैठकमा बुधबार परराष्ट्रमन्त्री ज्ञवालीले एमसीसीलाई गलत तरिकाले नबुझ्न अनुरोध गरे। ‘यो सम्झौता कोसँग गरिरहेका छौं भन्‍नेतिर नजाऊँ, हामीले कस्तो परिस्थितिमा गरिरहेका छौं भन्नेतिर जाऊँ’, उनले भने, ‘विकासका लागि एमसीसी महत्वपूर्ण छ।’

इन्डोप्यासेफिक नीति (आईपीएस) सँग एमसीसीलाई नहेर्नसमेत उनले अनुरोध गरे। ‘यसलाई इन्डोप्यासिफिकसँग जोड्न हुँदैन, सैन्य गठबन्धनसँग पनि यसको सम्बन्ध छैन’, उनले भने, ‘हामीले अध्ययन गरेर ऊर्जा तथा सडकमा लगानी गर्दा उचित हुने भएपछि एमसीसीको सम्झौता गरिएको हो।’ अन्नपुर्णपोष्ट दैनिकबाट