१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनुमन्ते करिडोरको काम छिटो सक्न निर्देशन



अ+ अ-

काठमाडौं । यहाँको हनुमन्ते खोलामा निर्माण भइरहेको हनुमन्ते करिडोरको सङ्घीय संसद् विकास तथा प्रविधि समितिले स्थलगत अनुगमन गरेको छ । समितिका सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले बुधबार बालकुमारीदेखि जडीबुटी हुँदै राधेराधेसम्मको हनुमन्ते नदी किनारामा निर्माण भइरहेको करिडोरको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।

अनुगमन निरीक्षणमा सभापति खड्काले जडीबुटी–कोटेश्वरको सवारी जामको हल गर्न पनि हनुमन्ते करिडोर निर्माण कार्य छिटो र छरितो ढङ्गले सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउनुभयो । विकास निर्माणका कार्यमा जुनसुकै ठाउँमा पनि समस्या आउनसक्ने भएकाले समस्यालाई वार्ता र छलफलका माध्यमबाट समस्या समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

करिडोरको दायाँबायाँ निर्माण गरिने सडकको चौडाइ जतिसक्दो ठूलो बनाउनुपर्नेमा जोड दिँदै उहाँले एक छिनको समस्याले गर्दा भविष्यलाई नै असर पर्ने गरी काम गर्नु नहुनेमा जोड दिनुभयो । स्थानीय तहले करिडोर निर्माणमा उत्पन्न गरेको समस्यालाई समितिले विशेष पहल गरी समाधानको उपाय निकाल्ने उल्लेख गर्दै उहाँले सार्वजनिक जग्गा व्यक्तिको नाममा लगिएका सम्पूर्ण जग्गा पुनःसार्वजनिक नै बनाउन समितिले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सांसद महेश बस्नेतले करिडोर निर्माणलाई तीव्रता दिइ कोटेश्वर–जडीबुटीको जामलाई न्यूनीकरण गर्न हनुमन्ते तथा मनोहरा नदीको करिडोर सम्पन्न गर्नु अपरिहार्य रहेको बताउनुभयो । सांसद बस्नेतले करिडोर अरनिको राजमार्गको वैकल्पिक मार्गका रुपमा प्रयोगमा आउने बताउँदै करिडोरसँग जोड्न रिङ रोडसमेत तीव्र गतिका साथ निर्माण भइरहेको जानकारी गराउनुभयो ।

मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाले जग्गा एकीकरण आयोजनाका माध्यमबाट समस्या समाधानको बाटोमा अघि बढेको जानकारी गराउँदै करिडोरको दायाँबाँया २०–२० मिटरको सडक भए पनि ११–११ मिटर सडक र बाँकी ९–९ मिटरमा हरियाली बनाउने लक्ष्य रहेको समितिको टोलीलाई सांसद बस्नेतले जानकारी गराउनुभयो ।

अनुगमनमा खानेपानी मन्त्रालयअन्तर्गतको पिआइडीका प्रतिनिधि भोजविक्रम थापाले उपत्यकाको फोहर पानी तथा ढलको प्रशोधन गरी मल तथा बायोग्यास निर्माणको कार्य तीव्र गतिमा भइरहेको बताउनुभयो ।

उहाँले प्रशोधित पानी नदीमा बग्न थालेपछि उपत्यकाको वातावरणमा भएको प्रदूषण न्यूनीकरण हुने दाबी गर्दै ४० करोड लिटर फोहर पानी तथा ढल सङ्कलन गरी मल तथा बायोग्यास निकाल्ने लक्ष्य रहेको जानकारी गराउनुभयो । हाल भने एक हजार ३४० लिटरको फोहर पानी तथा ढल प्रशोधित गर्ने कार्य भइरहेको जानकारी गराउनुभयो ।

वाग्मती आयोजनाका प्रतिनिधि लीलाप्रसाद ढकालले सम्बन्धित निकायसँगको छलफल र सहयोगमा ढललगायतका कार्य गरिरहेको जानकारी गराउनुभयो । उहाँले हनुमन्ते नदीको करिडोर निर्माणमा जनप्रतिनिधिले लिखितरुपमा रोक्न निर्देशन दिएकाले निर्माण कार्यमा कठिनाइ हुँदै आएको टोलीलाई जानकारी गराउनुभयो ।

करिडोर निर्माणको पहिलो चरणको काम सकिएपछि दोस्रो चरणअन्तर्गत रु एक अर्ब ९९ करोडको लागतमा निर्माण कार्य भइरहेको छ । एकतर्फी करिब आठ किलोमिटर तथा दुईतर्फी गरी करिब १६ किलोमिटर करिडोर निर्माण गरिनेछ ।

उक्त करिडोरमा हनुमन्ते नदीको पानी बग्ने भाग २० मिटर तथा दायाँबाँया करिडोर २०–२० मिटर गरी कूल ६० मिटर चौडाको करिडोर निर्माण हुने भएको छ भने सडकको बीच भागमा नौ मिटरको हरियाली निर्माण गरिने छ ।

शहरी विकास मन्त्रालयअन्तर्गत उच्चस्तरीय अधिकार सम्पन्न एकीकृत वाग्मती परियोजना एकाइ समितिद्वारा निर्माण कार्य भइरहेको उक्त करिडोर भक्तपुरका लागि मात्र नभई उपत्यकावासीका लागि नै विकासको महत्वपूर्ण मेरुदण्डका रुपमा रहेको बताइएको छ ।