काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ सरकारको बिआरआइ आयोजनाबाट बढी भन्दा बढी लाभलिने योजनाहरु हामीले बनाउनुपर्छ भन्नुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा डा.महतले भने–बिआरआई विशाल आयोजना हो, यसबाट नेपाल पनि बढीभन्दा बढी लाभान्वित हुनुपर्छ र नेपालको आफ्नो आवश्यकता बमोजिमको मोडालिटी बनाएर लाभ लिने हामीले नै हो ।
पूर्वमन्त्री डा.महतले तर पनि नेपालमा बिआरआइ भनेको रेल र सडक मात्र हो भन्ने बुझाई रहेको बताउँदै यो मानसिकताबाट पर गएर हामीले यस आयोजनामार्फत बढी भन्दा बढी लगानी भित्र्याउनुपर्ने बताए । हाम्रो अहिलेको पहिलो प्राथमिकता भनेको चीनबाट नेपालको कनेन्टिभिटीमा लगानी हो उनले भने । डा महतले भने– हुनत हामीलाई रेल पनि आवश्यक हो तर पनि अहिले नै रेल आयोजना लगानीका हिसाबले त्यति सान्दर्भिक नरहेकोले सडक सञ्जाल नै अहिलेको हाम्रो पहिलो आवश्यकता हो ।
यस्तै राष्ट्रिय आवश्यकताको पहिचान गरी यस आयोजनाअन्तर्गत पर्ने लगानी, व्यापार, कनेक्टिभिटीजस्ता क्षेत्रमा नेपाल सरकारले योजना बनाइ फाइदा लिन सक्नुपर्ने उनले बताए । उनले आफू परराष्ट्रन्त्री भएको बेलामा यस आयोजनामा हस्ताक्षर गरेको स्मरण गर्दै भने– उक्त आयोजनाको ड्राफ्ट चीन सरकारले हामीलाई पठायो, हामीले पनि नेपालको आफ्नो स्वार्थ, राष्ट्रिय आवश्यकता र प्राथमिकताको पहिचान गरेर चीनलाई संशोधन नोट पठायौँ र चीनलाई यस विषयमा ‘कन्भिन्स’ गरेपछि अनि सो आयोजनामा हस्ताक्षर गरिएको उनले बताए ।
यस आयोजनालाई नेपालले लाभ लिन सक्ने बनाउन र हाम्रो आफ्नो आवश्यकताको बारेमा राख्न आफूले उक्त आयोजनाको ड्राफ्टमा निकै मेहनेत गरेर काम गरेको उनले बताए । डा.महतले भने– वर्तमान सरकारले बिआरआइबाट के लाभ लिने भन्ने विषयमा नेपालमो दीर्घकालीन हितमा हुनेगरी चाँडै योजना बनाओस र यसबाट नेपालमा बढी भन्दा बढी लगानी भित्र्याओस् । चीनसँगको नेपाली काँग्रेसको सम्बन्ध राम्रो रहेको उनले बताए । उनले भने– यो कुरा विपी कोइरालाले उतिबेलै बुझ्नुभएको थियो र चीनसँग त्यस समयमै राम्रो सम्बन्ध राख्नुभएको थियो।