काठमाडौं । हाल नेपालमा चर्चामा रहेको मुद्दा अमेरिकी मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) को बारेमा नेपालले गर्ने निर्णय आफैले र स्वतन्त्र रुपमा गरोस् भन्ने चाहना चीनको रहेको चीनले बताएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले आज आयोजित पत्रकार सम्मेलनमा भनिन्– यो नेपालको कुरा हो, उसले कुन देशसँग के सहयोग लिने भन्ने विषय आफैले र स्वतन्त्र रुपमा निर्णय लिनुपर्छ ।
राजदूत यान्कीले नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्छ र नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन’– उनको भनाई थियो ।
राजदूत यान्कीले तर नेपालले कसैको दबाबमा परेर भन्दा आफ्नो हित हेरेर विदेशी समुदायको सहयोग स्वीकार गर्नुपर्ने सुझाव भने दिइन् ।
पत्रकार सम्मेलनमा उनले हालै नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरुको विषयमा पनि स्पष्टिकरण दिएकी छिन् । उनले पर्यटक भिसामा नेपाल आएर गैरपर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको बताइन् । पक्राउ परेका चिनियाँहरु हाल हिरासतमै रहेका छन् ।
राजदूत होउले त्रिदेशीय सहकार्यको विषयमा धारणा राख्दै भनिन्– २ जोड १ को अवधारणा भनेको चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन । सबै देश समान हुन् । यो त्रिदेशीय सहकार्यको अवधारणा हो ।